स्थलगत रिपोर्ट : माडीवासी जनता र झाडीवासी सेनाबिचको द्धन्द कहिलेसम्म ?

-रवि रोषी / चितवन (रिपोर्ट र फोटो दुबै)

माडी नगरपालिकाको दक्षिणी अन्तिम पुछारको १० घर धुरी चेपाङ वडा नं ९ अन्तर्गत कुसुमटारमा बसोवास गर्दै आईरहेका छन् । २०४७ सालदेखि चितवन लगायत मकवानपुर, धादिङका सीमान्तकृत चेपाङ जाति लगायत अन्य गरी १६० घरधुरी रहेपनि हाल कुसुमटारमा बसोवास गर्ने संख्या हाल ११ छ । तिनै चेपाङ जातीहरुको रोजगार समेत उपलब्ध हुने स्थायी बसोवासको बन्दोबस्त गर्न माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल लगायत पत्रकार तथा स्थानीयवासीहरु संगको अन्तर्क्रिया गरियो । त्यसपछि कुसुमटारको स्थलगत अवलोकन गरि उनीहरुको स्थिती बुझ्न केहि पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरुको समूह बनाइयो । दुई घन्टाको पैदल मार्ग यात्रा गर्दै त्यहाँ पुग्न सफल भएका थियौं ।

           (स्थलगत रिपोर्टिङमा रवि रोषी माडीमा, दाहिनेतिर दुई पिडितहरुका साथ)

उनीहरुले भोगचलन गर्दै आएको मध्यवर्ती क्षेत्र अन्तर्गतको भूमि पुस्तौंसम्म भोगचलन गर्न र विक्री गर्न पाउने कुरो त भएन । तर उनीहरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्नु नगरपालिकाको दायित्व थियो । यसलाई मनन गर्दै नगरप्रमुख ढकालले संस्थागत रुपमा धेरै पहलकदमी गर्नुभयो । तर बाधक जहिले पनि निकुञ्ज प्रशाशन नै बन्ने गरेकोले माडी नगरपालिका वडा नं ९ को स्कुलडाँडाको पूर्वी साँधमा रहेको खुल्ला मैदान नै उपयुक्त ठहर गरी तत्काल भवन निर्माण गर्ने कार्य भयो । जस्तापाता लगाउन मात्र बाँकी रहेको अवस्थामा निकुञ्ज प्रशासनले जस्तापाता लगाउन नपाउने आदेश दियो । अन्य थप संरचनापनि निर्माण गर्न नपाउने उर्दी जारी गरेपछि सिंगो नगरवासी तथा दानदाताहरु निराश हुन पुगेका छन् ।

                              (फोटो – विवस पोख्रेल)

आफ्नो नगरमा बसोवास गर्दै आएका अति विपन्न नगरवासीको नाना र छानाको व्यवस्था गरिदिनु नगरपालिकाको दायित्व हो भन्ने सोच बनाएका नगरप्रमुख तथा विभिन्न निकायहरु मिलेर ५१ वटा घर निर्माण कार्य धमाधम सुरु गरियो । केहि घरमा टिनको छाउन मात्र बाँकी थियो । यि सबै कुराहरु निकुञ्ज प्रशासनलाई जानकारी हुँदाहुँदै पनि माडी नगरपालिकाकै बगई पोष्टमा रहेका सहायक वार्डेन भोजराज पन्तको नेत्रित्वमा १८ जना जति नेपाली सेनाको जत्था गत साउन ३ गते करीब १ बजे ७ वटा हात्ती लिएर कुसुमटार स्थित चेपाङ बस्तीमा पुगे ।

साउने महिनाको त्यो दिन कोहि वियाड गरोमा कोदोको बिउ काढ्ने काममा मस्त थिए । कोहि आफ्नै रीत, परम्परा र आफ्नै लोकशैलीको पुरातन लोकभाका सुसेल्दै मकैबारीको चप्परी फर्काएर कोदो रोप्नमा मस्त थिए ।

एकाएक सेनाहरुको लावालस्कर सात वटा हात्तीमा आयो । कुसुमटारवासीहरुलाई धम्क्याउँदै तुरुन्त बस्ती र गाउँ छोड्न आदेश दिए । दुई वटा घरमा आगजनी गरी क्षणभरमा खरानी बनाईदिए । आगो लगाइएका घरका घरमूली काजीमान चेपाङ र दीप बहादुर चेपाङ सो घटनाले बोली फुट्न पनि नसकेको हामीसित भेट्नासाथ बताए । आफ्नै आँखा अगाडि दनदनी बलिरहेको घरको रापले भन्दा सोही दिनबाट वर्षिएको साउने झरिबाट ओत लागेर रात काट्न कहाँ आश्रय लिन जाने भन्ने चिन्ताको रापले नै उनीहरु डढेर खग्रास भईसकेका थिए ।

उता बाँकी रहेका अन्य चेपाङहरु सलाईको बट्टा जत्रो घरमा बसेका थिए । ति घर र कटेरो पनि हात्तीको वल प्रयोग गरेर क्षणभरमै नेपाली सेनाले ध्वस्त बनाईदिए । त्यसपछि ति चेपाङका आँसुका भल झनै फुटे । कोदो रोप्दारोप्दैका पिडित महिलाहरुको हात ठप्प रोकिएर रुनु बाहेक अन्य विकल्प बचेको थिएन । सानासाना लालावाला भएका आमाहरुको बावुनानीहरु सेनाको क्रुद्ध आँखा, कर्कश स्वर सहितको धम्की र आमाको रोदन नियाल्दै सबै एक लहरमा बसेर कोकोहोलो हालेर रोइरहेका थिए ।

                        (फोटो – विवस पोख्रेल)

नगरपालिकाले बस्नको लागि २८ वटा घर निर्माण कार्य सम्पन्नको अवस्थामा पुगिसकेको थियो । कोदो वाली थन्क्याउने वित्तिकै कुसुमटारवासीले कहिल्यै पनि कुसुमटार नफर्कने कसम खाएर फर्किने योजना बनाएका थिए। तरपनि घरमा आगजनी गरी ७ दिन भित्र कुसुमटारका सम्पुर्ण घर खाली गरिदिनुपर्ने उर्दीले उनीहरुको मन कत्ति थिरमा थिएन ।

केहि पिडितहरु भन्दै थिए ‘हामी पनि नेपाली, अनि सरकारको सिन्दुर पहिरिएको वर्दी र बुट लाउने पनि नेपाली ।’ कुसमटारबाट जम्मा दुई घन्टा दुरीमा रहेको भारत नेपाल सीमाको दशगजा उखेलेर सयौं विगाहा हडप्ने भारतीय एसएसबी शक्तिसंग लड्ने शक्ति क्षीण भएका ति नेपाली सेनाले आफ्नै मातृभूमिको जमीन राज्यले कुनै दीर्घकालिन व्यवस्था नगरिउन्जेल भूमिहीन गरीव सुकुम्बासीले खोस्रेर खानु के निकुञ्ज प्रशाशन अनि नेपाली सेनाको नजरमा अक्षम्य अपराध हो र ? एउटा नेपालीले अर्को अति विपन्न नेपालीलाई पशुवत व्यवहार गर्नु के उचित हो र ? गरीब भएर बाँच्नु के अपराध हो र ? शायद कुसुमटारवासीले यस्तै सोचेर आँसु बगाउँदै थिए ।

अति सहयोगी र दयालु भनेर चिनिने नेपाली सेनाले मानवीय विवेक गुमाए । करुणा र दयालुभाव निस्तेज बनाए । क्रुर अमानवीय भाव बोकेर मानवमाथि नै अर्को मानवले यस्तो अमानवीय निर्दयीपना देखाउनु कुन अर्थमा न्यायोचित हुन सक्छ ? काजीमान चेपाङ र दीप बहादुर चेपाङको ब्रम्हचिन्तनले यस्तै सोचिरहेको हुँदो हो ।

२०४७ सालदेखि कुसुमखोलामा बसोवास गर्दै आएका फिरन्ते जातिको रुपमा चिनिने चेपाङ समुदायले यतिबेला अति संकटको अवस्थामा जीवनयापन गर्नुपरेको छ । आगो लगाएर ध्वस्त बनाईएका घरमूली काजीमान चेपाङ र दीप बहादुर चेपाङलाई सेनाले दिएको साउन ३ गते १ बजेको समयको त्यो धम्कीले निराशा त बनाएकै छ, कतै कुसुमटारवासीलाई पुनः भौतिक आक्रमण गरी जनधनको क्षति पुर्याउने त होइन भनी त्यत्तिकै शशंकित छन् ।

सरकारको दायित्व

(नगरपालिका र सामाजिक संस्थाकै सहमतीमा बनेका पक्की टहरा, तर अहिले त्यहिँबाट खेद्न मिल्छ ?)

कुसुमटारको घटनाको बारेमा माडी नगरपालिका, सुकुम्वासी आयोग तथा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई केहि पनि जानकारी नगराईएको भन्ने सूचना प्राप्त भएपनि यसबारेमा भने थप कुनै जानकारी प्राप्त हुन सकेको छैन । भोलिका दिनबाट गरीब सुकुम्बासी र उनीहरुको अबोध बालबालिकाहरु तर्साउन बजारिने जंगी बुटमा सरकारले अविलम्ब प्रतिबन्ध लगाउनुपर्नेछ । उनीहरुको दीर्घकालिन पुनर्वासको जोहो गरिदिनुपर्ने दायित्व अब नेपाल सरकारको छ ।

(सरकारी सेना र हात्ती लगाएर घरमा आगो झोस्ने, घर भत्काउने गरेर बिचल्लीमा पारेका चेपाङलाई पत्रकार रोषी सहितको टोलीले बाँड्न ठिक्क पारेको राहतका अगाडि पिडित चेपाङ)

यतिबेला उनीहरुको पुनर्वासको लागि माडी नगरपालिका अति नै संवेदनशील भएर लागेको छ भने विभिन्न संघसंस्था तथा परोपकारी अभियन्ताहरुद्धारा विक्षिप्त ११ घरधुरी चेपाङलाई राहतको व्यवस्था गर्ने काम पनि भइरहेको छ । भोलिको दिनबाट माडीमा जंगली जनावर र मानववीचको द्धन्द न्युनीकरणको साथै निदान गर्न नेपाल सरकार तथा विश्व समुदाय जसरी लागि परेको छ त्यसैगरी माडीमा बस्ने माडीवासी जनता र राष्ट्रिय निकुञ्जको झाडीमा बस्ने झाडीवासी सेना बीचको द्धन्द पनि सदाका लागि समाधान गरिनुपर्छ ।

            माडीवासी जनता र झाडीवासी सेना वीचको द्धन्द कहिले सम्म ?

चितवन जिल्लाको विकटताको संघारबाट विकान्सोन्मुख अवस्था तर्फ बामे सर्दै गरेको समथुर भूमि हो माडी । अर्थात चितवन भित्रको चितवन भनेरपनि चिनिने भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको छ माडी नगरपालिका ।

उसो त, माडी विगतमा विभिन्न राजनीतिक भवितव्य घटना, परिघटनाले चर्चा कमाएको नगरपालिका पनि हो । अति नै खेतीयोग्य उर्वर भूमि भएको कारणले गर्दा गोरखा, लमजुङ, धादिङ, गोरखा, म्याग्दी लगायत दुइ दर्जन भन्दा बढि विकट पहाडी जिल्लामा बस्ने पहाडिया तथा रैथाने वासिन्दाको रुपमा परिचित थारु, कुमाल, बोटे लगायतका जातजातिहरुको घनत्व रहेको नगरपालिका पनि हो माडी ।

उर्वर भूमि भएकै कारण तथा ऐलानी जग्गा अधिकरण गरी अथवा पैसा हुनेहरुले बसाईं सरेर आउँदा ल्याएको केहि रकमले पनि सस्तो मूल्यमा धेरै जग्गा किन्न सकिने थलो हो यो । त्यसैले बसाईंसराईको मध्यकालिन अवस्थामा पहाडबाट झर्नेको ओइरो माडीतर्फ आकर्षित हुनु अर्को कारण रहेको हो । उत्तरतर्फ रिउ खोला तथा माडी नगरपालिका अन्तर्गत रहेका बघौडा, बसन्तपुर, बरुवाबजार, किर्तनपुर, देवेन्द्रपुर, बगई लगायत ठोरी जाने हुलाकी मार्गसम्म पुग्न यसले दुई दर्जन हाराहारीको खहरे खोलाको पासो थापेर बसेको नगरपालिका पनि हो माडी नगरपािलका ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको माडी नगरपालिकामा मानववस्ती घना हुँदै गएपछि जंगली जनावरको चरन तथा वासस्थानको विनाश हुँदै गयो । चरनको अभाव र जंगली जनावरलाई मानवजातिले शत्रुवत व्यवहार गर्न थाले । आफ्नो प्राकृतिक वासस्थान माथि मानववस्तीको वाहुल्यताको कारणले गर्दा जंगली जनावर र मानववीचको द्धन्दले चरम रुप लिँदै गयो ।

उत्तर, दक्षिण, पुर्व, पश्चिम चारैतिरबाट राष्ट्रिय निकुञ्जले घेरिएको मानववस्तीमा बर्षेनी जंगली हात्ती, अन्य जंगली जनावर र बाढीको रुपमा बेलाबेलामा संहारकारी विनाश रुप लिएर बहुलाउने रिउ खोला ले सताउने त छँदै थियो अन्य खहरे खोलालेसमेत माडीवासीको ज्यान लिदै आएको छ । यस्ता जोखिमसंग लड्दै आएका माडीवासीहरु जंगली जनावरबाट जति आतंकित र आक्रमित भएका छन्, त्यो भन्दा बढि आतंकित, प्रताडित र दण्डित निकुञ्ज प्रशाशन र नेपाली सेनाबाट भएका छन् ।

नेपाली सेनाले माछा मार्न जाने, घाँसदाउरा गर्न जाने पूरुषलाई पक्रेर यातना दिने गरेका छन् । केहि अराजक तथा आपराधिक मनोबृति भएका सेना तथा कर्मचारीहरुले घाँसदाउरा गर्न जाने महिलाहरुलाई डर धम्की देखाउने, ललाईफकाई गर्भिणी बनाएर घर न घाटको बनाएपछि रमानापत्र लिई अर्को जिल्लाको पोष्टमा सरुवा मिलाएर जाने सेनाहरुपनि छन् । त्यस्ता घटना र मुद्धा जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौंडामा त्यत्तिकै छन् । कति पिडित महिला र उनीहरुको संसर्गबाट जन्मिएको बच्चालाई परोपकारी संस्थाको माध्यमबाट कानूनी न्याय दिलाई उद्धार गरिएको समाचार पनि आइरहेकै हुन् ।

तपाइँको प्रतिक्रिया