फ्रान्समा गाईपालनबाट बोईङ र जेट विमानबाटभन्दा बढि आम्दानी

फ्रान्सका क्रिषी मन्त्री डिडिय गियोमले अप्रिल महिनाको दोस्रो साता युरोपेली परिषदका अधिकारिहरुसित सपर्क गरेर युरोपेली सहयोग मागे । कोरोना भाईरसको संकटले दुग्ध ब्यवशायीहरु धरापमा परेपछि क्रिषकहरुको दबाब धान्न नसकेर उनले युरोपेली युनियनको सहयोगको माग गरेका थिए ।

कोरोना भाइरस संकटको कारण यतिखेर बढ्दो उत्पादन र मागको सामाना गरिरहेका छन् फ्रान्सेली क्रिषकहरुले । कोरोना संकट उत्पन्न भएपछि दुध, क्रिम, न्याउनी, घिउ, आइसक्रिम र चिजको माग लगभग ठप्छ छ । तर कोरोना भाइरसको संक्रमण शुरुभए लगत्तै बसन्त ऋतु शुरु भएकाले गाईहरुले दुध उत्पादन धेरै गरिरहेका छन् । यसलाई कसरि सदुपयोग गर्ने भन्ने उनीहरुमा चिन्ता छ ।

फ्रान्सको क्रिषी मन्त्रालयका अनुसार फ्रान्समा ३५०० दुग्धजन्य पदार्थ (डायरी प्रोडक्ट्स) छन् । १५०० चिज बनाउने कंपनी छन् । कतिमा १६०० थरिका त चिजनै बन्छन् । फ्रान्सको चिज विश्वभरि जान्छ । विश्वमा सबैभन्दा बढि न्वाउनी र चिज प्रयोग गर्ने देश फ्रान्स हो । तर यसको मुख्य लक्षित ग्राहक पर्यटन क्षेत्र नै हो । फ्रेन्च न्वाउनी किन्ने सबैभन्दा ठूलो ग्राहक ईटाली र फ्रेन्च चिज किन्ने प्रमुख ग्राहक जर्मनी हो । हरेक उत्पादित १० लिटर दुध मध्ये चार लिटर त फ्रान्सले निकासीनै गर्छ । आफ्नो देशमा उत्पादित ६७ प्रतिशत दुग्धजन्य पदार्थ त युरोपेली मुलुकभित्रै निकासी गर्छ फ्रान्सले । फ्रान्सले वार्षिक साँढे ६ अरब युरो बराबरको त दुघजन्य पदार्थ निकासी गरेरै आय गर्छ । खासै चर्चा नभएपनि फ्रान्सको दुग्धजन्य उत्पादनले ठूला बोईङ र जेट विमानहरुको उत्पादनको हाराहारीमै कमाउँछ ।

तर दुधको उत्पादन लगातार भैरहने र खर्च घटन नसक्दा किसानहरु भने झन ठूलो मारमा परेका छन् । त्यस्तै मध्येका एक हुन् रेन क्षेत्रको कन्स्टेन्ट ह्यामेल डेरी प्रोडक्टका पास्कल जोईस । उनको क्रिषी फार्मले हरेक महिना ३५ हजारदेखि ४० हजार लिटर दुध उत्पादन गर्छ । उत्पादित सबै बजारमा पठाउन सकेका छैनन् । उत्पादित दुध सबै आफूले संग्रह गरेर राख्न सक्ने क्षमतापनि उनको छैन । उनले टेलिफोनमा भने “यहि हप्ता मात्रै मेरो तिन हजार लिटर दुध रोकियो । अब के गर्ने सोचिरहेको छु ।”

जोइसका अनुसार एउटै गाइले एकै दिन ८० देखि एक सय लिटर त पानीनै पिउँछ । ७० किलो घाँस र दाना प्रत्येक दिन चाहिन्छ । उनी जस्ता सयौं किसानले हजारौं गाई पालेका छन् । दाना दिनै पर्यो । भकारो सोहोर्नै पर्छ । रेखदेख गर्न मान्छे चाहिने नै भयो । बसन्त ऋतु शुरु हुन लागेकाले अहिले त झन गाइहरुलाई चरनमा लैजानु पर्छ । जोइस भन्छन् “गाई पाल्ने खर्च उत्ति छ । तर दुध, चिज, नौनीको बिक्रि स्वाट्टै घट्यो । यो बेला गाई बेचौं भनेपनि कतै बिक्रि हुन्न । सरकारले अनुदान दिएन भने त धेरै किसानको बिजोग हुने स्थिति छ ।”

क्रिषकहरुको अर्को समस्यापनि छ । हरेक क्रिषी फार्मले आफैं दुग्ध संकलन केन्द्रमा पुर्‍याउने गर्दैनन् । थुप्रै दुग्ध उत्पादकहरुको उत्पादन संकलन केन्द्रमा पुर्‍याउने गाडीहरु हुन्छन् । कहिलेकाहिँ डाईभर बिरामी भयो, भाईरस लाग्यो, सडकमा अन्य समस्या भयो भनेरपनि दुध लिन आउँदैनन् । यस्तो बेला क्रिषकहरुले दुध फाल्नुपर्ने अवस्था आउँछ । “जनस्वास्थ संकटकाल घोषणा गरेको अवस्था छ । यस्तो भो आउन सकिएन भन्यो भने हामीले केहि गर्न सकिन्न । दुध मिल्काउने हो” जोइसको भनाई छ ।

यो बेला नेपालमा जस्तै क्रिषकहरु यतापनि मारमै छन् । ठूला सुपरमार्केट खुलेपनि अत्यावस्यक वस्तु बाहेक अन्यको बिक्रि घटेको छ । पर्टन ब्यवशाय ठप्प भएकाले होटेल रेस्टुरेन्टमा पटक्कै जान्न । जर्मनी र ईटालीलेपनि चिज र न्वाउनी मगाउन छोडेका छन् । तर दुध बढि भो, किन्ने मान्छे भएनन् भनेर बाल्टीका बाल्टि मलखाद र सडकमा पोखेर सबैलाई बहादुरी देखाएका छैनन् । बरु उनीहरुले दुग्ध उत्पादन कसरि घटाउने र उत्पादितको सदुपयोग कसरि गर्ने भन्ने उपाय खोजेका छन् ।

क्रिषी मन्त्री डिडिए गियोमले क्रिषकहरुलाई दुग्ध उत्पादन् घटाउन, भण्डार गर्न सकिने दुग्ध उत्पादनहरु बढाउन र जनताले नखाईनहुने अत्यावस्यक उत्पादन बढाउन आव्हान गरेलगत्तै क्रिषकहरुले लामो समयसम्म भण्डार गर्न सकिने चिज, मखन, दुधको पाउडर आदि बढाउन थालेका छन् । कतिपय क्रिषकहरुले ब्रिद्दाश्रम, अनाथालय र स्वास्थ्यकर्मीहरुलाई सित्तैमा बाँडिरहेको पास्काल जोइस बताउँछन् । “गाईको दाना घटाएका छौं । त्यसले हाम्रो खर्च घटाएको छ र दुधपनि घटेको छ । तर उत्पादन घटाउने हो रोक्न त सकिन्न । त्यसैले अलि लामो समयसम्म राख्न सकिने उत्पादनमा जोड छ हाम्रो । फाल्नु भन्दा जनताको सेवा गर्ने डाक्टर र नर्सहरुलाई अस्पतालमै लगेर बाँडिरहेका छौं” जोइस भन्छन् “यो भाईरसले त पुरै ब्रहमाण्डलाईनै डुबायो नी । जोपनि समस्यामै छ । सरकारले सकेको गरौंला भनेको छ । केहि पाइसकेका त छैनौं । हामीलेपनि आफ्नो तर्फबाट कोसिस गरिराखेका छौं ।”

(समाचार स्रोत – कान्तिपुर दैनिक)

तपाइँको प्रतिक्रिया