कोरोना संक्रमणले फ्रान्सका १५ सय पत्रपत्रिका संकटमा
कोरोना भाईरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण फ्रान्सका राष्ट्रिय र क्षेत्रिय गरि करिब तिन सय दैनिक अखबारसहित १५ सय पत्रपत्रिका संकटमा परेका छन् ।
कोरोना भाइरससँगै उध्योग कलकारखाना र पर्यटन ब्यवशाय ध्वस्त भएकाले बिज्ञापन दिने संस्थाहरु बन्द हुँदा यहाँका दैनिक अखबारहरु संकटमा परेको फ्रान्सको मेडियाकर्मीहरुको संस्था जेनेरल इनफरमेशन अन प्रेस अलाईन्सले जनाएको छ ।
दैनिक अखबार र म्यागाजिन गरेर फ्रान्समा १५ हजार छन् । ति सबैको एक पटकको संस्करणमा १४ करोड प्रति छापिन्छन् । एक सय ३५ वटा दैनिक अखबारले प्रतिदिन कूल एक करोड २० लाख प्रति छाप्छन् ।
फ्रान्सका दैनिक पत्रिकाहरुको सिन्डिकेट ‘सिन्डिकेट अफ द नेसनल डेली प्रेस’का अध्यक्ष तथा ल फिगारो दैनिकका निर्देशक मार्क फुईएका अनुसार कोरोना भाईरसको संकटबाट उनका पाँच लाख ग्राहकहरु मारमा परेका छन् । क्षेत्रिय पत्रिकाहरुलाई अझ बढि असर परेको छ ।
पेरिस नर्मदी दैनिकका ब्यवस्थापकिय निर्देशक जिमोनेका अनुसार उनको पत्रिका बिभिन्न सात क्षेत्रबाट छुट्टाछुट्टै संस्करणमा प्रकाशित हुने गरेका थिए । कोरोना भाईरसको संक्रमण र हुलाक सेवापनि अबरुद्द भएपछि हाल एक क्षेत्रबाटमात्रै प्रकाशित भएको छ । “लकडाउनको बेला कोहि बाहिर निस्किन पाउन्न । घरघरै पुर्याइदिने माध्यम छैन । त्यसैले हाम्रा छ वटा क्षेत्रिय संस्करण रोकिएका छन्” उनको भनाई छ ।
फ्रान्सका अधिकांश पत्रपत्रिका हुलाकबाट पोष्ट गरिने हुँदा हुलाक सेवाले हप्ताको तिन दिन मात्रै सेवा खुम्च्याएकालेपनि पत्रपत्रिकाहरु संकटमा परेको अलाईन्सले जनाएको छ ।
“अखबारहरु राष्ट्रिय जिवनकालागि महत्वपूर्ण हो” भनिएपनि सरकार नियन्त्रित हुलाक सेवाले त्यसको आत्मसात नगरेको भन्दै मेडियाहरु संकटमा पार्ने गरिएको आरोप लगाएका छन् ।
फ्रान्समा हरेक कुनाकाप्चाका नागरिकसमक्ष सूचनाको हक स्थापित गर्न भन्दै सरकारले हुलाक सेवा (ला पोस्त) लाई वार्षिक १० करोड युरो अनुदान दिन्छ । सरकारबाट जे कामकालागि अनुदान लिएको हो त्यहि काम नगरेको भन्दै मेडियाहरुको संस्थाले हुलाक सेवा बिरुद्द हस्ताक्षर अभियान शुरु गरेका छन् । हालसम्म उक्त अभियानमा १२ हजार मेडियाकर्मीहरुले हस्ताक्षर गरिसकेका छन् ।
फ्रान्समा अधिकांश पत्रपत्रिकाका बिक्रेता कियोस्क, कफी सप र पत्रिका पसले हुन् । हाल धेरै कियोस्कहरु बैंकको कर्ता तिर्न नसकेर धराशाहि हुने अवस्थामा पुगेका छन् भने कफी पसलहरु सबै बन्द छन् । ग्राहकका घरघरमा पुर्याउने हुलाकले सेवापनि हप्तामा तिन पटक मात्रै दिने गरेपछि धेरै पत्रिका बन्द हुन सक्ने र त्यसले फ्रान्सेली स्वतन्त्रता, प्रजातन्त्र र पारदर्शितालाइनै ध्वस्त पार्न सक्ने चेतावनी प्रकाशक, सम्पादकहरुले दिएका छन् ।
ले एसोक र ल पारिजियाँ दैनिकका लगानीकर्ता पियर लुयतका अनुसार कोरोना भाइरसको संकट र हुलाकको सेवा अबरुद्दले उनका २० लाख ग्राहकहरुलाई मार परेको छ । आफूहरुले ति ग्राहकहरुलाई अनलाईन सेवा दिन खोजेपनि त्यसबाट ग्राहकहरु पूर्ण सन्तुस्ट हुन नसक्ने बताएका छन् । “हातैमा पत्रिका लिएर पढ्ने बानी परेकाहरुलाई अनलाइन पत्रिका पढाउन खोजेर सन्तुस्ट हुँदैनन्” उनको भनाई छ ।
नागरिकहरु क्वारेन्टाईनमा बसेका बेला फ्रान्सको बिभिन्न नगरपालिकाका मेयरहरुसित समन्वय गरि पत्रपत्रिकाहरु नगरपालिकामै पठाउने र त्यहाँबाट नगरपालिकाहरुले हिँडडुल गर्न नसक्ने र नपाउनेहरुको घरघरै पुर्याउने ब्यवस्थापनि शुरु गरिएको छ । “यो संकटपूर्ण अवस्थामा देशका कुनाकुनामा पुगेर मेडियाले हामीलाई सत्य सूचना दिएका छन् । यो बेला मेडियाको भूमिका झनै बढेको छ । त्यसैले नगरपालिकाहरुले प्रकाशनग्रिहहरुसित मिलेर पत्रपत्रिका घरघरै पुर्याउनुपर्छ’ यो अभियान शुरु गरेका डुङकिर्न नगरपालिकका गाब्रियल हारकुर भन्छन् । यो नगरपालिकाले प्रत्येक दिन दुई सय पत्रपत्रिका किनेर अभियान शुरु गरेको छ ।
फ्रान्सेली प्रकाशकहरुको अलाईन्सले स्वास्थ्य संकट घोषणा गरिएका बेला नागरिकका अधिकारहरु निस्क्रिय पारिएकाले देशभरि पत्रपत्रिकाको बितरणमा सरकारले अभिलम्ब कदम चाल्न आग्रह गरेको छ । भनेको छ “नागरिकका अधिकारहरु खुम्चिएका बेला स्वास्थ्य, प्रशासनिक काम र जनताको अधिकारको रक्षा र दूर्गममासमेत पुगेर सूचना दिने काम फ्रान्सेली मेडियाको हो । यसलाई सहज बनाउन नसके प्रजातन्त्रका सबै मापदण्ड खतरामा पर्न सक्छन् । “





