हामीलाई बचाई दिनुपर्यो, हामी बाँच्न चाहन्छौं
-दीर्घराज उपाध्याय
रातीको १२ : ३० बजेको छ । भारतको उत्तराखण्डको रुद्रपुरको सडकमा खुला आकाश मुन्तिर सयौं नेपाली लखतरान भएर पल्टिएका छन् । न उनीहरुले खान पाएका छन् । न त पानी पिउन ।
उनीहरु रुद्रपुरबाट ९० किमी हिडेर शुक्रवार राति खटिमा हुँदै कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथान पुगे । त्यहाँबाट नेपाल प्रवेश गर्न खोज्ने क्रममा भारतीय एसएसवीले उनीहरुलाई कुटपिट गरेर लखेट्यो । उनीहरु त्यहाँबाट बनबासा पुगे ।व्त्यहाँबाट पनि उनी पैदल हिडेर फेरि खटिमा पुगे । यसरी तिन दिन लगातार हिँडेका उनीहरुलाई शनिवार दिउँसो काँग्रेस आईका उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना र पानीको व्यवस्था भयो । महिना दिनपछि एकसाथ पानी र खाना पाएको यो पहिलो पटक थियो ।
दिनभरी त्यहाँबाट नेपाल फर्किने आसमा बसेका उनीहरुलाई राती भारतीय प्रहरीले बसमा कोच्यो । ४० जना अट्ने क्षमता भएको एउटै बसमा ९० जना राखेर बस हुईकियो । उनीहरुलाई प्रहरीले कहाँ लैजादैछ भन्नेसम्म जानकारी थिएन । साँढे ११ बजे बस रुद्रपुरमा रोकियो । र उनीहरुलाई सडकमा झारेर बस फर्कियो । यो त्यही ठाउँ थियो, जहाँ उनीहरुले झण्डै एक महिना बढि क्वारेन्टाईनमा बिताएका थिए । त्यसपछि उनीहरुलाई त्यहाँको प्रहरीले निकालेर बाहिर पठाएको थियो ।
तर त्यहाँबाट हिँडेर तिन दिनमा नेपालको सीमाना टेकेका उनीहरु सीमानाबाट फिर्ता गरेर, फेरि रुद्रपुर पुर्याइए ।
भोक र निरन्तरको हिँडाईले अत्यन्त गलेका उनीहरु एक पाईला पनि हिड्न सक्ने अवस्थामा थिएन् । उनीहरु कोहि रोईरहेका थिए । कोही झोक्राईरहेका थिए । कोही त भोक र थकानले बोल्न सक्ने अवस्थामा पनि थिएनन ।
हामी भित्रैबाट टुटीसक्यौं । अब त सामूहिक रुपमा मर्नु बाहेक हामीसँग कुनै उपाय छैन । डडेल्धुराको पर्शुराम नगरपालिका– १० कुर्मुल्लेका सुशिल जोशी यो भनिरहदा भक्कानिरहेका थिए । उनी राम्रोसँग बोल्न समेत सकिरहेका थिएनन ।
‘हामीलाई बचाई दिनुपर्यो, हामी बाँच्न चाहन्छौ ।’ उनी एकोहोरो यसो भनिरहदा छेउमा उनीसंगै रहेका उनका अरु साथीहरु पनि केन्द्रीय सरकारलाई हाम्रो समस्या सुनाई दिनुहोस । हाम्रा लागि महाकाली पुलका ढोका खोलिदिन सरकारसंग हामी बिन्ति गर्छौ ।
भारतीय प्रहरीले एक ठाउँबाट लखेटेर अर्को ठाउँ पुर्याउँछ । कतिखेर कहाँ पुर्याउँछ थाह छैन । जोशी सुनाउँदै थिए ‘न हामीले केही खान पाएका छौं । न त सुत्न । यति दिन त यसैगरी बाँच्यौ । अब त थाकिसक्यौं । गलिसक्यौं । भित्रैबाट टुटीसक्यौं । अब पनि नेपाल प्रवेश गर्न नपाए सामूहिक रुपमा यही मर्छौ ।
जोशीले रुद्रपुरमा यसरी भोकभोकै बिचल्लीमा पर्ने नेपालीको संख्या सात सय बढि रहेको सुनाए । उनी आफ्नै देशको सरकारले नहेरेका कारण भारतीय सरकारलेपनि हेपेको जोशीले गुनासो गरे ।
नेपाल सरकारसग उनले आग्रह गर्दै भने ‘कि हामीलाई नागरिक होईन भनिदेउ । कि हाम्रा लागि महाकालीको पुलको ढोका खोली देउ । हामी मर्नै परे, आफ्नै देशमा मर्न चाहन्छौं । पराई भूमिमा हामीलाई मर्न नदेउ ।’
उनीहरु सरकारले जति दिन भनेपनि क्वारेन्टाईनमा बस्न तयार रहेको सुनाउँछन् । भन्छन् ‘सरकारले जे जे भन्छ, त्यही मान्छौं । बिन्ति छ, हामीले देशभित्र आउन देउ ।’
(पस्चिम टुडे डट कमको रिपोर्ट)







