चीनबाट आउने फ्रान्सेलीलाई छुट्टै गाउँमा राखिने

पेरिस — चीनबाट आफ्नो देश फर्किने नागरिकलाई फ्रान्स सरकारले छुट्टै गाउँमा राख्ने भएको छ । कोरोना भाइरस लागेको हुनसक्ने आशंकाले चीन, खासगरि वुहानबाट फ्रान्स फर्किनेहरुलाई भिल सुर मेर समुद्रीतटको काल्बादोस गाउँमा राखिने भएको हो ।

शुक्रबार वुहानबाट करिब तीन दर्जन फ्रान्सेलीहरु फ्रान्स फर्किँदै गरेकाले उनीहरुलाई अन्य कतै सम्पर्क हुन नदिनेगरि त्यहाँको होलिडे सेन्टर गाउँ खाली गरेर राखिने भएको हो । फँस ब्लु नोरमदी अखबारका अनुसार परिवारको संख्या हेरेर उनीहरुलाई एक अर्कासित सम्पर्क नहुनेगरि छुट्टाछुट्टै घरमा राखिने छ । कोरोना भाइरस लागे–नलागेको यकिन गर्न दिनको दुईपटक कम्तिमा दुई हप्तासम्म उनीहरुको परिक्षण गरिने छ ।

उनीहरुलाई अलग्गै राख्न घना बस्तीभएको दोभिल र काबुर्गबाट १५ किलोमिटरको दूरीमा रहेको काल्भादोस गाउँको करिब १२ हेक्टर जमिनको होलिडे सेन्टर खाली गरिएको हो । त्यहाँ रहुन्जेल उनीहरुलाई खेलकुद, व्यायाम लगायतका सुविधासहितका घरहरुको व्यवस्था गरिएको नोर्मदीको स्वास्थ्य विभागले बताएको छ ।

यसअघि पनि फ्रान्स सरकारले चीनबाट आएका अन्य फ्रान्सेलीहरुलाई बाहिरी संसारसित सम्पर्क नहुनेगरि बुस दु रोनको एक छुट्टै गाउँमा राखेर परीक्षण गरेको थियो ।

फ्रान्समा हालसम्म कोरोना भाइरसबाट एक जनाको मृत्यु हुनुको साथै १२ जनामा कोरोना भाइरस फेला परेको छ । चीनको हुबेइ प्रान्तबाट युरोप घुम्न आएका ८० वर्षीय चिनिँया पर्यटक पेरिसस्थित विसा क्लोद बेर्ना अस्पतालमा उपचारकाक्रममा गत शनिबार मृत्यु भएको थियो ।

(फाल्गुन ८, २०७६ कान्तिपुरबाट साभार)

तपाइँको प्रतिक्रिया