पेरिस क्षेत्रका अस्पत्तालहरु ४८ घण्टामा भरिने चेतावनी

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र ईल द फँसका सबैजसो अस्पत्तालहरु लगभग ४८ घण्टाभित्रमा भरिने चेतावनी दिईएको छ । वरिपरिका अन्य प्रान्तहरुले सहयोग गरेर पेरिस र यस वरिपरिका अस्पत्तालमा सार्ने ब्यवस्था नमिलाए कोरोना भाईरसका विरामीको चाप धान्नै नसक्ने चेतावनी फेडेरेसन अफ फ्रेन्च हस्पिटल्सका अध्यक्ष फ्रेदेरिक भाल्तुले शुक्रबार दिएका हुन् ।

‘अबको २४ देखि ४८ घण्टामा पेरिस र इल द फँस क्षेत्रकै अस्पत्तालहरु भरिने हाम्रो अनुमान छ । वरिपरिका प्रान्त र अस्पत्तालहरुले सैक्यबद्दता जनाएर विरामीको उपचार संख्या बढाउने र स्थानान्तरण नगरे धान्न सकिने छैन” उनले भने “हामी झन ठूलो महामारीतर्फ अगाडि बढिरहेका छौं । हरेक अस्पत्तालले आफ्नै क्षमता अनुसार काम गरोस, हाल प्राप्त सुविधा अनुसार विरामीको उपचार गरोस् भनेर छोडिदिने हो भने यति ठूलो समस्यामा फस्ने छौं कि त्यो हाल सोच्नपनि सकिन्न ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक जेरोम सालोमोनले पेरिस र समग्र इल द फँसको अस्पत्तालहरुको ब्यवस्थापननै मुख्य तनावको विषय भएको बताएका छन् । उनले यहाँको अवस्था गम्भिर रहेकाले सघन उपचार कक्ष र अस्पत्तालमा बेडहरु तिब्ररुपमा बढाउनुपर्ने उल्लेख गरे । ईल द फँस क्षेत्रका अस्पत्तालहरुमा बेडको संख्या दोब्बर पुर्‍याइसकेपनि अझै विरामीको चाप धान्न सक्ने अवस्थामा नरहेको बताए ।

तपाइँको प्रतिक्रिया