जिन्दगीको गोरेटोमा

(जनयुद्दका बेला माओवादी जनसेना र सरकारी सेनाबिच लडाइँको मैदानमा भेटहुँदाको एक मार्मिक कथा)

-प्रदीप सुबेदी/ कतार

 pradeep-shree-myagdi-doha-qatarआकाशमा कालो बादल पत्र-पत्र परेर फाँटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानी पर्ला जस्तो छ नि । आकाश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार साब बङ्करबाट बाहिर निस्किएर आकाशतिर हेदै मलाई बोलाउँछन ।

 “अँ साब पनि अब यो असार मा पानि नपरे के बर्सेला त ” नजिकै बसेको मेरो ब्याजी रामहरि प्याच्च बोल्यो । अरु दुई चार जना पनि उसको जबाफ ले गलल हँस्न थाले । तर मलाई भने उनिहरुको कुनै कुरा ले आकर्षण गर्न सकेन । आँखा भरि सान्नानी को मुहार झल्झली नाँचिरहेको थियो । अस्ति मात्र सान्नानी ले पत्रमा लेखेकी थिईन – तपाइबिनाको जिबन साह्रै खल्लो लागेको छ । डाँडापाखा पनि शुन्य लाग्छन । आखिर कसको लागि तपाई लडिरहनु भएको छ ? तल्ला घरे काकाले पनि जागिर छाडेर घर आउनु भएको छ । ६ बर्षकि छोरी ले सधै हाम्रो बाबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छे । म उसलाई के जबाफ दिउँ ? उनको पत्र पढ्दा जाबो पुलिसको जागिर चटक्कै छोडेर हिडौ जस्तो लाग्थ्यो । फेरि आँखा भरि घरका अबाभहरु खट्किन्छन् । पानी पर्दा चुहिने घरको धुरि अझै नयाँ जस्ता लगाउन सकेको छैन । दुई चार मुरि धान आउने तलको गैरी खेतपनि बन्धकि राखेको लिलामी नै होला जस्तो छ । आखिर मानिसको लागि सबैभन्दा ठुलो शत्रु भनेकै गरिबि रहेछ । म एकछिन अल्बमका फोटाहरु ओल्टाइ पल्टाई धित नमरुन्जेलसम्म हेरिरहन्छु । कोही साथीहरु तास खेलिरहेकाछन । कोही एकआपसमा छेडछाड गरिरहेका छन । गजबको छ हाम्रो सद्दाम हुसेन को जस्तै बङ्कर भित्रको जिन्दगी । म मनमा अनेक कल्पना गरिरहेको थिएँ । त्यती नै बेला रोलगलको साईरन बज्छ । बंकरभित्रका सबै साथीहरु चौरमा थुप्रिन्छन । म बुटको तना कस्दैथिएँ । छिटो गर् ऐ प्रदीपे ! भन्दै हवलदार साब कराउँछन । रिमरिम साँझको बातबरण चराचुरुङ्गीहरु कराउँछन । त्यसमाथि निकै उचाईमा उभिएको खाराको डाँडा मनमोहक देखिन्छ । असारे हरियाली । नजिकैको मकैबारिमा धानचमार फूलेको । लामो लामो मकै को घोगा देख्दा मलाई मेरो गैरी खेतको साह्रो सम्झना आउँछ ।

 द्घन्द्रकालिन परिस्थिति जतिबेला जे पनि हुनसक्छ । त्यसैले सुरक्षाका केही निर्देशन कम्पनि कमान्डरले हामीलाई जानकारी गराउँछन र हामी आआफनो पालो सूची हेरेर फेरि बङ्करतिर छिर्छौ । केहीबेर पछि स्पेशल टास्क फोर्स अन्तर्गत सर्चमा गएको हाम्रो प्लाटुनको एउटा टोली आईपुग्छ । मैले मेरो अति नै मन मिल्ने साथी सुनिललाई बाहिरतिरको हालखबर सोध्छु । उसले खासै केही फेला नपरेको जानकारी दिन्छ ।  के गर्ने कुकुरको काम पनि छैन फूर्सद पनि छैन भने जस्तै भएको थियो हाम्रो पुलिस को जागिर । दिनहु पत्र – पत्रिका र रेडियोमा मृत्युको खबर बाहेक अन्य समाचार सायद नेपालीको कानमा कमै पर्दथ्यो । यस्तो लाग्थ्यो, कतिबेला कुन गोली आएर यो मिनपचासे पुलिसको जिन्दगी बोकेर लैजाने हो पत्तै हुदैनथ्यो । कहिलेकाही त आफ्नो जिन्दगी देखेर साह्रै उराठ लागेर आउँथ्यो । भात खाने घण्टी लाग्यो सबै थाल बोकेर कुद्न थाले । आज मलाई अघिदेखि नै पेट दुखेको थियो त्यसैले खाना नखाने सोचमा थिएँ । “ऐ ! प्रदीपे खाना खाँदैनस” हवल्दारसाब प्लेट बोकेर हिड्दै थिए । “सर आज अल्लि सन्चो छैन” मैले यति मात्रै भन्दैथिएँ । उनले फेरि भने “अहिले जंगलमा गएर भ्याकुर खालास अनि ठिक होला” । मैले खासै जबाफ दिनु उचित मानिन र खिस्स हाँसिदिएँ । उनि मेसतिर लागे । मेरो ब्याजी बिक्रमले दुईवटा प्लेटमा खाना लिएर आयो । “ला खा प्रदीपे । अब खाना खाएपछि हाम्रो टोली तल धुले खोलाको जंगलतिर गएर आउँने रे !” मुखमा भातको गाँस हाल्दै बोल्यो । “हैन मेरो त ६ बजे यही सेन्ट्रीगार्ड थियो त” मैले आफ्नो अनभिज्ञता जाहेर गरे ।”छोड्दे यार ! यहाँ भन्दा त बाहिरै मजा आउँछ” उसले प्लेटको भात आधी जस्तो सिध्याईसकेको थियो । मैले पनि रुचेजति खाएँ, अनि सबै जना बुटसुट कस्न थाले ।

 ऐ ! केटा हो, राम्रोसँग हतियार चेक गर है फेरि जंगलमा गएर नपड्केला नी ! हाम्रा कमान्डर कराउँदै थिए । सबै रेडी भएपछि थ्रि नट थ्रि बोकेर हिड्यौ जंगलतिर । हामी जंगलमा पुगेको केही बेरमा नै पानी दर्किन थाल्यो । झयाईकिरी झ्याउँकिरी झ्याइँझ्याइँ कराइरहेका थिए । साँच्चिकै उराठलाग्दो थियो हाम्रो यात्रा त्यहाँ । नुन को सोझो गर्नुपर्ने बाध्यता थियो हामी पुलिसहरुमा । र राष्ट्रियताको नाममा आफ्नै दाजुभाईहरुसँग लडिरहेका थियौ । एकाएक कमान्डरको सेटमा हाम्रो टोलीलाई फिर्ता बोलाईयो चौकीबाट । हामीहरु फर्किन थाल्यौ । पानीको कारणले शरिर लुछुप्पै भिजेको थियो । अझ म त थरथर काँपेको थिएँ । तर के गर्नु जागिर त जागिर नै हो आखिर । हाम्रो टोली चौकीको नजिकै पुग्न के आँटेको थियो एक्कासी गोली पड्कियो चारैतिर । हाम्रो सिंगो पुलिस चौकी नै दुश्मनको घेरामा परिसकेको रहेछ । असिना परेझै गोलीहरु बर्सिन थाले । कमान्डरले चौकीमा सम्पर्क गर्दै थिए । तर एकैछिनमा सम्पर्क बिच्छेद भयो । “आत्मसमर्पण गर्नेभए गर नत्र चौकी ध्वस्त बनाईदिन्छौ” भन्दै माओबादीहरु धम्की दिईरहेका थिए । उता चौकीबाट पनि हाम्रा साथीहरु “हिम्मत छ भने आईज अगाडी” भन्दै गोली बर्साइरहेका थिए । रात चक्मन्ना थियो । पानी झन झयाम झयाम परिरहेको थियो । लाग्थ्यो मृत्युको शंखघोष गर्दै काल हाम्रो वरिपरी घुमिरहेको छ । हामी बिचमा थियौ । माओबादीहरु थुप्रै संख्यामा थिए । उनिहरुले बम फ्याँकेकोले आगोका थुप्रै समेत निस्केको थियो । केही बेर त हामीहरु नतमस्तक भयौ । के गर्ने के नगर्ने । दिमागमा कुनै जुक्ति आएको थिएन ।

 हामी बिस्तारै पोजिसनमा पाईला चौकीतिर बढायौ । कमान्डरले हिम्मत लिएर काम गर भन्दै इशारा गरेका थिए । केही अगाडी पुगेपछी हाम्रो जम्काभेट भयो । माओवादीको एउटा समूहसँग हाबाको झोकमा असिना झै गोली बर्सिन थाले । हाम्रा दुई जना साथीहरु पानी पनि भन्न नपाई त्यही ढले । थाह भएन उनिहरु कतिजना पल्टिए । म पोजिसनमा फायरिङ गरिरहेको थिएँ । अचानक एउटा गोली मेरो दाहिने पाखुरामा आएर ठोक्कियो । र्राईफल भूइँमा खस्यो । हातबाट रगतको धारा बग्न लाग्यो । फनफनी चक्कर लागेजस्तो भयो । साथीहरु तितर बितर भए । खल्ती बाट रुमाल निकालेर पाखुरामा बाधेँ । रगत बगिरहेको थियो । राईफल अनि गोली बोकेको झोला सबै त्यही फ्याँकिदीए । अनि ओरालो झरे बिस्तारै । मनमा बाँच्ने आशा एकदम कम थियो । एकपल्ट सम्झिएँ घर-परिवारलाई । प्राणप्यारी सान्ननीलाई । अनि बाबुको यादमा तड्पिएकी मेरी प्यारी छोरीलाई ।

 चकमन्न अँध्यारो रात । त्यसमाथि जंगल । पानि झन दर्किरहेको थियो । म लड्दै पल्टिदै निकै तल आईपुगे । एकातिर प्यास लागिरहेको थियो अर्कोतिर पाखुराबाट रगत बगिरहेको थियो त टाउँको मा रिङ्गटा लागिरहेको थियो । गोली निकै नै पड्किरहेको सुनिन्थ्यो । म त्यहाँ भन्दा अगाडी हिड्न सकिन र एउटा ढुङ्गा मुनी गएर लुकी बसे । पानि पर्न केही कम भएपनि जाडोले मुटु थरथर काँपिरहेको थियो भने आँखाभरि साथीहरुको तस्बीर नाँचिरहेको थियो । गज्याङ्ग गुजुङ्ग मानिसहरु बोलेको आवाज आयो । म शंसकित भए कतै ,,,। यसो चियाएर हेरेको आगोको राँको बालेर केही हुल दौडिरहेका थिए । कसैले डोको पनि बोकेका थिए । मैले अड्कल गरे -माओबादीहरु घाईते तथा मृत ब्यक्तीहरु सुरक्षित स्थानतिर ओसारपोसार गरिरहेका थिए । मैले त्यहाँ बस्नु आफूलाई सुरक्षित ठानिन । खल्तीबाट घडी निकालेर हेरे । रातको १२ बजिरहेको थियो । हातको दुखाई चक्रिरहेको अबस्थामा खुट्टाहरु कपाँउदै हिडे म त्यहाँ बाट । छामछुम गर्दै म अगाडी बढिरहेको थिए । आफैलाई थाह थिएन म कता जाँदैछु । मनमा साह्रै पश्चाताप लागिरहेको थियो साथीहरुलाई छोडेकोमा ।

 म आफुलाई सम्हालदै अगाडी बढिरहेको थिए एक्कासी मेरो कानमा ऐआ ! ऐआ गरेको स्वर ठोक्कियो म तर्सिएँ”लौ फेरी भेट हुने भो यिनीहरुसंग” साँच्चै आज मलाई कालले पिछा गरेको नै रहेछ, मनमा यस्तै भान भयो । म एउटा रुखमुनी लुकेर चियाउन थाले । अँध्यारोमा खासै कोही कसैलाई देख्न सकिन । तर आवाज भने अझै आईरहेको थियो । ऐआ ! मरे पानी ! आमा पानी !  स्वर पूर्ण त महिला को थियो । मलाई डर लाग्न थाल्यो । भूत पिचासका कुराहरु पनि खेल्न थाले मस्तिष्कमा । स्वर अझै तिखारीएर आयो मरे ! पानी ! पानी ! मैले आफूलाई सम्हाल्न सकिन । आखिर एउटा सिपाही न हुँ र सिपाहीको मनमा पनि त मायाको जरा फिँजिएको हुन्छ । “आ मर्न नै लेखेको रहेछ त मरुँला” मनमा यतिनै सोचेर म त्यो आवजलाई पछ्छाएँ । म त्यो आवाज आएको नजिकै पुगें । अँध्यारो चौपट्टै थियो । एउटा चल बस्तु छट्पर्टाईरहेको थियो । मैले अड्कल गरें, उनि एउटी माओवादीकी घाइते योद्धा जसलाई उनका साथिहरुले  नै छोडिदिएछन ।

 म उनी पल्टीरहेको ठाउँमा गएँ । उनको घुँडा र देब्रे कोखमा गोली लागेको रहेछ । उनी मलाई देखेपछि बेस्सरी समातेर पानी भनिन । उनको कम्मरमा झुण्डिरहेको तुमलेट खोलेर हेरें । अलिकति पानी रहेछ । दिएँ । मैले आफ्नो भिजेको गञ्जी निकालेर उनको घाउ बाँधीदीएँ । उनीलाई थाह थिएन म एउटा सिपाही भन्ने । उनी बरबराउँदै थिईन । मैले केही बुझिन । सायद उनी आफ्नो मोर्चाका पार्सवर्ड बोलिरहेकी थिईन । म त्यहाँ बस्नु अझ खतरा हुनसक्थ्यो भने, छोडेर जाउँ त उनी बाँच्नु न मर्नु को दोसाँधमा छट्पर्टाईरहेकी थिईन । एक त पाखुरामा गोली लागेको म असक्त थिएँ । झन उनको हालत देख्दा म भित्रको मानवता अझ असक्त बन्न पुग्यो । त्यतीबेला मेरा आँखाहरुले उनलाई दुश्मन देख्न सकेनन ।

 सकी नसकी उनलाई बोकेर म हिडेँ । उनको मनमा बाँच्ने आशा पलाएछकी क्या हो ऐया,,,उँइया गर्न छोडेकी थिईन । गन्तब्यबिहिन भएर यसरी हिड्नुको कुनै अर्थ थिएन । अर्कोतिर घाइते ज्यान । आरामको आबस्यकता थियो । मैले अँध्यारोमै भएपनि सानो ओढार भेट्टाएँ । उनको घाउबाट रगत बग्न छोडेको थियो भने शरिरमा हल्का ज्वरो आएको थियो । हामी दुबै पानीमा भिजेका थियौं र शरिरमा कम्ब्याट बाहेक अरु कपडा हामीसँग थिएन । एकातिर जाडोले शरिर काँपेको थियो भने अर्कोतिर पेटमा भोक मडारिन थालेको थियो । उनी त राम्रोसँग होशमा नै आएकी थिईनन् । ओढारमा आएपछि झन उनी निदाईन मेरो काखमा । मेरो दिमागमा अनेक कुराहरु खेल्न थाले । केही मान्छेहरु बोलेको आवाज मेरो कानमा ठोक्कियो । सायद उनका साथीहरु उनलाई खोजिरहेका थिए । यसो घडि हेरेको बिहानको ४ः११ बजेको थियो । टोलाउँदा टोलाउँदै म पनि निदाएछु उनीसँगै ।

 ब्युँझिदा उनी थिईनन त्यहाँ । आकाशमा कता कता हेलिकप्टर कराएको आवाज आएको थियो । कुहिरो डम्म लागेको । कतै केही देखिदैनथ्यो । मलाई डर लाग्यो कहाँ गईन त उनी ?  त्यहाँबाट हिडने सुर लिएर उठेको मात्र थिएँ । उनी टुप्लुक्क आइपुगिन तुम्लेटमा पानी लिएर । एकचोटी झस्किएँ म आफै । “मेरो ज्यान बचाईदीएकोमा धेरै धेरै धन्यबाद” म जिन्दगी ! उनी मुसुक्क हाँस्दै बोलीन । म हाँसिदीए मात्र मनभित्र त “तिमीहरुले भए ज्यान लिने थियौ” भन्न मन लागेको थियो । तर सकिन । “हेर ! जिन्दगी जे भएपनि बास्तबिकता धेरै अप्ठेरो छ । हाम्रो सामु अर्कोतिर हामी दुबै घाईते पनि छौ । र तिम्रो समूहले भेटेमा मलाई खतरा छ भने हाम्रो प्रशासनले भेटेमा हामी दुबैलाई” । तुमलेटबाट पानी पिएँ मैले । ” हेलिकप्टरले गोली छोड्दै हिँडिरहेको छ । फेरी यो जंगलमा अर्को उपाए पनि त छैन हामीसँग के गर्ने त ?” उनी मेरो नजिकै बस्दै बोलिन । यस्तो लाग्थ्योकि उनी आफ्नै समूहको कुनै हितैषीसँग कुरा गरिरहेकी छिन । यता मलाइ निकै अप्ठ्यारो लागीरहेको थियो । केही बेर हामी दुबै चुप लाग्छौ । “यसो गरौं, जिन्दगी ! म मेरो बाटो लाग्छु । तिमी तिम्रो यात्रा गर । सम्झिदेउ समयले बगाएको भेल उर्लियो बगरमा” । म यति भन्दै उठ्छु । उनी जुरुक्क उठेर मलाइ अंगालो हालेर रुन्छिन । ” सुनेको थिएँ सिपाहीको मन साह्रै क्रुद्ध हुन्छ रे । साँच्चिकै रहेछ । ठिकै छ यदी जानु नै हुन्छ भने मलाइ यही मारिदिनुहोश” । यति भन्दै उनले आफ्नो पकेटबाट बिनेट निकाल्दै झन रुन थालिन । म के गरौ के नगरौ दोधारे परिस्थितिमा परे ।

 केही बेर मौन भयो वातावरण । आखिर जे भएपनि छोड्नु त थियो त्यो ठाउँ । त्यसपछि हामी दुबै निस्कियौ त्यहाँबाट । भोक पहाड अग्लिएझै चुलिदै थियो । पेटमा भने घाउको पिडा पनि उस्तै थियो । बनमा उनले खै ! के के झार (जडीबुटी भन्थीन) थिचेर घाउँमा दिईन । दुखाई केही कम भएपनि हिर्डाई र भोकको पिडा लेखीसाध्य छैन । आकाशमा चिल झै घुमीरहेको हेलिकप्टरका आखाँहरु छल्दै दिनैभर हिडेपनि जंगल छिचोल्न सकिरहेका थिएनौ हामीले । मैले खल्तीबाट चेन नभएको घडी निकालेर हेरे ! दिउँसोको ३ः१८ बजिरहेको थियो । अघिदेखी नै आकाशमा देखिएको कालो बादलले पानीका थोपा ओकेल्न थाल्यो । हामी फेरी जंगलकै एउटा ओढारमा शरण लिन पुग्यौं । थकाई निकै नै बढेको थियो । मैले पानीअमला उखेलेर जम्मा पारे भने जिन्दगीले शफा गर्न थालिन । “भोली त त्यहाँ पुग्नु पर्छ है प्रदीप जी !” रुखका छेडबाट देखिने निकै परका फाट्टफुट्ट घरहरु औंलाले इशारा गर्दै बोलीन उनी ।

 “हेरौ ! हेर्दा त निकै टाढा देखिन्छ फेरी यो वर्षा रोकिने हो की हैन । हिँड्दा हिँड्दै त्यो भन्दा नजिकका गाउँ पनि त भेटिन सक्छन जिन्दगी” । म पानीअमलाको गेडा चपाउँदै हाँस्छु । उनी पनि खिस्स हाँस्छीन । यस्तो लाग्छ की उनमा चिन्ताको कुनै एउटा छिटा पनि परेको छैन । यता मेरो आँखामा त्यो लर्डाईको मैदान । अनि मेरा साथीहरुको मुहारले पोलिरहेको थियो । हामीले पानीअमला चपाएर भोक घटाउने प्रयास गर्र्छौ केहीछिन । पानी पर्न केही कम भएकोले हामी निस्किन्छौ त्यहाँबाट । युद्घ मैदानबाट भागेको सिपाही म आफैलाई हिनताबोध लाग्छ । उनी भने निकै उत्साहित छिन । सायद एउटा जिबन बाँच्न पाएकोले होला । ओरालो निकै हिड्यौ हामी । थकाइको त कुरै छोडौ ।

 हिँड्दा हिँड्दा जंगलको नजिकै एउटा गोठ भेटियो । मनमा साहश बढेर आयो । साँझ झमक्कै परेको थियो । हामी त्यो गोठनेर पुग्दा भित्र ६०-७० बर्ष जतिका एक बुढा मान्छे आगो तापिरहेका थिए । उनी झस्किए हामीलाइ देखेर । “यहाँबाट गाउँ कति टाढा छ होला बाजे ? म उनीतिर नहेरी सोध्दछु । “२ , ३ घण्टा जति तल झर्नु पर्छ” उनी अगेनामा दाउरा थपिरहेका थिए । हामी साह्रै थाकेका थियौ । त्यसैले बाजेसँग नै बास मागेर बस्ने निर्णय ग-यौ । बाजेले हामीलाई मकैको पिठो खुवाएर साह्रै गुण लगाए । अहिले पनि मेरो आँखामा ती बाजेको तस्बिर नाचिरहन्छ । बढ्दो रातको पहरसँगै जिन्दगीलाई ज्वरोले समात्यो । सायद घाउको असरले होला । मैले निधारमा पानी पट्टी लगाएपनि बिसको उन्नाइस भएन । ज्वरोको क्रम बढेर गइरहेको थियो । मलाई साह्रै चिन्ता लाग्न थाल्यो । नियतीले कालको मुखबाट फुत्किएर हिडेकी बिचरीलाई फेरि सताउन थाल्यो । “प्रदीप जि ” म अब बाँच्दिन । मेरो मृत्युको खबर घरसम्म पुर्याइदिनुहोला है ! यो जुनीमा त यस्तै भयो अर्को जुनीमा चाही पक्कै भेटौला भन्दै उनी रुन थालिन । मन साह्रै अमिलिएर आयो मेरो पनि । मेरो मनमा नजानिदो तरिकाले उनी प्रतीको  माया बढिरहेको थियो । मैले उनलाई केही नहुने आश्वासन दिएँ । उता ती बाजेले पनि अनेक जडीबुटी खुवाए तर जिन्दगीलाई छुँदै छोएन । हामी रातभर निदाउन पाएनौ । जिन्दगीलाई बाजेको जिम्मामा छोडेर म झिस्मिसेमा निस्किएँ गाउँमा पुगेर औषधी लिनको लागि । गाउँमा पुगेर आउँदा बाजे गोठको छेउमा बसेर टोलाईरहेका थिए । मेरो भने मन डराउन थाल्यो कतै जिन्दगीलाई ….। बाजे मलाई देखेर रुन थाले । म आर्श्चर्यमा परे के भयो बाजे जिन्दगीलाई……..! बाबु उनलाई लगेर गए माओबादीहरुले । १० – १२ जना जति थिए । बाजेलाई समेत नरमाइलो लागेछ ।

 “ठिकै छ उनैका साथिहरुले लगेर गएछन” मनमा त सारै नरमाईलो लागेको थियो । म त्यहाँ बस्नुपर्ने कुनै औचित्य पनि भएन । मनमनै जिन्दगीको स्वास्थ्यको कामना गरे । अनि बाजेसंग बिदा भएर लागे आफ्नै गन्तब्यतिर । भोक प्यास बोक्दै मान्छेहरुका आँखा छल्दै अनेकौ बाटोहरु पछ्याउँदै म घर पुगे । बाबु आमाको मलिनो अनुहारमा थोरै कान्ति पलाएपनि मेरी सान्नानी निकै खुशी थिईन । मैले पुलिसको जागिर छोडिदिएको भने मेरा आँखाभरि घरका अभाबहरु झन नाँच्न थालिरहेका थिए । खाना खाएपछि म सान्नानीलाई खाराको घटना सुनाईरहेको थिएँ । त्यतीनै बेला घरमुन्तिर केही कोलाहल सुनियो । सान्ननीले झ्यालबाट चियाएर हेर्न थालीन । “यो घरमा त पुलिस आएको छ रे ! सिध्याइदिउँ” यो आवज मेरो कानमा पनि ठोक्कियो । उता सान्ननी डरले काँप्न थालिन म दोधारमा परे । बाबु भन्दै आमा मेरो कोठामा छिर्नु भयो । उहाँको आँखाभरि ममता छचल्कीरहेको थियो । म त्यहाँबाट भाग्नु पर्ने भयो । मेरो ज्यानको भन्दा पनि परिवारको माया लाई बचाइदिनु ठुलो दावित्व सम्झिएँ । अनि चुपचाप निस्किएँ आफ्नै अभागी खप्पर लाई दोष दिँदै । यो भगाइ अन्त त देशै छाडेर हिड्नु पर्ने अबस्थामा पुग्यो । अनि त साउदी अरबको घाम खाए दुई बर्षसम्म । यो अबधीमा मैले सर्म्पर्क गर्न निकै कोशीश गरे जिन्दगी सँग तर सफल भईन । घरपरिवारको माया त छँदैथियो । त्यसमाथि मरुभुमिको चर्को घाम मैले भोगेका पीडाहरु लेखिसाध्य पनि छैन । जसोतसो २ बर्ष बिताएर घर फर्किए । द्धन्द्धको असर त नेपाली अनुहारमा स्पस्ट कोरिएका त छँदै थिए । त्यसैले पनि डरका परकास्टबाट कुनैपनि समाज अछुतो थिएन । अझै छैन पनि । म पनि डर्राईरहेको थिएँ । कतै फेरी केही हुने हो की !

 एकदिन मेरा आँखा एउटा पत्रिकामा परे । जसमा राज्य तथा माओबादी पक्षबाट बेपत्ता पारिएकाहरुको नाम र्सार्बजनिक गरिएको थियो । म त झस्किएँ एँ किनकी माओबादी पक्षबाट बेपत्ता पारिएकामा मेरो नाम थियो त जिन्दगीको चाही राज्यपक्षबाट । यसबाट मलाई थाह भयो कि सत्यता निकै लुकेको छ एँ बास्तबममा अनुमानकै आधारमा डलर पचाउनेहरुबाट निरह गरिब जनताको राहत हुने कुरो त केबल दिउँसै सपना देख्नु मात्रै त रहेछ हाम्रो नेपालमा । किनकी भाषण त सबैले जानेकै छन । राज्यलाई आफ्नै बिर्ता ठान्नेहरु कुर्चीमा बसेर ढुकुटीको चापी कहिले दाहिने हातले त कहिले देब्रे हातले खोल्न मै ब्यस्त छन भने अब यिनीहरुबाट हामी के आशा गरौ ? यस बिषम परिस्थितिमा गम्भिर हुनु पर्ने माओबादी सत्तामा आयो । गुलेली खेलाएर गयो । प्रचण्डलाई युरोप, अमेरिका पुग्ने समय मिल्यो । सिधासाधा जनताले नबुझ्ने भाषण छाट्नमै ब्यस्त । तर कुनै दिन यी मुद्दाहरु उठाएनन् । हुनसक्छ जनता कमजोर हुनु भनेको नै यिनीहरुको सत्ता बलियो हुनु हो । आज कयौ आमाहरु अझै आफ्ना छोराछोरी फर्किन्छनकी भनी छातीमा तस्बीर टाँसेर बाटो हेरीरहेका छन । कयौ नारीहरु पछ्यौरीले आँशु पुछ्र्दै आफ्नो खसमको श्वास नत लाशको खबर सुन्न ब्याकुल छन । कल्पना गर्नुहोस त स साना छोरा छोरीले आमा ! हाम्रो बाबा कहिले आउने भनि सोध्दा कस्तो हुन्छ होला ती नारीहरुको मन ।

 १२ बर्षो द्धन्द्धको प्रभाबले सामजिक संरचना अस्तब्यस्त बनिरहेकोले एकले अर्कोलाई बिश्वाश गर्ने बातबरण गुमिरहेको छ दिनदिनै । अझै पनि कयौ ढोकाहरु खुल्न सकिरहेका छैनन भने म जस्ता धेरै युबाहरु बिदेशिरहेका छन । कोही त्यहीपनि गुमेको जागिर पाईन्छ कि भनेर सडकमा हात थापिरहेका छन । तर के गर्ने कसले सुनिदिने यि रोदनहरु । निकै प्रयास गरे मैले जिन्दगीको बारेमा केही जानकारी पाउन । तर केही पनि थाह भएन । के साँच्चिकै जिन्दगी बेपत्ता परिएकी नै हुन त ? मनमा यिनै कुराहरु केलाउदा केलाउँदै आज ९/१० बर्ष बितेर गए । अझै कति बित्नेहुन पनि । मेरो जिबनको गोरेटोमा लेखिएका यि कथाहरु मर्माहत बनेर मेरो क्यानभासमा पोखिरहेका छन हरेक क्षणहरु । पिडा भन्ने कुरो जति लुकाउन खोज्यो उति बढ्दो रहेछ मर्माहत जति पोख्न खोज्यो उति भरिँदो रहेछ । यस्तै पिडाहरु मै बाँचिरहेको छु एउटा जिन्दगी म । सायद म जस्तै जिन्दगी बाँचरहेका धेरै जिन्दगीहरु छन हाम्रो नेपालमा । आँखामा नाचिरहन्छीन आजभोली जिन्दगी । सायद चाहेर पनि भुल्न सक्दिन मैले उनलाई । आज उनी जहाँ भएपनि या त उनी मृत भएपनि मेरो सम्झना उनलाई यसै लेख मार्फत ।

 (प्रदीप ज्यामरुककोट -६, म्याग्दीका हुन् । हाल उनी डियुटेस्ट, कतार मा कार्यरत छन्)

तपाइँको प्रतिक्रिया