विश्व साईकल यात्रा सकियो अब के गर्ने ?
अस्ति मात्रै पुष्कर शाहलाई मैले झलक्क सम्झेको थिएँ । आज उनैको फोन आयो । उनी सधै जिस्केर बोल्छन् म सित । के छ हाल खबर ? कहिले सर का सर लाउँछन् । कहिले यस्तै केहि बांगोटिंगो कुरो । आज अलि अक्माकाएको त उनले के चिन्नुहुन्थ्यो सरहरुले हामी जस्ता झुम्रे झाम्रेलाई भने । ओ पुष्करजी ओहो हो, चिन्दैन भन्ने सोचेको ? भनें मैले । दुई बोत्तल रक्सी खान आउनुपर्यो तपाईकहाँ रे । अलि पहिले पूर्वी यूरोपतिर उनी हुँदा फ्रान्स आउँछु भन्थे । त्यहि बेला तपाईको नममा दुई बोत्तल एक्दम रम्रो रक्सी किनेको छु भनेको थिएँ । बिर्सेका रहेनछन् । हिजो उनले त्यहि दोहोर्याए । तपाई आउनुहुन्छ भने नाथे रक्सी के हो र यार । जति बोत्तलपनि जान्छ नि आउनुस् न । हौस्याएँ मैले । उनलेपनि “अब रक्सी खान आउने त होनी, यात्रा सकिईहाल्यो त” भने । थपे- विश्वयात्रा सकियो यार अब के गर्ने ?
मलाई न खुशि, न बिस्मात, न हुटहुटी न हर्ष । के भन्ने के अक्मकिएँ म । यहि विश्व भ्रमणका क्रममा प्रत्यक्ष भेट नहुँदै उनी र म चिनिएका थियौं । पेरिसमा आएका बेला आफैसित बसे उनी । निकै विषयमा हामीले कुराकानी गर्थ्यौं । कतिपय यति बिघ्न चाखलाग्दा कुरा गर्थे कि उनी मैले तिनलाई लेख्न अझै भ्याएको छैन । वा भ्याएरपनि लेखिन । जे भएपनि उनले नयाँ नौलो देश पुग्दा सम्झन्थे । भेट्टाउँदा फोनको घण्टीपनि दबाउँथे । कहिले नेपालप्लसलाई माया गरेर लेख लेख्थे । कहिले फोटा पठाउँथे । पारा उहि ठट्टा गर्ने, कहिल्यै म पुष्कर शाह बोलेको नभन्ने । एक पटक मलाई नझुक्क्याई सन्तोषै नमान्ने । ‘ल ल संसार घुमेर मोज लुट्नुस’ म भन्थें । ‘अँ साईकलमा यो ठण्डीमा पिडौला फर्किने गरि साईकल ठेल्दा मोज हुन्छ हो’ उनी जिस्काउँथे ।
आज तिनै पुष्कर शाहको ११ वर्ष लामो विश्व साइकल यात्रा सकिएछ । थोरै अचम्म । अब उनका इमेल र चिठ्ठिपत्र अनि फोन र यात्राक थरीथरीका अनुभव सुन्न नपाइने भो भनेर अलिकति बेमोज। सफल भए भनेर धेरै खुशि । अलिकति अब के गर्लान भन्ने कौतुहलता । यस्तै भयो । ११ वर्ष सम्म लगातार संसारको भूगोल नाथे साईकलका पाङ्ग्राले नाप्दै हिंड्नु चानचुने कुरो होइन । घरबाट निस्कँदा आमाले दिएको एक रुप्पे उपहार। त्यसले के हुने ? उनलाई बन्दुकले छेकेन । चोरहरुको केहि सिप लागेन । थकाईले अत्याएन । रित्तो गोजीले हरेस खुवाएन । जंगलका बाघ भालु र अन्य डरलाग्दा जनावरले लतार्न सकेनन् ।
आखिर साहस न हो । आँट, त्याग, बलिदान, ईच्छा शक्ति र लगनशिलता भए जे पनि संभव हुने रहेछ । बिकट पहाडी गाउँमा हुर्केको अल्लारे ठिटो । साईकल देखेको पनि किशोर भएपछि काठमाडौं शहरको झिलिमिली हेर्न आएका बेला । एक घण्टामा हजारौं किलोमिटर अकाश नाप्ने सयौं बिमान यो ११ वर्षको अवधिमा थाके, खसे, असफल भए । पुष्करले एउटा साइकलबाट जितिदिए संसारको यात्रा ।
नेपाल भन्ने नाम कुन चरोमुसोको हो भन्ने पत्तो नभएका ठाउँमा गएर उनले नेपाल चिनाउँदै हिँडे । हाम्रा हिमाल, हाम्रो संस्क्रिति, नेपाली मन र मस्तिस्क, नेपालीपन र नेपाली भूगोलको बेलिबिस्तार लगाए । नेपाललाई चिनाए । उनी जहाँ जहाँ गए नेपाली साहसको उदाहरण पेश गरे। हरेक ठाउँका युवा युवतीलाई साहसिक काम गर्न हौसला बाँडे । उनले जे बाँडे नेपालीका तर्फबाट बाँडे । सुन्छु, विश्वका एक सय भन्दा बढि प्रसिद्द सञ्चार माध्यममा उनी छाए । पुष्कर छाए तर नेपालीका रुपमा । उनीसँगै नेपाल र नेपालीको नामपनि फैलियो ।
लौ अब भने पुष्करका साईकलले संसार नाप्ने छैनन् । अब नेपालका अनेक कहानी उनी विश्वका मानिसलाई सुनाउँदै हिँड्नेपनि छैनन् । उनले मानव बस्ति नभएको अन्टार्कटिका बाहेक सबै ६ वटै महादेशलाई चक्कर लगाए । बरु महादेशको संख्या एक दर्जन भैदिएको भए जाति हुँदो हो कि ! र तिनको क्षेत्रपनि अझै फैलिदिएको भए !! किनभने पुष्कर अझै संसार घुम्दैरहन्थे, नेपाल र नेपालीको नम फैलाइरहन्थे ।
त्याग, बलिदान, उत्साह र आँटलाई काखि च्यापेर हिँड्ने पुष्कर लौ यात्र सकियो भन्दै के चुप लागेर बस्न सक्थे ? अनि आफुलाई दुखजिलो, हासो र रमाईलो जे छ बाँडेर संसार देखाएका बिभिन्न देशका मानिसहरुको गुनलाईपनि उनले बिर्सिन नसकेरै होला । आफुले पाईला टेकेका सबै मुलुकका झण्डा बोकेर सगरमाथाको चुचुरोमा फहराइदिने योजना बनाएका छन् उनले । अब नेपाल फर्केपछि त्यसैको लागि फेरि अर्को विश्व प्रसिद्द यात्रा शुरु हुनेछ । शंका छैन, उनी सफल हुनेछन् । विश्व जितेको मान्छेलाई सगरमाथाले के हराउन सक्थ्यो । शुभकामना पुष्कर शुभकामना !!
![Picture_246[1] Picture_246[1]](http://www.nepalplus.com/wp-content/Picture_2461.jpg)




