सुदुर पश्चिममा लतारेरै बिहे

गीता घिमिरे, सुदुर पश्चिम

 आफु गैह्र सरकारी संस्थामा काम गर्ने मान्छे परें । संस्थागत बाध्यता आफ्नै ठाउँमा छन् । संस्थाको अनुमती बेगर केहि कुरा बाहिर लैजान पाइँदैन। भोलि कसको सत्ता हुने हो । कसले कसलाई के आरोप लगाउने हो कुनै पत्तो छैन । आफु जसको सत्ता आएपनि त्यहि कार्य क्षेत्र बनएर बस्नुपर्ने । संस्थाले सूदूर पश्चिमका केहि जिल्लामा खटाउँछ । जहाँ खटायो त्यसैलाई कार्य क्षेत्र बनाउनुपर्‍यो । संस्थागतरुपमा कुनै पार्टी, संस्था, नेता र समूहसितको निकटता वा दूरी पनि देखाउन भएन । त्यसैले धेरै कुरा चाहेर पनि बाहिर ल्याउन नसकिने रहेछ । आफु स्थानिय स्तरमा हेर्दा, हिँड्दा, काममा खटिँदा यति धेरै पीडाहरु भेटिन्छन् स्थानिय मानिसका तिनलाई बाहिर ल्याउन नसक्दापनि मेरो मन पोल्ने गर्छ ।

 यस्तै मन पोल्ने घटना मैले आँखै सामुन्ने देखें अछामको एक गाबिसमा । यो घमाइलो दिन थियो । वास्तबमा टन्टलापुर घाम चर्केको । घामको कुनै पर्वाह नगरि डाँडापाखा चहार्दै म म लगायत संस्थाकै केहि साथीहरु थियौं आफ्नै काममा हिँडिरहेका । गर्मीले होला चराको चाइँचुइँपनि थिएन, सब वास बसेका हुँदाहुन् । वरिपरि गाई वस्तु पाखामा चरिरहेका थिए । यत्तिकैमा एक हुल केटाहरु देखिए । हाल्य हुल्य गर्दै, चिच्याउँदै हिँडिरहेका थिए । एउटी मात्रै किशोरी तिनको नजिक । स्थानिय भाषामा केटाहरु ठट्टापनि गर्दै थिए । जिस्किँदै थिए । र थिए उल्लिँदै पनि ।

 हेर्दा हेर्दै चार जना केटाहरुले त्यो एक्ली किशोरीको हात पाखुरामा समातेर आफुतिर तानिरहेका पो  देखें। केटी मानिरहेकि छैन । केटाहरु जबर्जस्ति तानिरहेका छन् । पहिलात हामीलाई जिस्किएका होलान जस्तो लाग्यो । हेर्दा हेर्दै त्यो तानातान र ठट्टा  त युद्दमा पो परिवर्तन भयो । केटी ‘नाई, नाई, म जान्न, मलाई छोड’ भन्दै फुत्किन खोजिरहेकि छ । केटाहरु ‘होइन म आज जसरि’नि लान्छु’ भन्दै जबर्जस्ति तानिरहेका छन् । एक्ली उ डराएकि छे । किशोरी एक्ली भएपनि त्यति कमजोर त रहिनछ । उ पनि कहिलेकाहिँ त लतार्दै थिई तिनको हातबाट फुत्किन । केहि बेर चल्यो त्यो तानातान । त्यो धकालाधकाल हेरिरहें । यतिबेला केटी लैजाने मुख्य केटोले पहिला हात समात्ने रहेछ । त्यसपछि उसका साथीहरुले हात तानेर उसलाई साथ दिने रहेछन् ।

हेर्दापनि उसको गम्म परेको शरिर । पुक्क परेका गाला । हट्टाकट्टा । शरिर लम्बी, तगडी । देख्दै खाईलाग्दी थिई उ । उसले माथि थुम्कोबाट सबै केटाहरुलाई तल धेकेलेर गुर्रिँदै तल आइपुगि बिचरा । लामो सास तानेकि थिई । ईज्जतको डरले उ कुथुर भएकि रहिछे । उ पहिले माओवादी कार्यकर्ता रहिछे । युद्दका बेला लडाइपनि लडेकि । गोली खाएकि । गोडामा त्यसको खत रहेछ । केटाहरुसितबाट जोगिन खोज्दा खोज्दै उसका हातका चुरा फुटे । हात अलि छिया छिया परेछन् । रगत बगिरहेको देखिन्थ्यो । तिनका हात बाट फुत्किन उ कहिले हात चलाउँछे त कहिले गोडा । हामीलाई देखेपछि उसले केहि निश्चिन्तताको सास फेरेकि थिई । उसले ‘हेर आज मेरो यिनले मेरो बेईज्जत गर्ने भए’ भन्दै थिई ।

यसरी हात तानेर विवाह गर्ने चलन सुदुर पश्चिमका धेरै पहाडी जिल्लामा थियो भन्ने सुनेकी थिए । तर आफ्नै नांगा आँखाले देख्दा अचम्म मात्रै लागेन अलि खल्लोपनि लाग्यो । प्राय जसो महिला धारा, जंगल वा घट्ट जाने समय पारेर केटा मान्छेले हात तान्ने गर्छन् । त्यसो त, कहिलेकाहिँ केटी र केटाले एक अर्कालाई मन पराएपछि पनि भेटेको बेला यसरि हात तान्ने गर्छन् ।

एउटा कुरा प्राय जसो पहाडी ठाउँमा के मुस्किल हुन्छ भने महिलाहरुमा को विवाहित हो र को होइन । किनभने महिलाहरु विवाहित अविवाहित सबैले चुरा पोते र टिको लगाउँछन् । यो ठाउँमा केटीहरुलाई केटा मन पर्नु पर्दैन । केटीले केटालाइ आफ्नो भविष्यको जोडीका रुपमा  रुचाउनु पर्दैन । मनमा साँच्नु पर्दैन । बास, केटाले मन परायो, पुग्यो । केटाहरुले तानेर लैजान सके केटीहरुलाई भने विवाह हुन्छ । ‘हात लाग्यो कि बात लाग्यो’ भन्ने त सुन्नु नै भएको होला ।

यो अविकसित मात्रै छैन । पछाडी परेकोपनि छ । शिक्षामा । चेतनामा । विकासमा । भन्नलाई त यो मदिरा क्षेत्र भनिन्छ । अनि यो ठाउँतिर असाध्यै धेरै समूह समूहबिच लडाई पर्छ । एउटा गाउँ र अर्को गाउँबिच वा एक र अर्को वडाबिच । र त्यो लडाई कहिले महिलाकै निहुँमा त कहिले गोरु बाच्छाका लागि । त्यो समूह समूहबिचको लडाई र झैझगडा पनि बुढाबुढाबिच हुने गर्छ किशोर किशोरीबिचबिच भन्दापनि । अर्थात २५ देखि ४५ वर्षे उमेरकाबिच । मैले त्यस्तो झगडामा कुटेर कसैको टाउको फुटेको त कसैको आँखा फुटेको समेत देखें । शहरीया क्षेत्रमा यस्तो सुन्दा त त्यस्तो खासै केहि लाग्दैनथ्यो । यहाँ त अति धेरै पो हुने रहेछ । ओहो संझँदापनि कस्तो जिरिङ्ग हुन्छ अहिले ।

तपाइँको प्रतिक्रिया