फ्रान्समा अझै एक महिना लकडाउन

                 फ्रान्स मे ११ सम्म लकडाउन

ददि सापकोटा

पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय हासिल गर्न लकडाउन लम्ब्याउनु जरुरी भएको उनले बताए ।

म्याक्रोंले कोरोना संक्रमित पत्ता लगाउन आम नागरिकको स्वास्थ्य परीक्षण गराउने र मे ११ सम्म अनिवार्य रूपमा मास्क लगाउनु अनिवार्य भएको पनि घोषणा गरेका छन्।
मे ११ पछि भने लकडाउन खुकुलो पारिने राष्ट्रपति म्याक्रोंले बताएका छन्। लकडाउन खुकुलो पार्ने पहिलो चरणमा चरणमा उद्योग, कलकारखाना, सामाजिक संस्था, प्राथमिक पाठशाला, नर्सरी, माध्यामिक विद्यालय र प्लस टूसम्मका कलेज खोलिने छन्। स्कुल र कलेज खुल्नाले बालबालिका स्कुल जाने र तिनका अभिभावक काममा जान पाउने हुँदा बिस्तारै रोजगार संरक्षण र अर्थतन्त्र धान्न सहयोग पुग्ने उनको भनाइ छ।

विश्वभरिका मानिसहरूले कोरोना भाइरसविरुद्ध युद्ध लडिरहेकाले फ्रान्सेलीहरूले पनि राष्ट्रको सबै सामर्थ्य लगाएर यसमाथि विजय हासिल गर्नुपर्ने उनले बताए।

राष्ट्रपति म्याक्रोंले फ्रान्समा थप १० हजार भेन्टिलेटरको व्यवस्था पनि जानकारी दिएका छन्।

कोरोना भाइरसको प्रकोपले हाल ८० लाख नगरिक बेरोजगार बनेकोले उनीहरूलाई सरकारले भत्ता दिने र बन्द भएका उद्योग, कलकारखानालाई आर्थिक सहयोग गर्ने पनि राष्ट्रपतिले घोषणा गरेका छन्। खाद्य र कृषिमा संकट आउन नदिन युद्धकालझैं उत्पादन बढाउने पनि उनले बताए।

‘हामीले हाम्रा प्रयासहरूलाई आदर गर्नै पर्छ। जति तिनको पालना गर्यौं उतै धेरैको जीवन बचाउन सकिन्छ। त्यसैले लकडाउनको अवधि मे ११ सम्म बढाउनु जरुरी छ र यो समयमा लकडाउनलाई कडाइकासाथ सबैले पालना गर्नुपर्छ,’ म्याक्रोंले भने।

कोरोना भाइरस के हो भन्ने स्पष्ट भइनसकेको र विश्वभर यो रहस्यपूर्ण नै रहेकाले पनि विशेषज्ञहरूको सुझावलाई आदर गरेर क्वारेन्टाइनमा बस्नु र रोग निरोधक क्षमता बढाउनु नै स्वास्थ्य सुरक्षाको उपाय भएको उनले उल्लेख गरे। कोरोना भाइरसको प्रकोप सबै मुलुकलाई परेको बताउँदै म्याक्रोंले कमजोर मुलुकहरूलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

यसैबीच देशको अर्थतन्त्र र बेरोजगारीलाई धान्न नाफामा गएका ठूला उद्योग तथा कलकारखाना निश्चित अवधिका लागि सरकारीकरण गर्न राष्ट्रपतिका आर्थिक सल्लाहकारहरूले सुझाव दिएको ‘टीएफ वान’ टिभीले जनाएको छ।

फ्रान्समा मंगलबारसम्म १ लाख ३७ हजार ८ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएकोमा १४ हजार ९ सय ८६ जनाको मृत्यु भइसकेको छ भने २८ हजार १ जना निको भएका छन्। प्रकाशित : वैशाख २, २०७७ ०७:४८

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया