गजल
-नेपोलियन मरहट्टा
कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा
ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा ।
मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा,
धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।
उनी आए पछी सधैं खैलाबैला मच्चिहाल्छ,
प्राय जसो झगडामा पर्छिन् उनी पँधेरीमा ।
म सँग’नी बोली छैनन् अस्ति कल गरे देखी,
मैले हेर्नै हुन्न आँखा तर्छिन् उनी पँधेरीमा ।
जति कल गरे पनि मन्मा माया रैछ कि त,
नत्र किन ? मेरै कुरा गर्छिन् उनी पँधेरीमा ।





