जाजरकोटवासी दुखिका कुरा सुन्न समयपनि छैन प्रधानमन्त्रीसँग ?
(अपडेट-यो ब्लग लेखिसकेपछि अस्ति प्रधानमन्त्री माधवकुमार नेपाल जाजरकोट गए हेलिकोप्टरमा । त्यहाँ उनले झाडापखाला प्रभावित क्षेत्र घुमे। दुखिका कुरा सुने। सरकारी निकायलाई उक्त क्षेत्रमा छिटो र छरितो काम गर्न निर्देशनपनि दिए।)
जाजरकोटवासी मैला धैला लाउँछन् । कल्कलाउँदो उमेरै गाला चाउरी पर्नेहरुको बाहुल्यता छ । बोत्तलको मिनरल वाटर तिनको घरमा छिर्दैन । खोला र कुवाको पानी घरसम्म पुर्याउनै धौ धौ पर्छ । फाटेका लुगाले शरिर धान्छन् । एक छाक टार्ने मेसो नभएर बिदेशी अनुदानको अन्नमा बाँच्ने निकै छन् । चुनावमा यिनको भोट तान्न धेरै मेहनत गर्नु पर्दैन । किनकि यि तिकडम जान्दैनन् । गाउँमा केहि कार्यकर्ता चलाईदिएकै भरमा तिनको भोट सोहोर्न सकिन्छ । ति आफु सोझा छन् । ईमान्दार छन् र नेताले बोलेका चिल्ला कुरा पनि ईमान्दारिपूर्वक भनेकै होला भनेर बुझ्छ्न । तिनका केटाकेटी महँगा बोर्डिङ होइन एकाबिहानै डाँडा पाखाका गाइभैसी डुलाउन पुग्छन् । बल्ल बल्ल स्कूल देख्नेकोपनि अक्षर नचिन्दै बिश्राम लाग्छ । गाउँमा नजिक अस्पत्ताल छैन । यातायातको साधन पुगेको ठाउँ उति छैन । डोकोको यातायातमा भर पर्दा धेरैको ज्यान जान्छ । केहि स्वास्थ्य केन्द्रमा लगेको निशुल्क औषधीपनि स्वास्थ्य कार्यकर्ताले बाहिर बेचेर महल ठड्याउँछन् ति जाजरकोटवासी रित्तै । तिनले आफ्नो माग पुरा गराउन कर्मचारीले झै सिंहदरबार रोक्दैनन् । तराईवासीले झै सडक थुन्दैनन् । थुनेका छैनन् । अनि यस्ता दुखियाको पक्षमा को लाग्छ ? बिदेशीका जोडबलमा पद पाएका प्रधानमन्त्रीसँग त झन दुख पाएका नेपालीको कुरा सुन्ने फूर्सदपनि रहेनछ ।
अहिले सिंगै जाजरकोट जिल्ला आतंकित छ । रुवाबासी छ । स्वास्थ्य चौकी भरिभराउ भएको छ झाडा पखालाले । सामान्य औषधी नपाएर ज्यान गैरहेको छ दिनदिनै । पानी उमालेर खानु पर्छ भन्ने नजान्दा नै कत्तिको वालवालिकाको ज्यान गैरहेको छ । आठ दश रुपियाँको औषधी भए पुग्छ लाखौं खर्च गर्नु पर्दैन । तर त्यहि पनि तिनले पाएका छैनन् । उता जनमत बिना प्रधानमन्त्री बन्न पाएका माधवकुमार नेपालसँग भने ति दुखिसँग भेट्ने समयपनि रहेनछ । आज जाजरकोट जिल्लालाई स्वास्थ संकट क्षेत्र घोषणा गर्नु पर्यो भन्दै पुगेको टोलीलाअी उनले फर्काईदिए। जाजरकोटको प्रतिधित्व गर्ने काठमाडौंवासी संकटग्रस्त क्षेत्रको भ्रमण गरेर हाम्रा दुख हेरिदेउ प्रभु भन्न गएका थिए । तर प्रधानमन्त्रीले अहिले मसित समय छैन, समय भएको बेला भ्रमणमा आउँला भन्दै पठाएछन् ।
जनता प्रति उत्तरदायी सरकारको प्रमुख दायित्व के हो ? जनताको न्याय, सुरक्षा र स्वास्थ्यको सुनिश्चित गर्ने । बेलैमा स्वास्थ्य टोली, चिकित्सक, लत्ता कपडा पठाउनु । जनतालाई भयमुक्त राख्नु । हाम्रोपनि हो यो सरकार । हाम्रालागिपनि केहि गर्छ भनेर आशा र भरोसा जगाउनु त कता हो कता । हेर्नुस् त, हाम्रा प्रधानमन्त्रीलाई काठमाडौंमा हारेको चुनाव क्षेत्रमा गएर फूलमाला थाप्न समय छ । उता अर्को हारेकै ग्रिह जिल्ल्ला वारामा गएर स्वागत लिन फूर्सद छ । बिदेश घुम्न केहिले रोकेको छैन । काठमाडौंमा सामान्य कार्यक्रममा रिबन काट्नपनि भ्याएकै छन् ।आफ्नो स्वागत गर्न बोलाउनेको त टोल टोलमै पुग्न उनलाई समयको अभाव भएको छैन । तर झाडा पखालाग्रस्त जाजरकोट जिल्ला पुग्न भने समय छैन ।
जाबो उमालेर पानी खानु पर्छ । स्वस्थ रहनु पर्छ । सफा सुग्घर रहनुपर्छ भनेर सिकाउनसम्म नसक्ने । नुन, चिनी र पानी नाथे पुर्याउन नसक्ने । सिंगै जिल्ला झाडा पखालाले गांजेर दिनदिनै मान्छे मर्दा तिनको दुख हेर्न जानसम्म नसक्ने यस्तो पनि सरकार हुन्छ ? यस्था नाथे प्रधानमन्त्री ? ठुलो कुराको आशा के गर्ने जनताले यस्तो सरकारबाट ? जनताप्रति कुनै माया, जिम्मेवारी नभएका यस्ता प्रधानमन्त्रीबाट ?




