फ्रान्समा कुम जोड्ने सांसदलाई संसद भवन छिर्न निषेध

कोरोना भाईरसको संक्रमण हुनसक्ने अशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद भवन छिर्न निषेध गरिएको छ । फ्रान्सको वाज प्रान्तमा पर्ने क्रेपी अँ भाल्वाका मेयरमा कूरोना भाईरस देखिएको र उनीसित कुम जोडेकोले वाज प्रान्तका सांसद पियर भाताँसहित दुई जनालाई माथिल्लो सदनमा छिर्न रोकिएको हो ।

क्रेपी अँ भाल्वाका मेयर ब्रुनो फोर्तियसित बैठक बस्दा कुम जोड्ने र हात मिलाउने गरेकोले आफूमापनि कोरोना सरेको हुनसक्ने भयले संसदमा उपस्थित हुन नहुने तर्क आफूलाई उचित लागेको वाजका सांसद पियर भाताँले ट्विटरमार्फत जानकारि गराएका छन् । ‘मेयर ब्रुनोसित बैठक बस्दा हात मिलाएँ । कुम जोडें । उनलाई कोरोना भाईरस लागेको पछि थाह भयो । उनीबाट संक्रमित हुन सक्ने भएकोले म लगायत हाम्रो क्षेत्रका अन्य एक सांसदलाई संसद नछिर्न भन्नु जायज हो, हामीले सार्वजनिक स्वास्थ्यकोलागि हेक्का राख्नुपर्छ’ उनको भनाई उध्रित गर्दै संसदको वेभसाईटमा उल्लेख गरिएको छ ।

फ्रान्सको संसदले कुनैपनि राजनितिज्ञहरुलाई हात मिलाउने, कुम जोड्ने, चुम्बन गर्ने लागयतका शारिरिक निकटता नदेखाउन आव्हानसमेत गरेको छ ।

मास्कमा कालोबजारि

कोरोना भाईरस लागे लगत्तै फ्रान्समा मास्क र हाईड्रोअल्कोलिक जेलको मूल्यमा कालोबजारि भएको छ । बितरक र ब्यापारीहरुले मास्क र हाईड्रोअल्कोलिक जेल हुँदाहुँदैपनि बजारमा अभाव भएको देखाएर चर्को मूल्य असुलेका छन् । सर्वसाधारण र स्वास्थ्य क्षेत्रका बिज्ञहरुबाट ब्यापक गुनासो आएपछि फ्रान्सेली अर्थमन्त्री ब्रुनो ल मेरले सरकारले बितरकहरुसहितको बैठक राखेका थिए । कोरोना भाईरस फैलिएपछि मास्क र हाईड्रो अल्कोहोलिक जेलमा ब्यापक मूल्य बढेको आफ्नो जानकारिमा आएको भन्दै बितरकहरुलाई मूल्य नबढाउन, अभाव स्रिजना नगर्न निर्देशन दिएका छन् । उनले यसको आदर नगरे कडा कारवाहि गर्ने चेतावनीपनि दिएका छन् ।

(कान्तिपुरबाट साभार)

तपाइँको प्रतिक्रिया