नेपाली शब्दकोष तयार पार्दाको प्राविधिक कठिनाई
–मारी क्रिषिचिन काबो
कम्प्युटर प्रविधिभन्दा पहिले मैले हरेक नेपाली शब्दको लागि कार्डको सूची बनाउँथें । तिनलाई बाक्सामा राख्थें । नेपाली भाषामा धेरै शब्द थिए । मैले धेरै टाढा बिचार गरेर काम शुरु गरें । नेपाली भाषामा स्नातकोत्तर गरेपछि शायद नेपाली फ्रान्सेली भाषाको शब्दकोष लेख्न सकौंला कि भन्दै शब्द जम्मा गर्न थालेकी थिएँ शुरुदेखि नै ।
जुन दिनबाट कम्प्युटर आयो । मैले टिपोट गरेका सबै कम्प्युटमा उतारें । अब त्यसलाई कसरि अक्षरको क्रम मिलाउने त भन्ने भयो । अनि मैले हरेक अक्षरलाई एउटा नम्बर दिएँ । १० बाट शुरु गरेर । अ लाई १० नम्बर राखे आ लाई ११ । यस्तै यस्तै गरेर । त्यसपछि मैले कम्प्युटरलाई नम्बरअनुसार मिलाएर राख्ने बनाएँ । त्यसो गर्दा नेपाली वर्णमालाका अक्षर अनुसार नम्बरसँगै श्रेणी पनि मिल्यो । श्रेणी मिलिसकेपछि कम्प्युटरलाई मैले नम्बर मेटाउन भनें । त्यसपछि सबै अक्षर त्यसैगरी वर्णानुक्रम अनुसार मिलाएँ ।
तर त्यो त्यति सजिलो थिएन । किनभने एउटा एकदम थोरै शब्द मानौं तीन अक्षरसहितको । उदाहरणका लागि हाल भन्ने शब्द । त्यसलाई ६६ नम्बर दिइएको छ । हालौं लाई १३ नम्बर । ल लाई ४० नम्बर । ६६, १३ र ४० नम्बर । त्यो नम्बर उति माथिल्लो होइन । तर शब्दकोषमा भने त्यो शब्द निकै पछाडि मात्रै आउने भयो । जबकि आशीर्वाद भन्ने शब्द धेरै लामो छ । त्यो शब्द वर्णमालाको शुरुमै भए पनि मैले दिने नम्बरको क्रमअनुसार त्यसले पाउने नम्बर छोटो हुन्छ । त्यसले फरक पार्दैन । मैले निकै लामो नाम पाउनेछु । यदि मैले नम्बर अनुसार क्रम मिलाउन खोजें भने हाल भन्ने शब्द आशीर्वाद अगाडि नै आउँछ । कसो गर्ने त ? मैले एउटा तरिका निकालें हरेक नम्बर अगाडि शुन्य (०) र कमा (,) राख्ने। त्यो गणितीय रुपमा व्याख्या गर्न त मलाई कठिन छ कसरी भनेर । तर त्यसले काम गर्यो । त्यसो गरेपछि आशीर्वाद ठिक ठाउँमा आयो । मैले सबै नम्बरअगाडि शून्य र कमा राखें । त्यसो गरेपछि आशीर्वाद ठीक ठाउँमा आयो । शून्य र कमा पनि आएका नम्बर डेसिमल थिए । जे होस्, नम्बरको अगाडि शून्य र कमा राख्ने तरिकाले वर्णानुक्रम मिलाउन सफल भएँ । मैले भनिहालें कि तिनलाई आफ्नो स्थानअनुसार राखिसकेपछि नम्बर हटाइदिएँ । अनि नेपाली आफ्नो क्रमअनुसार जसरी हुनुपर्ने हो त्यसरी भयो । त्यो १९९२, १९९३ तिर हो । यति भएपछि मैले आफूले लेख्नेजति र पढाउने सामग्रीको सबै हस्तपुस्तिका (मानुयल) जस्तो बनाउन सफल भएँ कम्प्युटरमै ।
शुरुमा मैले ५० पेज जतिको नेपाली फ्रान्सेली हाते शब्दकोष तयार पारेर विद्यार्थीलाई बाँडे । विद्यार्थी र म दुवै खुशी भयौं । त्यो देखेपछि मलाई कसैले भन्यो– तपाईंको शब्दकोषमा कसैले आँखा गाडेको छ । नक्कल गर्लान् सतर्क रहनुस् । त्यो बेलादेखि मैले हाते शब्दकोष बाँड्न छोडें । विद्यार्थीहरुले अति नै पश्चाताप मानें । गृहकार्य दिँदा मैले शब्दहरुको सूची दिन थालें उनीहरुलाई कठिन नहोस् भनेर ।
रुखबिरुवा र फूल, रोगव्याधी, चिकित्सकीय महत्वका वनस्पति सबै गरेर अहिलेसम्म १५ हजार मूल शब्द शब्द उतारेकि छु मैले । ती हरेक शब्दका फ्रान्सेली भाषामा अनुवाद गरिएको छ । त्यसपछि फ्रान्सेलीबाट नेपालीमा पनि फेला परोस् भनेर शब्दको सूचीका आधारमा शब्दको अर्थ फेला पर्ने बनाएकी छु । फ्रान्सेली शब्द हरेपछि खोजेको शब्द कुन पृष्ठमा भनेर थाहा हुन्छ । जस्तै काम भन्ने मूल शब्द फेला परेपछि काम गर्नु, काम खोज्नु, काम लाग्नु जस्ता सबै फेला पर्छन् । यो कुनै आम वैज्ञानिक प्रचलित तरिका नभएर मैले नै बनाएकी हुँ । त्यसैले मलाई के लाग्छ भने विश्वभिरका फ्रान्सेली भाषी (फ्रान्कोफोन) र विश्वभरिका नेपालीभाषी (नेपालोफोन) ले प्रयोग गर्न सक्नेछन ।
(मेरो प्रकाशोन्मुख पुस्तकको एक अंश) ।




