प्रचण्डविरुद्ध दिल्लीलाई क-कसले लगाए पोल ?

काठमाडौं । न्युयोर्क भ्रमणमा आफूसँगै गएका कर्मचारीतन्त्रका उच्च ओहोदावालहरूले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग भएको कुराकानीको विवरण नयाँ दिल्लीलाई दिएका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको खुलासा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालका कारण माओवादी नेतृत्वको सरकार ढलेको विश्लेषण गरिँदै आएका वेला गत साता आफ्ना कार्यकर्तासँगको अन्तरंग कुराकानीमा प्रचण्डले भने, ‘कटवाल-सटवाल होइन है । हाम्रो सरकार ढाल्नमा भारतको हात छ ।’ केन्द्रीय समितिको बैठकको भाव सम्प्रेषण गर्न साउन २० गते ललितपुरको खन्ना गार्मेन्टमा आयोजना गरिएको नेवाः र ताम्सालिङ राज्यसमितिस्तरीय कार्यकर्ता भेलामा प्रचण्ड आफ्ना कार्यकर्तालाई उपर्युक्त कुरा भन्दै थिए ।

 ‘संयुक्त राष्ट्रसंघको महासभाताका चिनियाँ राष्ट्रपतिसँग मेरो कुराकानी हुँदा मुख्यसचिव, परराष्ट्रसचिव, परराष्ट्रका शिष्टाचार महापाल सबै सँगै थिए । ‘मैले हु जिन्ताओलाई चीन नेपालको असल छिमेकी हो, नेपाललाई आपत पर्दा उसले बचाउँछ भन्ने आशा छ, चीनविरुद्ध हुने कुनै पनि क्रियाकलापविरुद्ध नेपालले पनि ब्यारियर (पर्खाल) का रूपमा काम गर्नेछ भन्या’थें, मेरो कुरा सुनेर हु खुसी भएका थिए,’ साढे तीन घन्टा लामो मन्तव्यका क्रममा प्रचण्डले भने, ‘न्युयोर्कबाट र्फकेर आउँदा ब्यांकक आई बसियो, तर मभन्दा पहिल्यै दिल्ली पुगेर हु जिन्ताओस“गको कुराकानीमा सँगै रहेका ब्युरोक्रेटहरूले भारतीयलाई त्यहाँ भएका सबै कुराकानी सुनाइदिएछन् । त्यही दिनदेखि भारत हाम्रो नेतृत्वमा रहेको सरकार ढाल्ने खेलमा लाग्यो ।’

 त्यसपछि ‘हु जिन्ताओसँग सुटुक्क कुराकानी गर्नुपर्नेरहेछ’ भन्ने भाव सम्प्रेषण हुनेगरी प्रचण्ड थोरै थक्थकाए । ‘म त मनका सबै कुरा भन्ने मान्छे । हु जिन्ताओलाई पनि त्यसैगरी भनें, प्रचण्डले कार्यकर्तालाई भने, ‘ब्युरोक्रेसीको त्यो तहमा पनि भाडाका टट्टुहरू छन् भन्ने कुरा मैले ख्याल गरिनँ, तिनैले नयाँदिल्ली गएर पोल लगाएछन् । र, सरकार ढाल्ने बाटो खोलिदिए । त्यसैले, कमरेडहरू † कटवाल त पात्र मात्र हो । सरकार ढालेको चाहि“ भारतले हो ।’

 माओवादीलाई हेर्ने दृष्टिकोणमा भारतीय संस्थापन पक्षबीच पनि फरक-फरक दृष्टिकोण रहेको जानकारी पनि उनले कार्यकर्तालाई दिए । ‘साउथ ब्लकको एउटा लबी अझै पनि माओवादीलाई ब्यालेन्समा राख्न खोज्दै छ,’ प्रचण्डले भने, ‘ऊसँग अलिकति कूटनीतिक पहल गर्ने हो भने अहिले पनि सरकारमा जानु कुनै ठूलो कुरा हैन ।’

 दक्षिण एसियाली परिप्रेक्ष्यमा हिजोआज भारत आतंकित रहेको प्रचण्डको भनाइ थियो । ‘श्रीलंकामा पहिले आफैंले गु्रम गरेको लिट्टेको शर्मनाक हार भएको छ, श्रीलंकाले चीनसँग हतियार लिएर जाफ्नामा लिट्टेलाई सखाप पार्‍यो, पाकिस्तानमा तालिवानलाई सखाप पार्न पनि चीनको सहयोग छ, बर्मा पनि चीनकै लाइनमा हिँड्छ,’ प्रचण्डले भने, ‘बाँकी एउटा नेपाल पनि चीनकै लाइनमा गएपछि त उसलाई आपत पर्ने भइगयो, त्यसै भएर उसले हाम्रो सरकारलाई ढाल्न लागेको हो ।’

 जनसेनालाई संविधानसभाको चुनावअघि शक्तिखोरमा हँसाउँदै हौसला बढाएकै शैलीमा हँसाइ-हँसाइ प्रशिक्षण दिएका प्रचण्डले कार्यकर्तालाई जोस्याउने काम पनि खुवै गरे । प्रशिक्षणमा उपस्थितहरूलाई उनले ‘असाधारण कार्यकर्ताहरू’ भन्दै सम्बोधन गरेका थिए । ‘अब तपाइँहरू आन्दोलनमा होमिनुहोस्’ उनले भने, ‘खरिपाटी भेलाले बिद्रोहमा जाने निर्णय गरेको हो, तर बिद्रोहको त्यो निर्णय लागू गर्न मैले नै नचाहेको हो, म नै त्यसको अवरोधक हुँ । खरिपाटी भेलाबाट म सीधै बालुवाटार छिरें, बालुवाटारमा बस्नेको नेतृत्वमा कसरी आन्दोलन हुन्छ ?’ यति भनिसकेर उनले फेरि थपे, ‘अबचाहिँ घनीभूत आन्दोलन हुन्छ, आन्दोलनको नेतृत्व पनि म आफै“ले गर्नेछु ।’

 तर, प्रचण्डले बिद्रोह तत्काल नहुने जानकारी पनि दिए । राष्ट्रपतिको कदमविरुद्ध माओवादीले जस्तो आन्दोलनको घोषणा गरेको छ, त्यो बिद्रोहको वातावरण बनाउनका लागि रहेछ । आन्दोलन, व्रि्रोह सबैको खाका कोर्दै प्रचण्डले कार्यकर्तालाई भने, ‘सुरुको एक महिना बिद्रोहको तयारीका लागि आन्दोलनको प्रचार-प्रसार गर्ने हो, त्यसका लागि दशैं-तिहार अवधिभर गाउँ-गाउँमा सांस्कृतिक कार्यक्रम र भेटघाट गरिन्छ, मंसिरपछि चाहिँ देशै ठप्प पार्ने हो । फागुनसम्म पुगेपछि संविधान बन्ने/नबन्ने कुरा थाहा हुन्छ, संविधान नबन्ने कुराको टुंगो लागेपछि चैतदेखि असली आन्दोलन सुरु हुन्छ, आखिर आन्दोलनको खास सिजन पनि त्यही हो, मंसिर-पुसतिर सरकार परिवर्तन भए आन्दोलन नहुन सक्छ, संविधान बनाउनेतिर लाग्नुपर्छ, नत्र आन्दोलनको विकल्प छैन ।’

 माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था आए पनि आफूले सरकारको नेतृत्व भने नगर्ने योजना पनि उनले सुनाए । ‘सरकार बने पनि नेतृत्वचाहिँ म गर्दिनँ, म महाधिवेशनको तयारीमा व्यस्त हुन्छु,’ प्रचण्डको भनाइ थियो, ‘यसको मतलब कहिल्यै सरकारमा जान्नँ भनेको चाहिँ होइन नि !’ प्रचण्डले यसो भनेपछि प्रशिक्षणहलमा हाँसो छायो । हालै सम्पन्न केन्द्रीय बैठक लामो भयो भन्ने कुरा उठेपछि चिनियाँ कम्युनिस्ट पार्टीको एउटा बैठकसँग तुलना गर्दै प्रचण्डले माओवादीको हालैको केन्द्रीय समितिको बैठक त्यति लामो नभएको दाबी गरे । ‘चिनियाँ जनकंग्रेसको आठौं बैठक सन् १९५६ मा सुरु भएर १९५८ मा सकिएको थियो, यति लामो बैठकको इतिहास छ कम्युनिस्टहरूको’ उनले भने, ‘हाम्रो बैठक लम्बिनु कुनै आर्श्चर्यको कुरा होइन ।’

 प्रचण्डले पार्टी देखापरेका विकृति-विसंगतिबारे मात्र बोलेनन्, त्यसमा आफू संलग्न भएको स्वीकार पनि गरेका थिए । ‘पार्टी अनुशासन फितलो हुँदै गयो, त्यसैले यसलाई कडाइपूर्वक नियन्त्रण गर्न किरण कमरेडको नेतृत्वमा समिति बनेको छ,’विकृतिको अरू विवरण पनि दिँदै उनले भने, ‘पार्टी कार्यकर्ताहरू रक्तचन्दन तस्करीमा संलग्न भएको कुरा पनि आएको छ, केन्द्रीय समिति र पोलिटब्युरोको कुरै छाडौं, स्थायी समितिका कुरा पनि तुरुन्तै बाहिर आउन थालेका छन् । हामी सरकारमा हुँदा नातावाद-कृपावाद भयो, प्रचण्डले समेत माफी मागे भन्ने कुरा बाहिर आए, कुरा ठ्याक्कै त्यही त होइन, अनुभवको कमीले गर्दा सबैबाट केही कमी-कमजोरी अवश्य भयो । नियुक्ति गर्दा पद्धतिबाट नगरी परिवारनजिककालाई तान्ने काम मबाट पनि भयो । तर, सरकारप्रमुख र पार्टीको नेतृत्वका नाताले मैले कमजोरीको आत्मालोचना गर्दा उल्टो प्रचार भयो ।’

 प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण) ले पार्टी पार्टी जस्तो नभएर संयुक्त मोर्चा भएको आभाष मिलेको बताएका थिए भने अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले केन्द्रीय समितिको बैठकअघि पार्टी फुट्न दिन नहुने, एकता-संर्घष-रूपान्तरणको बाटोबाट जानुपर्ने र पार्टी फुट्नुभन्दा बरु मोर्चाकै रूपमा भए पनि एकताबद्ध भई जानु उपयुक्त हुने कुरा आफूले राखेको बताएका थिए ।

 (आज २८ साउन २०६६ को जन आस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया