फ्रान्सेली मेयरलाई ढाकाटोपी पहिरिदिएर नेपाल घुम्ने निम्तो

फ्रान्सको एसोन क्षेत्रमा पर्ने भिन्यु सुर सेनका मेयर थोमस साजेलले आफू नेपाल घुम्न आतुर रहेको बताएका छन् । मंगलबार एसोनको द्राभाई शहरस्थित ‘ल मेजोँ द हिमालय’ (द हिमालयन हाउस) मा नेपाली खाना चाख्न आएका बेला उनले शिरमा नेपाली ढाकाटोपी लगाउँदै नेपाल घुम्न आतुर रहेको बताएका हुन् ।

उनले नेपाली खाना चाख्न र नेपालबारे चासो राख्न आफ्नो नगरपालिकाको आफ्नो कार्यकारी टोलीलाईपनि सँगै ल्याएका थिए । थरि थरिका नेपाली खाना चाख्दै गरेका बेला उनले भने ‘ओहो नेपाली खाना यस्तो विशिष्ठ स्वादको रहेछ । तपाईहरुको नेपाली खानाले मलाई नेपाल घुम्न आतुर बनायो ।’

मेजोँ हिमालयमा राखिएका नेपालका हिमाल पुमोरी, अन्नपूर्ण, धौलागिरिका मकालुमा तस्विर खिचाउँदै उनले नेपालका हिमाल हेर्न चाहेकोपनि बताए ।

नेपालबारे सुनेपनि नजिकबाट अहिलेसम्म ननियालेको बताउँदै उनले भने ‘म मेरो टोलीसित नेपाल घुम्न चाहन्छु, तपाई नेपालीहरुले सहयोग गर्नुपर्छ ।’ उनलाई द मेजोँ द हिमालयका नेपालीले सन् २०२० लाई नेपालले भ्रमण वर्षका रुपमा घोषणा गरेकाले उनको नगरपालिकाका नागरिकहरुलाई नेपाल भ्रमण गराउन  भूमिका खेलिदिन आग्रह गरेका थिए । प्रतिउत्तरमा मेयरले भने ‘ फ्रान्सेलीहरु नेपाल भनेपछि हुरुक्क हुन्छन् भन्ने मलाई थाह छ । म आफैलाई नेपाल घुम्न रहर लाग्यो । हाम्रो टोलीलाई नेपाल भ्रमणकोलागि सहयोग गर्नुहोस । हामी नेपाल जान चाहन्छौं’।

(साभार – कान्तिपुर दैनिक)

तपाइँको प्रतिक्रिया