स्यान्डविच र पिज्जा

-नेपोलियन मरहट्टा

 nepolian-marahatta-chitwan11

बिदेशको ठुलो ठुलो तारे होटेलहरुमा

 तिमीले जति सुकै

 सेमिनार,गोष्ठी र अन्तर्क्रियाहरु गरेपनि

 स्वतन्त्रता, हक, हित

 र महिला जगरणको कुराहरु उठाएपनि

 जाजरकोटलाई कहिल्यै हेरेन

 तिम्रो कार्यक्रमले । 

 न त रुकुम रोल्पा नै छोयो

 तिम्रो गोष्ठीहरुले ।

 अँह,कहिँ कतै,कुनै गरीबको

 एक छाक पेट भरेन

 तिम्रो तारे होटेलको सेमिनारले ।

 शहरबाट हिंडेर बिकट गाउँ र

 बस्तिहरुमा कहिल्यै नपुग्ने

 तिम्रो हरेक कार्यक्रमहरुलाई

 प्यारालाइसिस भएको छ ।

 तिमी त मात्र एउटा बैशाखी हौ,

 तिम्रो आफ्नै कार्यक्रमको ।

 तिमी सिँगारिएर

 जतिसुकै टल्किएर हिंडे पनि

 तिमीलाई कालो र मैलो देख्छु म,

 धोएर कहिल्यै नजाने ।          

 छ्या…………

 मलाई त घिन लाग्छ

 गरीब,असाहय,दीन दु:खी

 टुहुरा र बिधवाहरुको बहना पारेर

 तारे होटेलमा बसी दाँत उद्याएर

 स्यान्डविच र पिज्जामा

 दाँत गाड्नेहरु देखी ।

 हरेक पटकको पिज्जामा

 तिम्रो दाँत गडाई सँगै

 शुरु हुन्छ

 बस्तीहरुमा दुखीहरुको रुवाइ ।

 छ्या………

 मलाई त लाज लाग्छ

 तिमीले स्यान्डविच र पिज्जा

 कोपरेको देख्दा ।

 कत्ति पनि नसुहाएको,

 बाँदरले मकै कोपरेको जस्तै ।

 बाँदरले मकै कोपरेको जस्तै ।

 [email protected]

तपाइँको प्रतिक्रिया