पोर्चुगालीका घरघरै निशुल्क खाना पुर्याउँदै नेपाली
कोरोनाको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जागिर गुमाएका, विभिन्न रोगले थलिएर काम गर्न नसकेका र अन्य विभिन्न कारणले रोजगारी नभएपछि खानकै लागि दाता तथा राज्यको भर पर्नेहरुको संख्या थपिएको छ । विपत्तिको यो घडीमा राज्यसँगै कतिपय सचेत तथा जिम्मेवार नागरिकले पनिआ–आफ्नो तर्फबाट ति निम्न वर्गीय नागरिककालागि सक्दो सहयोग गरिरहेका छन् । त्यस्तै मध्येका एक हुन पोर्चुगलका नेपाली व्यवासयी टंक सापकोटा ।
सापकोटाको नेतृत्वमा अहिले पोर्चुगलको राजधानी लिस्बनका करिब ८ हजार सूचीकृत निम्नवर्गीय परिवारका सदस्यहरुलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन भैरहेको छ ।
२४ वटा वडा रहेको लिस्बन नगरपालिका भित्रका २ हजार ५ सय भन्दा बढी घरधुरीका ८ हजार निम्नवर्गीय परिवारका सदस्यहरुलाई उनीहरुकै घर घरमा अहिले खाना पुर्याउने अभियान जारी छ । गएको जुन १६ बाट शुरुभएको यो अभियान जुलाई ९ सम्म जारि रहने छ । यो अभियान अहिले दोश्रो हप्तामा सञ्चालन भैरहेको छ ।
प्रत्येक वडा कार्यालयले तयार गरेको निम्नवर्गीय नागरिक (जसलाई खाना खुवाउनैपर्ने बाध्यता छ ) को सूचीलाई आधार मानेर अहिले हरेक दिन फरक–फरक ठाउँमा पुगेर साँझको खाना विशेषतः पिज्जा तयार पारेर वितरण भैरहेको छ । पोर्चुगलमा ४ वटा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् उनले ।
यस पटक उनले लिस्बनका प्रत्येक वडामा पुगेर त्यहाँका नागरिकहरुका लागि त्यहीँ खाना तयार पार्ने काम गरिरहेका छन् । यो अभियानलाई सफलपार्न सापकोटाकी श्रीमती सिता सापकोटासँगै परिवारका अन्य सदस्यत थापोर्चुगलकै अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा लगायत १५ जनाको टोली खटिइरहेको छ ।
प्रत्येक वडामा पुगेर खाना तयार पारेपछि सो खाना लक्षित घर परिवारसम्म पुर्याउने कामको व्यवस्थापन भने सम्बन्धीत वडा कार्यालयले नै गरिरहेको छ । नागरिकको घरसम्म खाना पुर्याउने वडाको अभियानलाई विभिन्न स्वयंसेवी संघसंस्था तथा व्यक्तिले पनि स्वतस्फूर्त रुपमा सहयोग गर्दै आइरहेका छन् । वडा कार्यालयसँगको समन्वयमा हरेक दिन लिस्बनका भिन्नभिन्न वडामा पुगेर खाना तयार पार्ने गरिन्छ ।
विशेष गरी खाना (पिज्जा) बनाउन प्रयोग गरिने सामग्री तथा अँगेनो (फोर्ने) लाई पनि हरेक दिन गाडिमा राखेर वडाले तोकिदिएको स्थानमा लगेर राख्ने गरिएको छ । यो अभियानकै लागि भनेर उनले करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको पिज्जा बनाउने घुम्ती अँगेनो (फोर्नो) किनेर प्रयोगमा ल्याएका छन् । सापकोटाले सञ्चालन गरेको ‘फोर्ने दिओरो रेस्टुरेन्टले बनाउने पिज्जा विश्वकै उत्कृष्ट पिज्जाको सूचीमा सूचीकृत समेत भैसकेको दाबि गरिएको छ ।
अहिले लिस्बनका निम्नवर्गीय नागरिकका लागि वितरण गरिएको पिज्जापनि रेस्टुरेन्टमै उपलब्ध हुने स्वाद र गुणस्तरको छ । हरेक नागरिकलाई तात्तातो पिज्जा पुर्याउन सकियोस् भनेर उनले एक चरणमा बनाइएको पिज्जा वडाको टोलीले घर घरमा पुर्याएर फर्केपछि मात्रै अर्को चरणको पिज्जा बनाउने गरेका छन् । कोरोनाको विश्वव्यापी महामारीकाबिच नागरिकहरु घरभित्रै थुनिएर के खाने होला भनेर बसिरहनु परेको यो बेलामा घरको ढोकामै खानेकुरा आइपुग्दा नागरिकहरु पनि हर्षविभोर बनेका छन् ।




