कोरोना संक्रमणबाट फ्रान्समा १६ वर्षीया किशोरीको मृत्यु

ददि सापकाेटा

पेरिस — कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक हुन् ।

‘यसले पाका उमेरका मानिसलाई मात्रै आक्रमण गर्छ भन्ने विश्वासलाई झुटो सावित गरिदिएको छ । ‘यो म्युटेन्ट भाइरसले जसलाई पनि समात्न सक्छ,’ जुलीकी दिदी मानोनले फ्रान्सेली सञ्‍चारमाध्यमसँग भनेकी छिन् ।

मानोनका अनुसार जुलीलाई अघिल्लो हप्ता सामान्य खोकी लागेको थियो । यस हप्ता त्यो खोकी बढेर गएपछि सोमबार चिकित्सककहाँ लगे । श्वासप्रश्वासमा समस्या देखिएको चितित्कसले पत्ता लगाए । त्यसअघि जुलीमा कुनै गम्भीर रोग कहिल्यै देखिएको थिएन ।

चिकित्सकले तत्कालै एसोन क्षेत्रको लँजुमोस्थित अस्पत्तालमा भर्ना गर्न पठाए । राति उनको स्थिति झन बिग्रिएपछि मंगलबार साँझनै पेरिसको नेकेर अस्पताल स्थानान्तरण गरियो । उनलाई कृत्रिम पद्धतिबाट श्वास फेर्न सजिलो बनाइयो । मंगलबार राति नै चिकित्सकहरुले उनको फोक्सोले काम नगरेको जानकारी दिए । उनको स्वास्थ्य एकदमै छिटो झनै बिग्रियो । चिकित्सकहरुले सबै प्रयास गरेपनि उनको शरीरले पचाउन नसकेर मृत्यु भएको जानकारी दिदी मानोनलाई दिए ।

सोमबार उनको अन्तिम संस्कार गरिनेछ । कोरोना भाइरसको प्रकोपपछि सरकारले अन्तिम संस्कारमा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम बनाएको छ । मे ४ मा उनको स्कुल खुलेकै दिन रातो र सेतो रङका लुगासहित एक मिनेट मौन धारणपछि मार्च पास गरिन छ । जुली हँसिली र रसिली स्वभावकी भएकाले त्यसको प्रतिनिधित्वमा सेतो र उनको मनपर्ने रङ रातो भएकाले यसरी सम्झना गर्न लागिएको हो ।
(साभार – कन्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया