चीनिया राष्ट्रपति सि जिन पिङबाट नसिकि नहुने यि तिन शिक्षा
चीनिया राष्ट्रपती सि जिन पिङ भन्छन्-
म सानो छँदा ज्यादै स्वार्थी थिएँ । सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें । फलतः मलाई सबैले छोड्दै गए । साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ । सधैं अरुलाई दोष दिएँ । उनीहरूको निन्दामात्र गरें ।
जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो ।
एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाएर टेबुलमा राख्नुभयो । एउटा कचौरामाथि एउटा अन्डा थियो। अर्को कचौरामाथि अन्डा थिएन । बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो ।
उसबखत आक्कलझुक्कलमात्र अण्डा खाने अवसर जुर्थ्यो। चाडपर्वमा वा नयाँ वर्षमा । मैले सहजै अण्डा भएको कचौरा छानें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी भएर अण्डा खाएँ । मेरा बाबुले चाउचाउ खाँदै गर्दा उनको कचौराको पिंधमा चाउचाउमुनि दुइटा अण्डा देखियो । मलाई ज्यादै पश्चाताप भयो । आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफैंदेखि रिस उठ्यो ।
मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो — “प्रिय छोरो, तिमीले बुझ्नु पर्छ कि तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ ।”
अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाएर टेबुलमाथि राख्नुभयो । पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।
बाबुले मलाई भन्नुभयो “प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ ? रोज ।”
यसपटक म चनाखो भएँ । मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउचाउ खोतलेर हेरें । कचौराको पिंधमा एउटा पनि अण्डा थिएन । मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, “प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन । किनभने कहिलेकाहीं जीवनले धोखा दिन सक्छ । छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुनुहुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नुपर्छ । यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।”
मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउचाऊ पकाउनुभयो । एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो “प्रिय पुत्र,चाउचाउको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ ?”
यसपटक मैले बाबुलाई भनें — “बाबा, कचौरा तपाईं रोज्नुस् । तपाईं घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढि योगदान तपाईंकै छ ।”
मेरा बाबुले नाईनास्ती नगरी एउटा अन्डा भएको कचौरा छान्नुभयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें ‘पक्का पनि यसपटक मैले अण्डा गुमाएँ !’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिँधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें ।
मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, “प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छौ स्वाभाविक रुपमा तिम्रोपनि भलो हुनेछ ।”
त्यो दिनपछि मैले सधैँ मेरा बाबुले भन्नुभएका यि तीन कुरालाई जीवनमा अपनाएको छु । मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु । “
(द्रष्टव्य, यो कथा इन्टरनेटमा उपलब्ध अङग्रेजी स्रोतबाट नेपालीमा अनुबाद गरिएको यो कथा मिलु मेघको फेसबूकबाट लिईएको हो)





