सुनसान पेरिस !
यति खेर विश्व प्रसिद्द आइफल टावर वरिपरि खुट्टा राख्ने ठाउँ हुन्थेन । विश्वभरिका पर्यटकहरुको घुइँचो लाग्थ्यो । आइफल टावर नजिकको सेन नदी किनारबाट नदी छेउछाउको पेरिसको सुन्दरता हेर्न डुंगाको टिकट लिएर घण्टौ लाइनमा उभिनुपर्थ्यो । विश्व प्रसिद्द लुब्र पुस्तकालय घुम्न घण्टौं उभिएपछि बल्लतल्ल भित्र छिर्ने पालो आउँथ्यो । तर अहिले अवस्था फरक छ । यि पर्यटकिय आकर्षणहरु एक्ला भएका छन् । यिनले प्रत्येक दिन तान्न सक्ने लाखौं लाख पर्यटकहरुको मन कोरोनाको त्रासले भाँचिदिएको छ । खुच्याइदिएको छ । अहिले आइफल टावर त के विश्वको सुन्दर नगरि भनेर चिनिएको पेरिस शहरनै सुनसान छ । मासिक करिब ७५ लाख पर्यटकहरुको उपस्थिति सुन्य छ अहिले ।
अरु देशमा झैं फ्रान्समा अफ सिजन भन्ने हुँदैनथ्यो । फ्रान्स यस्तो देश हो जसले बाह्रै महिना बाह्रै काल पर्यटक तान्न सक्ने सौन्दर्यता बोकेको छ । यो शहरले जाडो, गर्मी, बादल, झरी, सुख्खायाम जहिलेपनि पर्टककालागि सुन्दरता बोकेको छ । झम्मझम्म झरि पर्दा होस वा यहाँका सडक, पुलपुलेसा र रुखसम्म हिउँले पुरिँदापनि यो शहरले पर्यटकहरुलाई आनन्द दिन्छ । तानिरहन्छ र आफूले आकर्षण गरेका पर्यटकलाई सुख र सुविधा दिन्छ । त्यो भन्दाबढि सुन्दरता दिन्छ । जता गएपनि फरकफरक खाले सौन्दर्यता खोलेर देखाइदिन्छ ।
विश्वका मानिसलाई हेरौं हेरौं लाग्ने रगत धमनी र नशाहरुमा बगाइदिन्छ पेरिस शहरले । पेरिसको सुन्दरताले प्रेममा नराम्रोसित फसाईदिने क्षमता राख्छ । पेरिस शहर एक्लैले वार्षिक चार करोड पर्यटकको मन लोभ्याउँछ । त्यसमापनि एक करोड ५० लाखले त आइफेल धरहरानै हेर्छन् । लुभ्र संग्राहलय एक्लैले ८० लाख पर्यटकको मन जित्छ । फ्रान्स यस्तो देश हो जहाँ सात करोड जनसंख्या भएपनि नौ करोड पर्यटक घुम्न आउँछन् । तर अहिले यि सबै यथार्थताहरु किस्सा बनेका छन् । पेरिस सुनसान छ !








