कता हराए गाउँभरिका हजुरबा हजुर आमा ?

Paul-Greisilier-Alsace-nepal-23123[1]उनीसित भेट्न मैले निकै कोसिस गर्नुपर्यो । पोल ग्रेस्ले बस्थे पेरिसबाट सायद छ सय किलोमिटर पनि टाढा आल्जास क्षेत्रमा । गफगाफकै लागि जानपनि निकै खर्चिलो । दुबै जनाको फूर्सद पनि मिल्नुपर्‍यो । उनको नामपनि निकै पहिले सुनेको हुँ नेपालप्रेमीका रुपमा । नेपालमा सहयोग लैजाने थोरै फ्रान्सेली समूह मध्ये उनको संस्था उचाईमा पर्ने रहेछ । गोरखाको बिकट गाउँमा थुप्रै वालवालिकालाई पढाएका । बिद्दालय बनाएका । काठमाडौंमा अनाथालयलाई सहयोग गरेका । ‘लौ न पेरिस आउने काम त कसो नपर्ल तपाईको एक न एक दिन। यता आउने काम पर्दा मेसो मिलाउनुपर्‍यो’ मैले प्रस्ताब राखें । अनि झण्डै एक वर्षसम्म उनी पेरिस आएरपनि मलाई सम्पर्क नगरि जालान् कि भनेर तारन्तार ईमेल र हाते पत्र लेखेरै सम्झाएँ, झक्झकाइरहें। अन्तत: मेसो मिलाए उनैले । एएफपी समाचार एजेन्सीको कार्यालय नजिक भेट्ने सल्लाह भयो एकाबिहानै । कहाँ जाने गाफगाफ गर्न ? लौ रेष्टुरेन्टमा गएर गफ गरौं भनियो । कफी चुस्काउँदै भलाकुसारीमा बिते केहि मिनेट । उनको संस्था आल्जास नेपाल जसले नेपालमा धेरै सहयोग गरिरहेको छ शिक्षा क्षेत्रमा त्यसको परिचय र गतिबिधि बताए । अब चाहिँ खसोखास गफ शुरु हुने भयो ।

 शिक्षित मानिस भनेर मात्रै नहुने रहेछ । क्यामराले उनको अनुहार ताक्न थाल्यो । रेकर्डर उनको बोली कैद गर्न तेर्सियो । अनि त वरिपरिका फ्रान्सेलीहरु पल्याक र पुलुक मार्लाक र मुर्लुक घाटी बटार्ने आँखा चम्काउने गरेर हेर्न थाले । कोहि कोहिलाई त अर्कै ग्रहको मानिस ओर्लिएछ झैं पो लाग्ने रहेछ कि ! मलाई केहि भएन बानी परिसकेको । उनलाई अलि असहज लागेछ । तरपनि त्यहिँ काम फत्ते गर्नुको बिकल्प थिएन । हाम्रा कुरा सुनेर वरिपरिका केहि बेला बेला घाँटी तन्काउँदै सुन्थे । कोहि मुस्कुराउँथे ।

 ट्यार्ल्याक्कै दुई घण्टा गफ गरिएछ । निकै विषयमा घतलाग्दा कुरा सुनाए उनले। गफ गर्दै जाँदा नेपाल र फ्रान्सको के के कुरा राम्रा के के कुरा नराम्रा भन्ने प्रसंग पनि निस्कियो । उनले नेपालका मन नपर्ने कुरा पनि हाकै बताए । राम्रा कुराको कन्जुस्याइँ नगरि मुक्त कण्ठले सुनाए ।  नेपालमा आफ्नो परिवार प्रतिको सामूहिक भावनाको आसाध्यै प्रशंसक रहेछन् उनी । मनपर्ने कुरा मध्ये बुढाबुढीलाई आदर गरेर राख्ने, आफ्ना बाबु आमा, हजुरबुवा हजुर आमालाई बुढेसकालमा आफैंले स्याहार्ने, माया गरेर आफुसितै राख्ने पक्षको उनले ज्यादै प्रशंसा गरे । यहाँको फ्रान्सीले समाजमा झैं एकलकाटे भएर नेपालका बुढाबुढीले दिन काट्नु पर्दैन । किनभने फ्रान्सेलीहरु आफ्ना बुढा बुढी भएका आमा बाबुलाई आफुसित नराखेर अस्पत्ताल र ब्रिद्दाश्रम लगेर राख्छन् ।

 हुनपनि कति सम्म अचम्म हुने रहेछ भने सिंगै गाउँभरि बुढाबुढीनै नदेखिने । त्यहि उनको आल्जास क्षेत्रमा एक पटक एक जना भारतीय घुम्न आउँदा छक्कै परेछन् । सिंगो गाउँमा बुढाबुढीनै देखिँदैनन् । मान्छे कोहिपनि कहिल्यै बुढै नहुने त संभवै छैन । एउटा पिढी हुर्किँदै जान्छ त अर्को बुढो हुँदै । तर किन छैनन् र बुढाबुढी गाउँमा ? घरमा बाबु आमा छोरा छोरी छन् तर हजुरबा हजुर आमा भने छैनन् । अनि उनले त्यो देख्दा आश्चर्य लागेर फिल्मनै बनाएछन् । शिर्षक रहेछ-कहाँ हराए हजुरबा हजुर आमा भन्ने ।

 यहाँको पश्मिमेली समाजमा हजुरबा हजुर आमालाई कसरि हेला गरिन्छ । कस्ता निरस दिन काट्छन् बुढाबुढीले । कति कठिन हुन्छ त्यसरि दिन काट्नु । आफ्नो परिवारसित बस्ने चाहना कति हुन्छ आफ्नै आँगनमा नाती नातीना दगुर्दै र पल्टिँदै गरेको हेरेर बस्न । तरपनि तिनलाई कसरि एकलकाँटे बनाइन्छ । यस्तो संस्क्रितिलाई भित्र्याउनुहुन्न । हजुरबा हजुर आमाको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने हिसाबले त्यो फिल्म बनाइएको रहेछ । तर पोल ग्रेस्ले आफुले चाहिँ आफ्ना हजुर बा हजुर आमालाई आफैंसित राखेर पालेका रहेछन् । (बाँकि प्रसंग आउँदै गर्छन् पछिल्ला ब्लगमा-नेपालप्लस)

तपाइँको प्रतिक्रिया