“लोक गायिकामाथि दूर्ब्यवहार भएको छैन” कँडेल

बेलायतमा आफ्नो कला प्रस्तुत गर्न गएकी लोक गायिका भूमिका शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका सदस्य प्रकाश कँडेलले आफूमाथि दुर्व्यवहार भएको भन्ने समाचारको कँडेलले खण्डन गरेका छन् । नेपालप्लसले मार्च १३ मा उनको आरोपबारेको समाचार उनले सार्वजनिक गरेको भ्डियोसहित ‘एन आर एन बेलायतका सदस्य र पत्रकारद्वारा लोक गायिका शाहमाथि दुर्ब्यवहार (भिडियो सहित)’ शिर्षकमा प्रकाशित गरेको थियो ।

शाहले मेगा टिभीको एक अन्तर्वार्तामा हालै भएको बेलायत भ्रमणको क्रममा कँडेलले आफू माथि दुर्व्यवहार गरेको बताएकी थिईन । तर कँडेलले उनको भनाईको खण्डन गर्दै उनको आरोप पुरै झुट्ठा, आधारहीन र भ्रामक रहेको बताएका छन् ।

प्रकाश कँडेलले नेपालप्लसलाइ पठाएको खण्डनमा निज भूमिका शाहले लन्डनको चार्ल्टनमा आयोजना हुन गइरहेको एक कार्यक्रममा आफ्नो प्रस्तुति राख्न आफूलाई अनुरोध गरेको तर कार्यक्रममा पहिले नै अन्य कलाकारहरुलाई समय दिइसकेकोले आफूले त्यसमा केही सहयोग गर्न नसक्ने उनलाई बताएको उल्लेख गरेका छन् । त्यसैलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर एउटा सार्वजनिक संचार माध्यमबाट आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि नै आँच पुग्ने गरी अन्तर्वार्ता दिने काम गरेको भन्दै उनले त्यसप्रति खेद व्यक्त गरेका छन् ।
शाहलाई आफूले उनलाई आफ्ना भनाइ सच्याउन आग्रह गरेको र त्यसो नभए नेपालमै कानूनी उपचार खोज्न वाध्य हुने जानकारीसमेत गराएकोपनि खण्डनमा उल्लेख छ ।

उनको खण्डन हेर्नुस्

श्रीमान सम्पादक ज्यू,

नेपाल प्लस अनलाइन पत्रिका

महोदय,

उक्त विषयमा “एनआरएन बेलायतका सदस्य र पत्रकारद्वारा लोकगायिका शाहमाथि दुर्ब्यवहार (भिडियो सहित)” शिर्षकमा तपाईंको लोकप्रिय अनलाइन पत्रिकामा प्रकाशित समाचार पुरै झुट्ठा, आधारहीन र भ्रामक भएकाले यो खण्डन पठाएको छु। कृपया प्रकाशित गरिदिनु हुन अनुरोध गर्दछु।

१.समाचारमा उल्लेख गरिएको “मेगा टिभीको एक अन्तर्वार्तामा लोक गायिका भूमिका शाहले हालै भएको बेलायत भ्रमणको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका सदस्य प्रकाश कँडेलले आफू माथि दुर्व्यवहार गरेको” भन्ने भनाइ पूर्वाग्रहपूर्ण र झुट्ठा छ। निज भूमिका शाहले लन्डनको चार्ल्टनमा आयोजना हुन गइरहेको एक कार्यक्रममा आफ्नो प्रस्तुति राख्न मलाई अनुरोध गरेकी थिइन् । तर कार्यक्रममा पहिले नै अन्य कलाकारहरुलाई समय दिइ सकेको थियो। त्यसैले मैले त्यसमा केही सहयोग गर्न नसक्ने उनलाई बताएको हुं । त्यो विषयलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर एउटा सार्वजनिक संचार माध्यमबाट मेरो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि नै आंच पुग्ने गरी अन्तर्वार्ता दिने काम प्रति म खेद व्यक्त गर्दछु। मैले उनले आफ्नो भनाइ सच्याउन आग्रह गरेको छु। त्यसो नभए नेपालमै कानूनी उपचार खोज्न वाध्य हुने जानकारी पनि गराउन चाहन्छु।

२.म बेलायत आए देखि नै सामाजिक र संचार क्षेत्रमा सक्रिय रहँदै आएको छु। गत वर्षको निर्वाचन मा म एनआरएन युकेको कार्य समिति सदस्य पदमा अत्यधिक मतले निर्वाचित भएको र लन्डनको एक लोकप्रिय संचार माध्यम लन्डननेपालन्युजडटकम संग आवद्ध रही पत्रकारिता गर्दै आएकोमा बेलायतस्थित नेपाली समुदायप्रति मेरो निस्वार्थ सेवाभाव देखेर इर्ष्या गर्ने केहि व्यक्तिहरुले भूमिकालाई प्रयोग गरी म विरुद्ध यस्तो प्रचार अभियान चलाएको मेरो ठहर छ।  यस्तो षड्यन्त्रबाट म विचलित हुने छैन। आफ्नो क्षमताले भ्याएसम्म समुदायको सेवा गरि नै रहने छु, सत्य र तथ्य समाचार प्रसारणमा डटीरहने छु।

३. म बेलायतमा वैधानिक रुपमा रहेको छु र म गैरकानुनी चन्दा संकलन लगायत कुनै पनि अवैध गतिविधिमा संलग्न छैन। त्यस्तो आरोप लगाउने व्यक्तिहरुलाई तिनको आरोप पुष्टि गर्न चुनौती पनि दिन चाहन्छु।

धन्यवाद

प्रकाश कंडेल

सदस्य, एनआरएनए युके तथा

पत्रकार

लन्डन

तपाइँको प्रतिक्रिया