फ्रान्सेली जलसेनाका १०८१ सैनिकमा कोरोना संक्रमित
फ्रान्सेली जलसेनाका एक हजार ८१ जवानमा कोरोना भाईरस संक्रमित भएको छ । चार्ल्स द गोल नाबिक एरोनोटिक जहाजमा रहेका दुई हजार १० सैनिक सबैको कोरोना परिक्षण गरिएको थियो । सैनिकहरुमा कोरोनाका लक्षण देखिएपछि परिक्षण गर्दा एक हजार ८१ मा पोजेटिभ देखिएको रक्षामन्त्री फ्लोरेन्स पार्लीले सार्वजनिक गरेकि हुन् ।
राष्ट्रिय सभाको रक्षा सुरक्षा समितिमा रक्षामन्त्रीले बुझाएको रिपोर्ट अनुसार कोरोना संक्रमित एक हजार ८१ मध्ये ५४५ जनामा लक्षण देखिएको छ । अन्य २४ जना तुलोँस्थित सेन्ट आन मिलिटरी अस्पताल भर्ना गरिएका छन् भने एक जनालाई सघन उपचार कक्षामा भर्ना गरिएको छ ।
भाईरस नेगेटिभ देखिएका सैनिकहरुलाईपनि क्वारेन्टाईनमा राखिएको छ । परिक्षण गरिएका सबैको विस्त्रित रिपोर्ट भने तयार भैसकेको छैन ।
यो घटनापछि राष्ट्रिय सभाको विदेश मामिला, रक्षा र सशस्त्र बल समितिका अध्यक्ष सीनेटर, क्रिश्चियन क्याम्बनले रक्षा मन्त्री फ्लोरन्स पार्लीलाई सेनाहरु अपरेसनमा जानु अघि सैनिकहरूको व्यवस्थित जाँचबुझको आग्रह गर्ने संकेत दिएका छन् ।
“सैनिकहरूले आफ्नो मिशनमा प्रस्थान गर्नु अघि आफ्नो सुरक्षा र अपरेशनल दक्षताको लागिपनि परीक्षण गरेर किन फाइदा गर्दैनन् भन्ने बुझ्न सकिएन” उनले भने ।
मिशनमा खटिएका सैनिकहरुमा कोरोना भाईरसका लक्षणहरु देखिएपछि मिशन पुरा हुनुभन्दा दुई हप्ता अघिनै फर्कीएका थिए । निरन्तर समुद्रि यात्रामा रहेका सैनिकहरुमा कसरि कोरोना भाइरस संक्रमण भयो भन्ने रहस्यमय रहेको जनाईएको छ ।






