भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्व राजा भागे देश छोडेर

 नेपालप्लस सम्वाददाता, वार्सिलोना स्पेन,

भ्रष्टाचारको आरोपमा चारैतिरबाट आलोचना खेपिरहेका ८२ वर्षिय पूर्व राजा हुवाँ कार्लोस देश छोडेर बेपत्ता भएकाछन् । सन् ००८मा मक्कादेखि मदिनासम्म जाने रेल निर्माणको क्रममा साउदी अरबका तत्कालीन राजा अब्दुल बिन अब्दुल अजिजसँग एक सय मिलियन डलर घूस लिएको आरोप उनलाई लागेको थियो ।

कालो धनको लागि चर्चित पनामाको लुसुम फाउण्डेशन मार्फत् स्विजरल्याण्डको जेनेभा स्थित मिराबाण्ड बैँकमा उनले सो रकम जम्मा गरेका थिए । चालीस वर्ष राजाको रुपमा राजकाज चलाएका कार्लोसले ०१४मा स्वेच्छाले राजपाट छोरालाई सुम्पिएपछि स्पेनिश अधिकारीहरुले स्विस सरकारसँग राजाको सम्पत्तिको बारेमा जानकारी मागी खोजतलास शुरु गरेका थिए ।

खोजतलासको क्रममा जेनेभाकै अर्को बैँकमा उनकी डेनिश प्रेमिका कोरिन्ना लार्सनको नाममा आफ्नो खाताबाट ६५ मिलियन डलर जम्मा गरेको देखियो । गएको आइतबार डोमिनिक रिपब्लिकन जाने आशँका गरिएका पूर्व राजा पोर्चुगलको समुद्री तट स्टोरिलको भव्य दरबारमा बसेको अनुमान गरियो । स्टोरिलमा उनले युवा अवस्थामा धेरै वर्ष बिताएका थिए ।

स्पेनमा तानाशाही शासन चलेको बेला यिनी पोर्चुगलको यही स्थानमा बसेका थिए । पूर्व राजा आउन चाहे आफूहरु खुला ह्दयले स्वागत गर्ने कुरा पोर्चुगिज सरकारले बताएको थियो । तर शुक्रवार बेलुकी राजा निकट मानिने स्पेनको सँचार माध्यम एबिसी मिडिया हाउसले पूर्व राजा स्पेनको भिगो हुँदै निजी जहाजमा सँयुक्त अरब इमिरेट्स गएको कुरा बताएको छ । यस अघि बोत्स्वानामा हात्तीको शिकार गरेको अभियोगमा ठूलो आलोचना खेपेका पूर्व राजा हुवाँ कार्लोस विभिन्न विवादमा पर्दै आएकाछन् ।

निर्वासित राजाका सन्तानका रुपमा इटालीमा जन्मेका हुवाँ कार्लोस मुलुकमा गणतन्त्रको क्रान्तिका कारण धेरै समय निर्वासित जीवन बिताएका राजा हुन् । मुलुकमा राजतन्त्र पुनर्वहाली भएपछि देशलाई लोकतान्त्रिक बाटोमा लैजानमा यिनको ठूलो योगदान भएको कुरा पनि स्पेनिशहरुले भुल्दैनन् ।

पछिल्ला समय मुलुकमा आर्थिक सँकट भइरहेका बेला दरबार भ्रष्टाचारमा निर्लिप्त भएका खबरहरु एकाएक बाहिर निस्कन थालेपछि यिनको आलोचना भइरहेकोथियो । स्विस सरकारले पनि पूर्व राजाका विरुद्ध स्पेनिश सरकारसँग मिलेर अनुसन्धान गर्ने र भ्रष्टाचारमा सामेल भएको पाइएमा उचत सहयोग गर्ने वचन दिएपनि कसरी सहयोग हुनेछ भन्ने बारे केही खुलाएको छैन ।

स्विस बैँकहरुमा यसरी विवादास्पद रकमहरु कालान्तरमा सम्बन्धित व्यक्तिको मृत्यु पश्चात कसैलाई नदिएर स्विस सरकारले नै जफत गरेका उदाहरणहरु पनि छन् । स्पेनिश सरकारले जसरी पनि राजाले भ्रष्टाचार गरेर थुपारेको धनसम्पत्ति देशमा ल्याउने र नागरिक भैसकेका पूर्व राजालाई न्यायको कठघरामा ल्याउने बताएपनि यो प्रकृया भने उति सजिलो छैन ।

प्रथमत ः स्पेनको कानून अनुसार बहालवाला राजालाई यसरी मुद्रा अपचलनको मुद्दा लगाउन नमिल्ने गरी कानूनको व्याख्या गरिएको छ । दोहोरो अर्थ लाग्न मिल्ने खालको भाषामा राजालाई कानूनको समेत अभिभावक बनाइएको छ । स्पेनमा कानूनका विषयका विज्ञहरुले भैहालेको खण्डमा राजाको पदभार छोडेपछिका भ्रष्टाचारमा मात्रै छानविन हुनसक्ने बताएका छन् । तर एकथरीको विश्लेषणछ, राजाबाट जनतासमान भैसकेका व्यक्तिलाई शुरुदेखि नै छानविन गर्न कानूनले रोक्दैन । यसरी कानूनी विवाद चलिरहेका बेला राजा भने युएइको महँगो होटलमा आरामले बसिरहेका छन् भनी अखबारले लेखेको छ ।

तपाइँको प्रतिक्रिया