घरिघरि सम्झाईरहने कनकुनको कथा

-ससाङ लामा / न्युयोर्क अमेरिका

नजिकको तिर्थ हेला हुँदो रहेछ । न्युयोर्कस्थित क्विन्सस्थित ज्याकशन हाइटको छेउछाउबाट भूमिगत रेल चढेर जाने हो भने त्यस रेलले करीब ४० मिनटमा अटलाण्टिक महासागरको तट छेउमै पुर्याउँछ । घरकै भात खाइवरी सप्तहान्तमा अटलाण्टिकमा जिउ चोबलेर बालुवा माथि लडिबुडी गर्दै सूर्यस्नान गरे भै गो नि ? सागरमा जिउ चोबल्नुका निमित्त देशै छोडेर हवाइ जहाज चढि चढि अर्को देश जान पर्छ र ? त्यहाँ भएको पानीलाई जे जस्तो नाम दिएपनि त्यो एटलाण्टाकै पानी त हो । कि तिमारुले दु:खले कमाएको डलर चिलायो ? हजारौँ हजार डलर पानीमा बहाएर तिमारुले नजाती काम गर्यौ । बरु त्यो पैसा नेपालका गरीब गुरुवाहरुलाई दिँदा हुन्थ्यो नि ! भनेर एकथरिले हुर्मत लेलान्, यो कथा पढे पछि ।

न्युयोर्कस्थित पारिवारिक भेटघाटमा थुप्रैचोटि कुरो उठयो, “होइन, हामीपनि सँगै छुट्टीट्टि मनाउन (Vacation) जाऔँ न कुनै ठाउँमा । न्युयोर्कमा डल्लेर, कुप्रेर, कुच्चिएर बसेको निकै पो भयो त ! यस्तो कुरो उठिरहन्छ ।

तर न्युयोर्के ब्यस्त जिन्दगीमा हेलिएपछि, कुरो सेलिन्छ । एक दिन कुङ्ग भाईको फोन आयो । कनकुनको प्रस्ताव लिएर । हाम्रा छोरीहरुको चाहना त्यस्तै रहेको जानकारी मलाई प्राप्त भयो । ‘ठिकै छ नि त’ मैले भनेँ । कारण हाम्रो बिस्तारित परिवारमा छोरी मान्छेकै अत्याधिक बाहुल्य छ । बहुमत उनीहरुकै छ । नमानी भयो र ? मोसन सिक्नेस (Motion Sickness) भैरहने मेरी बुढीसमेत राजी भइन्, जान । ‘ओखती खाँदै भएपनि जान्छु’ भनिन् । सक्की गो नि !

कनकुनको प्याकेज टुर किन्ने मेलो मेसोमा थुप्रै अनलाइन चहारे पछि हामीले सधैं थोक सौदापाता गर्ने ठाउँ कोस्टको (Costco) ले पनि त्यो प्याकेज बेच्दो रहेछ भन्ने कुरो पत्तो लाग्यो । पछि केही तलमाथि पर्‍यो भने कोस्टकोको घाँटीन्याँक्न पनि पाइने ठानी त्यहीँ किनियो । हाम्रो पारिवारिक प्याकेज टुर भएको हुँदा चार जनालाई एउटा ठूलो कोठा दिनेगरी कुरोकानी छिनियो । पाँच दिनको लागि प्रतिब्यक्ती पन्ध्र सय डलर परेपनि, प्रत्येक कोठालाई पन्ध्र सय डलरको भौचर दिने भनेर हाम्लाई लोभ्यायो । त्यो भौचर होटेल बाहिरको अन्य अतिरिक्त कृयाकलापमा प्रयोग गर्न सकिन्छ भनेर हामीलाई फुरुङ्ग पारे । पछि कनकुन पुग्दा पत्तो लाग्यो, त्यो भौचरको प्रयोग संगै त्यसमा १६ प्रतिशत सेल्स ट्याक्स र सर्भिस चार्ज झुण्डिँदो रहेछ । त्यो आफ्नो खल्तिबाट तिर्नुपर्दो रहेछ | त्यसमा भौचर भजाउनु नमिल्ने रहेछ । यसलाई ठग कार्य चाहीँ नभनौँ । तर बढि पैसा कमाउने दाउ चाहीँ हो ।

(कनकुनका पर्यटक र यो यात्रा संस्मरणका लेखक ससाङ लामा दाहिनेतिरका)

भूमिका धेरै बाँधियो । अब गन्तब्य स्थलको चर्चातिर लागुँ क्यार ! हामी जानुपर्ने ठाउँ चाहीँ मेक्सिकोको रिसोर्ट सिटी कनकुन थियो । आतेजाते हावाजहाजको भाडा पनि प्याकेजमा समाबेश भएको थियो । उहिले उहिले पत्र पत्र पाना भएका हवाइ टिकटहरुको सम्झना गर्दै मिशिनमा आफ्नो पासपोर्टको विवरण दलियो र फ्लाइट नम्बर दर्ज गरेपछि बोर्डिङ पास् दिएर ल्यायो । जाँदा नर्थ क्यारोलिनाको सार्लोट हुँदै कनकुन पुगियो । फर्किँदा मयामी हुँदै आइयो । प्राय प्लेनभित्र हामी मिठो बोली भएको अप्सरारुपी एअरहोस्टेजको कल्पना गर्छौँ । प्लेनभित्र हाम्रो पट्टी एकजना तालुखुइले अह्रर्हो जिउ भएको बुढो पो एअरहोस्टेज भएर सर्भिस दिन थाल्यो । के के न भाको जस्तो, तपाईं के लिनुहुन्छ ? भनेर सोधेर ल्यायो । त्यो पनि धोद्रो स्वरमा । भरे दिनेबेला बिस्कुट र जुस सिवाय केही त थिएन ।

कनकुन बिमानस्थलमा नागबेली लाइनमा नबसी सुखै थिएन । विश्वका बिभिन्न देशबाट कनकुनमा आराम गर्न आउनेहरुको घुइँचो थियो । मझौलो कदका नेपाली-बन्धुकै नाकनक्शा भएका मेक्सिकाली अध्यागमनका अफिसरहरुको छिटो छरितोपन देखेर हाम्रो त्रिभुवन बिमानघाटको लोसे अध्यागमनको सम्झना गराएर ल्यायो ।

हामी १५ जनाको पारिवारिक हुल मिलिक्कै कनकुन बिमानस्थलको प्राङ्गणमा पुगिसकेका थियौँ । काठमाडौँको बिमानस्थलमा झैँ हात हातमा बिभिन्न नामहरु भएका प्लेकार्डहरु बोकेर पर्यटकहरुलाई स्वागत गर्न उभ्भिएका थिए कनकुनेहरु । हाम्रो कोस्टोको (Costco)  को एजेण्टले हामीलाई ४४ नम्बरको डेस्कमा लगेर कसैको जिम्मा लगायो । एकछिनपछि हामीलाई एउटा भ्यानले होटेल पुर्यायो । कुन्नी के कारणले हो, चेक ईन हुनलाई केही समय लाग्यो । त्यो भैसकेपछि हामी सबैको हातमा भित्र चिप्स राखिएको कागजी कल्ली, ब्रासलेट जस्तै लगाइयो । त्यही ब्रास्लेटले कोठाको चाबीको पनि काम गर्थ्यो । त्यो ब्रासलेट हातमा लगाएपछि, त्यो होटेलमा भएको असिमित खाना, असिमित पेय पदार्थ (Unlimited food, Unlimited drink) र अन्य सुविधाहरु प्रयोग गर्न फुक्का भयो । सर्वप्रथम त खाने नै निर्णय गर्यौँ । कारण न्युयोर्कबाट बिहान ४ बजे उठेर हिँडेदेखि दिउँसोको ३ बजेसम्म गतिलो खाना मुखमा परेको थिएन ।

आ-आफ्नो कोठामा गयौँ । हाम्रा सामानहरु अझै आइपुगेको थिएन । केही छिनपछि एकजनाले सामानहरु ल्याइदियो । मैले ‘धन्यवाद’ भनें । त्यो डेग नचलिकन, केही नभनी, किलो गाडे झैँ अझै उभ्भिरहयो । तिन डलर उसको हातमा थमाइ दिएपछि बल्ल ‘थ्याँक यु’ फर्कायो । त्यो एकजना बाहेक अन्य होटेलका कामदारहरुले टिप्सको लागि मरिहत्ते कसैले पनि गरेनन् ।

अब कनकुनको छोटो ब्रितान्त दिन चाहन्छु । मेक्सिको स्थित यो एउटा रिसोर्ट सिटी हो । क्यारिबियन सागरको तटमा अवस्थित लमतन्न परेको यो शहरको आम्दानीको श्रोत भनेकै त्यस टापुको समुद्री तटमा आराम गर्न आउने पर्यटकहरु नै हुन । न्यानो मौसमका कारण बाह्रैमास पर्यटकहरु आउने रहेछन । यस बाहेक कनकुन बारे जानकारी लिने चाहना भए गुग्लिङ गर्नुस्, गटटट सुचना दिएर ल्याउँछ । कनकुने समुद्री तट नजिकै रहेका सुबिधायुक्त होटेलहरुको बिशेषता भनेकै होटेलको अगाडि रहेको स्विमिङ पुलहरु हुन । हामी बसेको होटेल बिच प्यालेस (Hotel Beach Palace) मा, मुनि, समुद्र छेउ ठुला साना गरी तीन वटा स्विमिङ्ग पुल थिए भने, छतमा दुई स्विमिङ पुलहरु थिए । स्विमिङ पुलहरुसितै जोडीएको बारहरु, छानामा एउटा र मुनि एउटा थियो । पानी भित्रै राखिएको कुर्सिमा, आधा जिउ डुबाएर ककटेलहरुको रस्वादन गर्दै, बेला बेलामा पानीमा जिउ चोबल्दै, निस्कँदै गर्न पाइने । छेउछाउमा भएका नग्न नग्नीहरु नियाल्दै, घण्टौँ बात् मारिरहनु मज्जा हुँदो रहेछ । थरी थरिका कक्टेलहरु कति पिइयो त्यसको त गन्ती नै भएन । ‘मन्दिरमा पिएँ, मश्जिदमा पिएँ’ भन्ने गाना पो याद आएर ल्यायो । छानामा पिइयो । तल पानी भित्र बसेर पिइयो । खाना खाने बेला पनि पिइयो । आफन्तहरु छेउछाउमा भाकोले सिमामा रहेर पिइयो ।

बिच प्यालेसको खानाको कुरा चर्चा गरिन भने मेरो कनकुने कथा अधुरो हुन्छ । बिहान सात बजेदेखि बेलुकी दस बजेसम्म खाने ठाउँ खुल्ला हुन्थ्यो । मुख्य बुफे हलमा ८४ ब्यन्जन नभए पनि ४२ ब्यन्जन त पक्कै थियो । थरिथरिका खानाले आँखा तिर्मिरिएर के खाने भन्ने अन्योलमा परियो थुप्रैचोटि । मनचिन्ते फ्रेस जुशहरु लाइनै लगाएर राखिएका थिए । अण्डाको सेतो भाग मात्र खानेलाई सेतै अम्लेट राखिएको थियो । चिसा खाना, ताता खाना, समुद्री परिकार, गोरु, खसि, कुखुरा, माछा के थिएन ? मनले चिताएको सबै थियो । खाना पछिको डेसर्ट पनि छानी छानी थियो । डाइनिङ हलको भित्तोमा किताब सजाए झैं वाइनको बोतलहरु सजाइेएको थियो । कुनै बोतलमा औँल्याउनु मात्र पर्थ्यो, बोतल तु हाजिर हुन्थ्यो । सर्भिस गर्ने र ग्राहक दुवैले हिसाब गरिरहनु परेन । मलाई त मन पर्‍यो, यो खानपिन फ्री प्याकेज ! नत्रभने खानपान भैसकेपछि प्रत्येक चोटि पछाडिको गोजिमा हात घुसार्दा सबै मज्जा बिग्रन्छ । होटेलको कोठामा भएको सानो फ्रिजमा पनि मनग्गे बिजुली पानी र जुशहरु राखिएको थियो । तलै बेस्मारी खाएपछि त्यो सानो फ्रिजमा त हाम्रो ध्यान पनि गएन ।

त्यो बुफे (Buffet) हलसँगै टाँसिएको अन्य दुई साना हलहरु पनि थिए । एउटामा चाहीँ इटालियन खाना र अर्कोमा चाँही एशियन खाना भएको जानकारी पायौँ । इटालियनमा हाफ्लुङ अर्थात हाफ्पेण्ट लगाएर छिर्न नपाईने रहेछ । हामी सबैजना हाफ्लुंगमा थियौँ । ‘आ त्यो पास्ता खानलाई कोठामा को गैरहोस् पेण्ट लगाउन ?!’ भन्दै हामी एशियन खानाको हलमा छिर्यौँ | गह्रुङ्गो न गह्रुङो मेनु थमायो । हामीले अर्डर गर्न नजानेको हो कि के हो खानाको मात्रा (portion) पनि नमिलेको, अनौठो खाना लिएर आयो । पेट पनि भरिएन, चित्त पनि बुझेन । ‘जान्ने भएर एशियन खाने भाको, भेट्टाइस !’ भने जस्तै भो । त्यहाँबाट निस्केर बाहिर बफे मा फेरी बजाइयो । आखिर होटेलसंग हाम्रो ‘पेटभरी सिस्टम’ मै पहिल्यै छिनिसकेको थियो ।

कोठै पिच्छे दिएको पन्ध्र सय डलर लाई पनि त भजाउनै पर्‍यो । होटेल बाहिरको बग्रेल्ती आउटडोर क्रियाकलाप (Outdoor Activities) हरुमा त्यो कुपनलाई भजाउने सल्लाह भयो । हामी केही सहासीहरुले जिप लाईन (Zip-line) छान्यौँ भने अरुहरुले सोंससित पौडी खेल्न रुचाए । छोटो दुरी भएको जिपलाइनबाट शुरु गरेर लामो लामो दुरी भएका १० वटा चेन जिपलाईन (chain zip-line) मा थाकुन्जेल सुइँकियौँ, हुइँकियौँ, बतासियौँ । अनकण्टार जंगल भित्र थियो त्यो जिपलाइन । अन्तिम जिपलाइनले चाँहीँ लगेर एउटा पानीको कुण्डमा झ्वाम्लाङ्ग फ्याल्दोरैछ ।

छोरीहरुकै चाहना बमोजिम हामीले कनकुने पब्लिक बस चढि ससाना मेक्सिकाली टाउनहरु पनि घुम्यौँ । हस्तकलाका सामान बेच्न बसेका, हाम्रै नेपाली नाकनक्शा भएका होचा मेक्सिकालीहरुलाई देख्दा आत्मिय अनुभव भयो । दक्षिण अम्रिकाकै आफ्नै कुनै बिरादारी पर्यटकहरु होलान भनेर हामीलाई धेरैले ‘ओला’ ! भनेर सम्बोधन गरे । ‘मेक्सिको जानुहुन्न । त्यहाँ ड्रग माफियाले सुइँक्याउँछ । लुटछ । कुटछ’ भनेर हामीलाई केही हितैषिहरुले तर्साएका थिए । रातोदिन होटेलकै सेरोफेरोमा रामरमितो गरेर बसेका हामी गौप्राणीहरुलाई कसैले केही गर्ने कुरै आएन ।

प्रत्येक साँझ स्विमिङ पुलसँगै टाँसिएको प्राङगनमा गीत संगितको कन्सर्ट हुन्थ्यो । हातहातमा बिजुली-पानी बोकेका अर्धनग्न श्रोताहरु, स्टेजमा प्रफम गर्ने अर्धनग्न कलाकारहरु सबैजना बिन्दास झुमिरहेको, जिउ हल्लाइ रहेको, नाचिरहेका देख्न पाईन्छ । बिच बिचमा होटेलका कामदार महिलाहरु स्टेजमा आएर मनमोहक ल्याटिन अमेरिकि धुनमा नाच्छन । लाटिनोहरुको बेजोड नाच मैले मस्को हुँदा पनि हेरेको थिएँ । न्युयोर्कमा पनि हेरें । अझ लाटिनो भूमिमा, त्यसमाथि समुद्रको तिरमा, न्यानो बतासको रस्वादन गर्दै, कनकुने बिचमा सुन्न र हेर्न पाउँदा सर्वानन्द अनुभूत भएको थियो । संगितको धुनमा स्विमिङ पुलभित्र पनि हातेमालो गरेर रमाइ रमाइ नाचे पर्यटकहरु !

बिहानीको पल जब सारा होटेल चकमन्न हुन्थ्यो, छोरी र बुढीलाई डिस्टर्ब नहुनेगरी, म बिरालोको चालले ढोका ढप्क्याइ बिचतिर जान्थें । लबिको एक कुनोमा तयारी कफी राखिएको हुन्थ्यो । एक कप कफी लिएर जब म होटेल बाहिर निस्कन्थें, बिहानको न्यानो सामुद्रिक हावाले मलाई स्पर्स गर्थ्यो । फाट्ट्फुट्ट होटेलका कामदारहरु कोही स्विमिङ पुल सफा गरिरहेका, कोही अघिल्लो राती पाहुनाहरुले जताततै असरल्ल छोडेका गिलास र प्लेटहरु बटुल्दै गरेका बाहेक चौतर्फी सन्नाटा हुन्थ्यो | तिनलाई ‘ओला’ ! भनेर म बिचतिर लाग्छु । सामुद्रिक लहरले रातभरीमा एकखाले घाँसपात किनारामा ल्याउँदो रहेछ । कुनै कुनै किनारामा त डङ्गुरै थुपारेको हुँदो रहेछ । समुद्रले आफूभित्रको फोहोर आँफैले सफा गरेको कुरो खुल्न आयो । प्रकृतिभित्र रहेको यस्तो रहस्य अनेकानेक होलान । रातभरी समुद्रले पखालेको ताजा बालुवामा खालिखुट्टाले डोब बसाउँदै, फ्यालफ्याले चरा (Sea Gull) हरुको संगितमय आवाज सुन्दै किनारै किनार आँखा चिम्लेर हिँडदा समय त्यहीँ थामिए झैँ लागेको थियो ।

न्युयोर्क फर्किने अघिल्लो दिन हामीलाई ठिकठिकैको याच्ट (Yatcht) मा राखेर दुइघण्टे सामुद्रिक यात्रा गराएका थिए । समुद्र बिचमा डुङ्गाको इञ्जिन बन्द गरेर सहासीहरुलाई समुद्रमा गोता मार्न उक्साएका थिए | अक्सिजन पाइप आकाशतिर फर्किएको टोपी र ढ्याब्रे चस्मा लगाएर छोरीहरु त हाम्फालिहाले ।  डाँडाको टुप्पामा हुर्केका हामी छिप्पटहरु मात्र डुङ्गामा बाँकी रहयौँ, जसलाई पौडिनधरी आउँदैनथ्यो । एकजना फोटोग्राफर महिलाले पानीभित्रनै हाम्रा छोरीहरुको पोज पोजको फोटाहरु खिचेको रहेछ । पछी हामीलाई देखायो । किन्न करै लाग्यो । ति महिलाको मिहिनेतलाई त कदर गर्नै पर्‍यो । पछी न्युयोर्कमा ईमेलमा ति फोटा प्राप्त गर्‍यौं । पैसो कमाउनलाई लगानी पनि चाहिएला । तर आइडिया र जुझारुपन भएन भने लगानीले मात्र पैसा कमिँदैन ।

खाना र पिनाका शौकिनहरुले कनकुन अवश्य जानुपर्छ । खानापिना सबै प्याकेजभित्रै समाबेश भएकोले, खानपिन पछि प्रत्येक पल्ट पछाडिको गोजिमा हात हाल्नु पर्दैन । गोजी छाम्दा सारा मज्जा नै किरकिरा हुन्छ । डोमिनिकन गणतन्त्रमा पनि कनकुनभन्दा पनि दामी रिजोर्ट छ रे । ताल परे कुनैदिन जाउँला । केन्याको वाइल्ड सफारी जाने इच्छा पनि त्यतिकै छ । अन्नपूर्ण सर्कल, एभेरेष्ट बेसक्याम्प, मंगोलियाका पठार, बेइजिंग -ल्हासा रेल यात्रा पाइप लाइनमा छन ।

न्युयोर्क फर्किँदै गर्दा मियामी एअरपोर्टमा एउटा स्याउले अनावश्यक दु:ख दियो । भंसारको फाराम भर्दा खानेकुरा केही छैन भनेर लेखिएछ । एउटा स्याउ हाते झोलामा रहेछ । आधाघण्टा जति रोकेर सोसियल सेक्युरिटी नम्बरदेखि नानावली प्रश्नको उतर दिनुपर्‍यो । नाथे एउटा स्याउले स्वाँक्कै सुँघायो नि, हाव ! बिदेशबाट अम्रिका छिर्दा आफूसित भएको खानेकुरा फाराममा उल्लेख गरेकै बेश । यदि लान पाउँदैनस भन्यो भने त्यहीँ फोहोरको भाँडोमा फ्यालिदिने, सक्कीगो नि ! त्यो खाना लान नपाएर घरखेत जाने होइन क्यार ! छैन भनेर भरे ब्यागमा खाना फेला पर्‍यो भने तिनले हिङ्ग हाल्छन ।  कनकुनको कथामा कमेण्ट गर्न नबिर्सनु होला । तपाईंको कमेण्टले अर्को कथा कथ्न मलाई मद्त पुर्याउँछ ।

[email protected]

तपाइँको प्रतिक्रिया