न्यायिक आन्दोलनहरुको सगोल पटाक्षेप

-शैलेश श्रेष्ठ, अमेरिका 

हाम्रो कर्मभुमी अमेरिका र जन्मभुमी नेपालमा करिब करिब एकै समयमा पटाक्षप भएको रंगभेद, जातीय प्रथा र संस्थागत अन्याय बिरुध्दको दमित आन्दोलन सामाजिक मुक्ति र न्यायिक निरुपणको अर्को चरणसम्म आईपुगेको छ । नेपालमा हुने गरेको यस्ता अमानवीय अत्याचारको जड पनि “ईन्सटिच्युशनल रेसिज्म” नै हो । दलित बिरुध्दको भेदभावलाई राज्य, धर्म आम प्रचलनहरुले नै परोक्षरुपमा अनुमोदन गर्ने गरको दुरुह सत्य हामीले नेपाल देश गणतन्त्रसम्म आईपुग्दासम्मका दिनहरुमा देखिरहेकै छौं ।

सन ६० को दशकमा अमेरिकामा डा. मार्टिन लुथर किङ्ग जुनियर, मल्कन-एक्स, रोजा पार्कहरुले आरम्भ गरेको सिभिल राईट्स मुभमेन्ट निहत्था अस्वेत जर्ज फ्लोईडको पाशविक हत्यापछि “ब्लाक लाईभ्स म्याटर” को अधुरो र अपुरो आन्दोलनमा अहिले रुपान्तरित भएको छ । आन्दोलनको न्यायिक ज्वारभाटा थाम्न र थेग्न नसक्ने भएपछि अतिबादी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सैनिक परिचालन गरेर भएपनि आन्दोलनकारीहरुलाई “डोमिनेट” गर्ने धम्की सार्वजनिक गरेका छन । आफुलाई “ल एण्ड अर्डर” राष्ट्रपति ठान्ने युध्दउन्मादी राष्ट्रपति ट्रम्पलाई आफ्ना नागरिकहरुका बिरुद्ध आफ्नो भूमीमा सेना तैनाथ गर्न पाईन्न भन्ने सामान्य ज्ञान समेत छैन ।

न्यायिक आन्दोलन अमेरिकाका करिब बीस राज्यका ठूला सहरहरुमा फैलिएको छ । देश दन्दनी बलेको बेला उनी न्यायका लागि निहत्था सडकमा निस्किएका अमेरिकीहरुलाई “थग” भनेर गाली गरिरहेका छन । आफू जस्तो नदेखिने वर्णका आप्रवासीहरुलाई देश निकाला गर्ने स्वैरकल्पना मार्फत स्वेत सर्बोच्चाताबादी आफ्नो आधारभूमीलाई उत्तेजित गरेर सन २०१६ को चुनाब जितेका ट्रम्पले त्यसो भन्दा मलाई कत्ति पनि आश्चर्य लाग्दैन । तर दुई-चार बर्षअघि अमेरिका छिरेका हाम्रा मान्छेहरु पनि अहिलेको आन्दोलनमा छिटपुट भएको आगजनी र लुटपाटको घटना र दृश्यलाई सामाजिक संजालमा सेयर गरेर अल्पमत कालाजातीको मानमर्दन गर्दै रमाईरहेका छन । तिनले एउटा कुरा बुझ्न जरुरी छ, अमेरिकी रेसियल जस्टिस सिस्टमलाई तत्काल परिमार्जन गरेर पुलिसहरुलाई पनि आम न्यायको घेरामा ल्याउन सकिएन भने अस्वेतलाई गाली गरेर रमाएका हाम्रा परपीडक नेपाली, म या कोही कहीं कुनै दिन अर्को जर्ज फ्लोईड हुने अवश्यम्भावी छ ।

अमेरिकी बसाई र जीवनयापनको क्रममा मैले यस्ता थुप्रै प्रहरी बर्बरताहरु देखेको मात्र होइन त्यसको निदानको लागि न्युयोर्क सहरको पुलिस रिफर्म बिधेयकमा एकजना अधिकारकर्मीका रुपमा काम गरेको छु । अन्य दक्षिणपन्थी साना रेडस्टेटको तुलनामा न्युयोर्क सहरका पुलिस प्रशासन डिभर्स मात्र होइन उदार र न्यायिक पनि छन् । ति सबै बिधायकहरुको ईच्छाशक्ति र अधिकारकर्मको ताकतले स्थापित भएको हो ।

यही न्युयोर्क सहरमा सन १९९९ एक जना अस्वेत आमडू दियालोलाई एनवाईपीडीका प्रहरीले ४१ पटक गोली हानेर निर्मम हत्या गर्यो । पछि प्रहरीले आफ्नो सफाईमा भन्यो ‘आमडू दियालोले पछाडीको खल्तीबाट निकालेको कालो पर्स बन्दुक जस्तो लाग्यो । त्यसैले मैले आत्मरक्षाको लागि उनलाई गोली प्रहार गरें ।’ आन्दोलन चर्किएपछि प्रहरीलाई जागिरबाट बर्खास्त गरियो तर अन्य कुनै न्यायिक कारवाही भएन ।

सन २०१४ मा आफ्नो जीवनयापनको लागि स्ट्याटन आईल्याण्डमा चुरोट बेच्दै हिँडेका अर्का अस्वेत एरिक गार्नरलाई न्युयोर्ककै पुलिसले घाँटी थिचेर मार्यो । अन्तिम स्वास लिईरहँदा उनले “आई कान्ट ब्रिद” भनेर पुलिस समक्ष बाँच्ने अन्तिम लालशाका साथ अनुनय बिनय गरिरह्यो । तर अहँ कुनै सुनुवाई भएन । उनको पनि ईहलिला समाप्त भयो । त्यो घटनामा पनि दिनदहाडै मान्छे मार्ने पुलिसलाई मुस्किलले बर्खास्त त गरियो । तर कुनै थप न्यायिक सजायका लागि मुद्दा दायर गरिएन ।  पछि डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय बहसको क्रममा राष्ट्रपतिका उम्मेदवार तथा मेयर बिल दि ब्लाजियोलाई अन्य प्रत्यासीहरुले यही बिषयका औंला ठड्याउँदै प्रश्नहरुले घेराबन्दी गरेपछि त्यसको पुनः छानविन गरेर प्रहरीलाई कारवाही गर्न मेयर छ बर्षपछि बाध्य भयो ।

सन २०१४ मै मिजौरी राज्यको फर्गुसनमा अर्का निहत्था टीनएज अस्वेत माईकल ब्राउनलाई एकजना स्वेत प्रहरीले गोली हानी मारे । त्यो न्यायिक आन्दोलन पनि लामो समयसम्म चल्यो । तर नियम-कानुनमा कुनै संस्थागत परिवर्तन र परिमार्जन भएन । संस्थापनमैत्री र अझ खाईपाई आएका स्वेतहरु अनुकुल रहेको अमेरिकी क्रिमिनल जस्टिस र रेसियल जस्टिस सिस्टमका कारण अहिले अस्वेतहरु सानातिना बिझ्याईहरु गरेकै भरमा पनि लामो समय जेल बस्न बाध्य बनाईएको छ । पछिल्लो आँकडा अनुसार अहिले दुई दशमलव दुई मिलियन अमेरिकीहरु जेल जीवन बिताउने बाध्य भएका छन । र त्यसमध्ये ६७ प्रतिशत अस्वेतहरु छन् ।

अहिले त्यस्तै प्रारूप र शैलीको अर्को पासविक नृसंश घटना मिनियापोलिसमा घटेको छ । अर्का निहत्था अस्वेत जर्ज फ्लोईडलाई एकजना स्वेत पुलिस अफिसरले ८ मिनेट ४६ सेकेन्ड घुँडाले घाँटी थिचेर चरा मारेजस्तो गरेर मार्यो । त्यसरी क्रुर अनि नृसंश तरिकाले हत्या गर्ने प्रहरी अधिकृत डेरेक चाभिनलाई ४ दिनपछि मात्र गिरफ्तार गरियो ।

फ्लोईडको हत्या भएको चार दिनपछि बिरोध र न्यायिक आन्दोलनले राष्ट्रव्यापीरुप लिएपछि अभियुक्त डेरेक चाभिनलाई थर्ड डिग्री मर्डर र सेकेन्ड डिग्री म्यानस्लटर केस अन्तरगत मुद्दा दायर गरिएको कुरा हेनेपिन काउन्टीमा अटर्नी माईक फ्रीम्यानले प्रेस कन्फेरेन्स मार्फत जानकारी गराएका थिए भने अन्य तीन सहयोगी अभियुक्त प्रहरीहरुलाई कुनैपनि मुद्दा दायर गरिएको थिएन । तर न्यायिक आन्दोलन थप तिब्रतर भएपछी आज मात्र मिनेस्वेटाका अटर्नी जेनेरल किथ एलिसनले प्रमुख अभियुक्त डेरेक चाभिनलाई चार्ज अपग्रेड गर्दै सेकेन्ड डिग्री मर्डर चार्ज अन्तरगत मुद्दा दायर गरेका छन भने अन्य सहयोगी तीन अभियुक्त प्रहरीहरुलाई पनि सोही मुताविक मुद्दा दायर गर्न बाध्य भएका छन । यदि अन्य सामान्य नागरिकले यो स्तरको प्रमाणिक हत्या गरेको भए सिधै फर्स्ट डिग्री मर्डर केस अन्तरगत मुद्दा दायर हुन्थ्यो । अत्यन्त अन्यायपूर्ण क्रिमिनल र रेसियल जस्टिस  सिस्टम र संस्थागत रंगभेद भएको अमेरिकामा घटना भन्दा पनि व्यक्ति र वर्ण हेरेर न्याय निरुपण गरिन्छ ।

अस्वेत समुदायमा नितान्त अलोकप्रिय हरेका वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्पको लागि यो घटना राजनैतिकरुपले महँगो मात्र पर्ने छैन उनको राजनैतिक अद्योपतनको मार्ग पनि प्रसस्त हुने पक्का छ । न्यायिक आन्दोलनमा समाहित भएका लाखौं आन्दोलनकारीहरुलाई राष्ट्रपति ट्रम्पले “थग” भनेर सम्बोधन गर्दै गभर्नर र मेयरहरुले आ-आफ्नो क्षेत्राधिकार भित्र नेशनल गार्ड परिचालन गरेर आन्दोलनलाई “डोमिनेट” (राष्ट्रपतिको भाषामा) गर्ने तदारुकता देखाएनन भने आफूमा रहेको अधिकार प्रयोग गरेर सेना परिचालन गर्ने धम्की पनि उनले दिएका छन् । तर राष्ट्रपतिसँग त्यस्तो संबैधानिक अधिकार नरहेको भन्दै संबिधानका ज्ञाता र ईतिहासविदहरुले ट्रम्पले हिंसा भड्काउन र उत्तेजीत पार्ने नियतले यस्तो अभिव्यक्ति दिएको भन्दै उनको बिरोध गरेका छन् ।

यस्तो अप्ठेरो परिस्थितिमा पनि राष्ट्रलाई जोड्नुको सट्टा विभाजित गर्ने मनसायले चुनावी राजनीति गरेको भन्दै पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश र बराक हुसैन ओबामाले उनको बिरोध गर्दै अमेरिकी जनताको नाममा सम्बोधन गरेका छन् । यो शृंखलाको तार्किक अन्त्य कहाँ पुगेर हुन्छ त्यो भन्न सकिने स्थिति छैन । तर निर्वाचन वर्ष भएकोले यसको प्रत्यक्ष राजनैतिक लाभ डेमोक्रेटिक पार्टीलाई प्राप्त हुने निश्चित छ ।

पछिल्ला मत सर्भेक्षणहरुका अनुसार राष्ट्रिय सर्भेक्षणहरुमा वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प भन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार पूर्व उप-राष्ट्रपति जो बाईडेन १० प्रतिशत पोईन्टले अगाडी छन भने तल्लो सदन हाउस मात्र होइन माथिल्लो सदन सिनेट पनि डेमोक्रेट्सहरुको कब्जामा जाने अधिक सम्भावना छ ।

रुप र सारमा हेर्दा अहिले अमेरिकामा बहुरिएको “ब्लाक लाईभ्स म्याटर” को रंगभेद बिरोधि न्यायिक आन्दोलन र रुकुममा घटेको लज्जास्पद घटनापछि बिकसित भएको जातीय छुवाछुत बिरुध्दको सामाजिक अभिमतहरु उस्ता उस्तै लाग्दछन । तर मानिसहरुले प्रक्षेपण गर्ने गरेको नियत र अभिष्टहरुमा भने ठूलो अन्तर छ ।

यता अमेरिकामा बिकसित भएको अभिमतको आधार समग्र वर्ग र वर्णका मानिसहरुको उदार चेतना, न्याय प्रतिको निष्ठा र संस्थागत विभेदको समूल अन्त्यको चाहना छ जहाँ “ब्लाक लाईभ्स म्याटर” भनिएपनि यो आन्दोलन सबै वर्णका चेतनशील न्यायिक वर्गको उपल्लो साथ र समर्थनमा अघि बढेको छ । तर नेपालको जातीय छुवाछुत बिरुध्दको आन्दोलनमा उपल्लो सम्भ्रान्त जाती, शासकवर्ग, शहरिया अवसरबादी आवादी, यथास्थितिबादी नव-धनाढ्य र तागाधारीहरुको असहयोग मात्र होइन संस्थागत प्रतिरोध समेत रहने गरेको छ । त्यो अहंकारबादी समुह न्यायिक ऐक्यबद्धताको लागि सांकेतिकरुपमा लेखिएको “दलित लाईभ्स म्याटर” जस्ता सामाजिक पोस्टहरुमा पनि प्रतिकारको शैली र भाषामा जाईलाग्दै भन्छन “ब्लाक लाईभ्स म्याटर” या “दलित लाईभ्स म्याटर” किन “एभ्री लाईभ्स म्याटर” ! यो भनाई भित्र ठूलो अभिष्ट र खेल लुकेको हुन्छ ।

उनीहरुले के बुझ्न जरुरी छ भने यस्ता न्यायिक आन्दोलन उसले गर्ने हो जसलाई राज्यले सदिऔंदेखि मानवोचित नैसर्गिक हक, अधिकार र सुबिधाहरु उपभोग गर्नबाट बन्चित र बर्जित गरेका हुन्छन ।  अमेरिकामा स्थापनाकालदेखि राज्यका हरेक अंगमा एकछत्र राज गरेका स्वेतहरुले “ह्वाईट लाईभ्स म्याटर” भनेर के को लागि आन्दोलन गर्ने ? अनि हाम्रो मातृभूमी नेपालमा पंचायतदेखि गणतन्त्र सम्ममा राज्यमा हालीमुहाली गर्न सक्षम भएका सत्ताधारी तागाधारीहरुले किन र के कोलागि “तागाधारी लाईभ्स म्याटर” भन्नु पर्यो ? उनीहरुको लाईभ त यसै पनि सुरक्षित र मालामाल नै छ नि होइन र ?

तपाइँको प्रतिक्रिया