कोरोना प्रभाव : फ्रान्सका होटेल, रेस्टुरेन्ट र बारहरु अनिश्चितकालका लागि बन्द
पेरिस — कोरोना भाइरस संक्रमणबाट बच्न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नागरिकहरुको स्वास्थ्यकालागि सकेसम्म आवतजावत र भेटघाटलाई कम गर्न यस्तो निर्णय लिइएको फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बताएका छन्। सरकारी टेलिभिजनमार्फत शनिबार साँझ प्रधानमन्त्री एडुवार्डले यस्तो घोषणा गर्दै अस्पताल, फार्मेसी, पेट्रोल पम्प र खाद्य स्टोर भने खुला रहने बताए।
फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या द्रुतगतिमा बढेपछि नियन्त्रण गर्न यस्तो निर्णय गर्नु परेको उनले बताए। फ्रान्समा आइतबार बिहानसम्म ९१ जनाको मृत्यु भएको छ भने चार हजार५ सय ब्यक्ति संक्रमित छन्।
कोरोना भाइरस संक्रमणपछि रोजगारविहीन भएकाहरुमध्ये करिब ७० हजारले सरकारी भत्ताका लागि आवेदन दिएको फ्रान्सेली सञ्चारमाध्यमहरुले जनाएका छन्।होटेल, बार, सिनेमा, नाईटक्लब र अन्य पसलहरु बन्द गर्ने निर्णयले फ्रान्सेली सरकारलाई खर्बौंको भार थपिने भएको छ। ब्यापार बन्द गरेर बस्नुपर्ने व्यापारी, उध्योगीहरुका लागि सरकारले विशेष सहयोग घोषणा गर्ने बताए पनि खुलाइएको छैन ।
भाइरस संक्रमित हुने उच्च संभावना हुँदाहुँदै पनि सार्वजनिक स्थलमा मानिसहरु जम्मा हुन नछाडेकाले त्यसबाट एक अर्कामा अझ बढी संक्रमित हुन सक्ने डरले सरकारले यस्तो निर्णय गर्नुपरेको पनि प्रधानमन्त्री एडुवार्डले प्रस्ट पारेका छन् ।
फ्रान्सले यस अघिनै सोमबारबाट लागू हुने गरी सम्पूर्ण शैक्षिक संघसंस्थाहरु बन्दको घोषणा गरिसकेको छ। आइतबार घोषणा गरिएको स्थानीय तहको निर्वाचन भने जारी राख्ने फ्रान्सका प्रधानमन्त्री एडुवार्डले बताए।