रेटिएका खुशीहरु
–लक्ष्मी सापकोटा, बेलायत
खुशी वाड्ने मनहरु दु:खसागर डुबेपछि
रमाएका रहरहरु आँधीसंगै उडेपछि
हाँसो फूल्ने ओठहरु बन्द ढोका भएपछि
नयनका परेलीले मोती बर्षा गरेपछि
बाँच्न पनि गार्हो हुन्छ मनै दुखी भएपछि
हाँस्न त झन के पो हाँस्नु खुशी सबै रेटिएपछि ।।
कहाँ टाउको लुकाउनु छानै उडाइ लगेपछि
ठेगाना पो कहाँको दिऊ घर न घाट को भएपछि
के को कमाइ गर्नु हजुर वालुवाले पुरेपछि
शितलता कहाँ खोजौ मनमै आगो लागेपछि
बाँच्न पनि गार्हो हुन्छ मनै दुखी भएपछि
हाँस्न त झन के पो हाँस्नु खुशी सबै रेटिएपछि ।।
पढ्ने गुन्ने कुरै छोडौ पेट भोको भएपछि
के को समाज सेवा गर्नु आँफै पिँधमा थिचिएपछि
आदर्श त परै भाग्छ वास्तविकता रोएपछि
भोली भनी कती बाँच्नु आजकै दिन मरेपछि
बाँच्न पनि गार्हो हुन्छ मनै दुखी भएपछि
हाँस्न त झन के पो हाँस्नु खुशी सबै रेटिएपछि ।।
चित्कारहरु रोकिएनन् धैर्यबाँध फुटेपछि
मनका आँखा खोलिएनन् अत्याचारले घेरेपछि
बिश्वाशका आधारहरु धागो बनी चुडिएपछि
माया बस्ने हृदयमा विश्वासघात गढेपछि
बाँच्न पनि गार्हो हुन्छ मनै दुखी भएपछि
हाँस्न त झन के पो हाँस्नु खुशी सबै रेटिएपछि ।।




