सिंहदरबार हल्लाउने ‘बुढा’

कुनै बेला रोल्पाको नाम सुन्नासाथ सिंहदरबार हल्लिन्थ्यो । रोल्पा भनेपछि अहिलेको नाम मात्रका कम्युनिस्टहरु भने गौरव गर्थे । सैन्य क्याम्पभित्र रोल्पाले आतंक मच्चाउँथ्यो । प्रशासनिक क्षेत्र रोल्पाको नाम सुन्न चाहन्थेन । रोल्पा जानु भन्दा सरकारी जागिर छोड्छु भनेर सेवाबाट भाग्नेहरु अहिलेपनि थुप्रै जिवित छन् । त्यहि रोल्पा जिल्लाबाट कम्युनिस्ट पार्टीको पहिलो सदस्यता लिएका ईमान्दार नेता वर्मन बुढा रहेनन् ।

आन्द्राको क्यान्सरको उपचार गर्न पाटन अस्पताल भर्ना भएका बर्मन बुढाको उपचारकै क्रममा आज बिहान निधन भयो । उनलाई आज नेकपा र अन्य कम्युनिस्ट पार्टीका धेरै नेताले श्रद्दान्जली दिएका छन् ।

रोल्पाबाट पार्टी सदस्यता लिएसँगै बुढाले त्यहाँका जनतालाई समेट्दै लगे । गरिबहरुलाई कम्युनिस्ट बनाए । सरकारी दमन र अन्यायका बिरुद्द लडे । हक्की स्वभावका उनले आफ्नो क्रिषी पेशासँगै कम्युनिस्ट प्रभावपनि फैलाउँदै लगे ।

सन् १९९२ को संसदीय निर्वाचनमा बुढा रोल्पा निर्वाचन क्षेत्र १ बाट संयुक्त जनमोर्चा नेपालको टिकटमा प्रतिनिधि सभामा निर्वाचित भए । उनी रोल्पामा कम्युनिष्ट पार्टीका संस्थापक नेताका रूपमा चिनिन्छन् । उनी रोल्पा जिल्लाको थवाङका हुन् ।

उनको संसदमा बोल्ने शैलीपनि रमाईलो थियो । बुढा बोल्न लागेपछि संसदमा सबैले चासोपूर्वक सुन्थे । गाउँले ठेट र ठट्यौली पारामा उनले रोल्पाली जनताका समस्या संसदमा सुनाउने गर्थे । संसदमा भएका गतिबिधी फेरि गाउँमा लगेर सुनाउँथे ।

संसदमा कच्छड लगाएर प्रवेश गर्न खोज्दा उनको बिरोध गरिएको थियो । तर उनले मानेनन् र कच्छडनै लगाउने अड्डी कसे । आफ्नो जन्मजातको पोशाक कच्छड भएकाले संसदमा त्यो बाहेक अरु पोशाक लगाउन नसक्ने अड्डि कसेपछि उनलैऐ कच्छडमै प्रवेश दिन संसदिय समिति बाध्य भएको थियो । प्रतिनिधि सभाको बैठकमा स्थानीय पोशाक कच्छड लगाएर प्रवेश गरेपछि बुढाको चर्चा चुलिएको थियो । आफ्नो संसदिय कालभरि उनी कच्छडमै उपस्थित भए ।

                           (वर्मन बुढाको घर)

सन्‌ १९९६ मा माओवादीका नामबाट सशस्त्र द्वन्द्व सुरु भएपछि उनी राजनीतिमा कम सक्रिय थिए । कम्युनिष्ट पार्टीको सदस्यता लिनु अघि बुढा थवाङको मुखिया (गाउँ प्रमुख) थिए । उनी पञ्चायत राजनीतिक प्रणालीको क्रममा प्रधानपञ्च बनेर लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।

                                               (वर्मन बुढाको गाऊँ थवाङ)

रोल्पामा बुढालाई निकै श्रद्दाकासाथ हेरिन्छ । अत्यन्त कठिन राजनितिक अवस्थामापनि उनले रोल्पाका धेरै जनतालाई कम्युनिष्ट बनाएका थिए । नेपालप्लस परिवार उहाँलाई हार्दिक श्रद्दान्जली अर्पण गर्दछ ।

(पहिलो फोटो नयाँ पत्रिका, दोस्रो इन्टरनेट, तेस्रो र चौथो हिक्मत सिं रोक्का र अन्तिम फोटो माई रिपक्लिका)

तपाइँको प्रतिक्रिया