भरतपुर महानगरपालिका प्रमुख रेणु दहालको बेल्जियम भ्रमण, हात्ती आयो हात्ती आयो फुस्सा

बेल्जियमका बिभिन्न गाउँ र भरतपुर उपमहानगर पालिकासित भगिनि संवन्ध गाँस्ने, फोहोर मैला ब्यवस्थापन लगायतका केहि विषयमा साझेदारी गर्ने भन्दै भरतपुर नगरपालिका मेयर रेणु दहालको नेत्रित्वमा बेल्जियम आएको प्रतिनिधी मण्डल बिना उपलब्धी नेपाल फर्किएको छ । सरकारी भ्रमण भन्दै बेल्जियममा आयोजना गरिएका बैठकहरुपनि एकाएक रद्द गरेर टोली सोमबार नेपाल फर्कियो ।

बेल्जियमको एन भि ए पार्टीका तर्फबाट यो भ्रमण दलको संयोजन गर्ने काम ग्रोबेन्दोङ नगरपालिकाका संगठन प्रमुख नेपाली मूलका क्रिष्ण रेग्मीले लिएका थिए ।

एन भि ए पार्टीका तर्फबाट गरिएको निम्तापत्रमा रेणु दहाल, उपमेयर पार्वती शाह, ईन्जिनियर रत्न प्रसाद लामिछाने, हरि प्रसाद भण्डारी लगायतको टोलीले बेल्जियमको रान्स्ट, ग्रोबेन्डोन्क, कोन्टिक, आन्तर्पेनको भ्रमण गरि नगरपालिकाका समकक्षीहरुसित वार्ता गर्ने उल्लेख छ । भ्रमणका क्रममा यि नगरपालिकाहरुसित द्विपक्षिय संवन्ध बिस्तार गर्ने, भरतपुर नगपालिकामा लगानीका लागि नेपाली समूदायसित मिलेर छलफल गर्ने र निकट भविष्यमा भरतपुर उपमहानगरपालिकासित द्विपक्षिय भगिनी संवन्ध राख्न सहयोग पुग्ने जनाईएको छ ।

बेल्जियम्का यि नगरपालिकाहरुसितको बैठक यहि डिसेम्बर १३ र १४ का दिन तय गरिएको थियो । तर भरतपुर नगरपालिका प्रमुख रेणु दहालले अन्तिम अवस्थामा स्विजरल्याण्ड भ्रमण गर्न जाने भन्दै बैठक रद्द गरेकोमा रेग्मीले दुख ब्यक्त गरे । डिसेम्बर १३ का दिन आन्तर्पेन प्रान्तका प्रमुख लुक लेमन्ससित राखिएको बैठक १० मिनेट पहिले रद्द गरि भरतपुर नगरपालिकाको भ्रमण टोली स्विजरल्याण्ड हिँडेको र त्यसपछिका सबै भ्रमण रद्द गर्नुपर्दा आफूलाई अप्ठेरो परेको गुनासोपनि उनले गरे ।

भ्रमणपूर्व बेल्जियमका पाँच वटा नगरपालिकाका उच्च अधिकारी, फ्लामिस प्रधानमन्त्री, युरोपेली परिषदकोको ईसिआर ग्रुपकी उपाध्यक्ष, प्रभिन्स प्रमुख र वेल्जियमको सवैभन्दा ठूलो दलका अध्यक्ष वार्थ द वेभरसंग धेरै महत्वपूर्ण वैठक र कार्यशालाको व्यवस्थापन गरेको सार्वजनि गरिएको थियो । रेणु दहालको टोलीसित फलामिस प्रधानमन्त्री यान याम्वोनले भेट गरेकापनि थिए । भेटमा प्रधानमन्त्री याम्बोनले नेपाली टोलीलाई ‘हामी तपाईहरुलाई कसरि कुन क्षेत्रमा सहयोग गर्न सक्छौं ? तपाईहरुका प्राथमिकता के के हुन् ?’ भनेर सोधेका थिए ।

बेल्जियम भ्रमणका लागि बेल्जियम दुतावासबाट भिसा माग्दा डिसेम्बर १२ र १३ का दिन महत्वपूर्ण बैठक हुने भन्दै तालिका बुझाईएको थियो । तर आन्तर्पेन प्रात्न्तका प्रमुख लुक लेमन्ससित राखिएको दिउँसो डेढ बजेको कार्यक्रम एकाएक रद्द गरिएपछि बाँकि सबै कार्यक्रम रद्द भएका थिए । त्यसपछि भ्रमण टोली स्विजरल्याण्डको भ्रमणमा हिँडेको थियो । ‘बेल्जियम भ्रमणको उपलब्धी के भयो ?’ भन्दै मेडियाहरुले सोधेको प्रश्नमा रेणु दहालले ‘आफूहरुले यहाँका विकास र संरचनाहरु देख्न र बुझ्न पाएको’ जवाफ दिएकि छन् । उनले यो भ्रमण प्रधानमन्त्री कार्यलयबाट पास गराएकोले सरकारी स्तरको भएको र भ्रमणको सम्पूर्ण खर्च बेल्जियमबाटै ब्यहोरिएको दाबीपनि गरेकि छन् ।

बेल्जियमका नगरपालिकाका अधिकारी र अन्य उच्च ब्यक्तित्वहरुसित राखिएका बैठक रद्द गरेपनि रेणु दहाल अन्य नेपाली संस्थाका कार्यक्रममा उपस्थित भएकि थिईन । त्यसबाहेक उनले आफ्ना पार्टीका स्थानिय नेता, भात्रि संगठनका कार्यकर्ताहरुसित भेटघाट र स्विजरल्याण्डमा हिउँ खेलेर रमाउन पुगिन ।

‘तपाईहरुले बेल्जियमका बिभिन्न नगरपालीका र भरतपुर उपमहानगरपालिकाबिच भगिनि संगठन बनाउने, नेपाल र बेल्जियमका केहि गाउँलाई मित लगाएर द्विपक्षिय हितको काम गर्ने लगायतका धेरै महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको थियो । ति कुनैपनि विषयमा कुनै उपलब्धि हाँसिल भएन नी ?’ भन्ने प्रश्नमा भ्रमण टोलीको ब्यवस्थापन गरेका क्रिष्ण रेग्मीले भने ‘छलफलनै नगरि कसरि उपलब्धि हुन्छ ? उहाँहरु छलफलमै बस्न चाहनुभएन । मितको अनुहारै नहेरि कसरि मित् लगाउने ? मेयरज्यूको स्विस घुम्ने लोभले गर्दा सबै कार्यक्रम रद्द भएका हुन् ।’

नगरपालिकाले एक सुकोपनि खर्च नगरि बेल्जियमका महत्वपूर्ण ब्यक्तित्वहरुसित राखिएका भ्रमण रद्द गरिनुले नगरप्रमुख रेणु दहाल गम्भिर नदेखिएको भन्दै दुखेसो गरे । तर यस विषयमा रेणु दहालले कुनै प्रतिक्रिया दिएकि छैनन् । भ्रमण टोली सोमबार नेपाल फर्किएको छ ।

                                         किन बिग्रियो भ्रमण ?

खासमा भ्रमण बिग्रिनुको मुख्य कारण ब्रसेल्सस्थित नेपाली दूतावाससित सहकार्य नगर्नुनै रहेको त्यहाँका नेपालीहरुको भनाई छ । स्रोतका अनुसार भ्रमणबारे बेल्जियमस्थित आयोजक क्रिष्ण रेग्मी र भरतपुर उपमहानगरपालीकाका ईन्जिनियर हरि प्रसाद भण्डारीबिच मूलरुपमा आदानप्रदान भएको थियो । रेणु दहालले त्यसैमा बिश्वास गरिन् । उता भरतपुर उपमहानगरपालिकाले बेल्जियमका नगरहरुसित सिधा सम्पर्क र आदानप्रदान गरेन । त्यसैले तिनका लागि यो भ्रमण क्रिष्ण रेग्मीले ब्यक्तिगत तर्फबाट आयोजना गरे जस्तो देखियो । बेल्जियमबाट  कर्यक्रमबारे आधिकारिक पत्र आदानप्रदान गर्दापनि नेपाली दुतावाससित सरोकार राखिएन ।

नेपाली दूतावासले औपचारिकरुपमा भूमिका नखेलेकाले बेल्जियमका सरकारि निकायलेपनि औपचारिकरुपमा दूतावाससित सहकार्य गरेनन् । भरतपुर उपमहानगरपालिकाले दूतावासलाई यसबारे औपाचारिक रुपमा भूमिका खेल्न नलगाएकाले कूटनितिक मर्यादाका कारण नेपाली दुतावासलेपनि चासो लिएन । नेपाली मूलका बेल्जियम नागरिकले आयोजना गरेको जस्तो देखिएकाले नेपाली दूतावास आफैं अघि सर्ने कुरोपनि भएन । बिदेशी नागरिकका पछाडी कूटनितिक निकाय दगुर्ने कुरो भएन । त्यसैले यो भ्रमण जसरि प्रचार गरियो त्यस्तो देखिएन । ब्यक्तिगत रुपमा नेपाल सरकारको आधिकारिक निकाय घुम्न आएको जस्तो देखियो । यहि कारणले भ्रमण औपचारिक र उपलब्धिपूर्ण भएन ।

तर आयोजक क्रिष्ण रेग्मीको भनाईमा भने त्यहाँको पार्टीले आफूलाई भूमिका खेल्ने जिम्मेवारि औपचारिक रुपमै दिएको हो । त्यसैले पार्टीले जसलाई जिम्मेवारि दिने हो उसैले यो भूमिका खेल्ने हो । ‘पार्टीले बकाईदा चिठ्ठीनै काटेर मलाई जिम्मेवारि दिएपछि कसरि ब्यक्तिगत जस्तो हुन्छ ? पार्टीको जिम्मेवार ब्यक्तिनै मै हुँ र यो भ्रमणको चाँजो शुरुदेखिनै मैले नै भूमिका खेलेको थिएँ’ रेग्मीले भने ।

                                        खर्च कसको ?

यो भ्रमणमा खासमा कसले खर्च गरेको हो भन्ने स्पष्ठ देखिन्न । क्रिष्ण रेग्मीका अनुसार नेपालबाट यता आउने खर्च नेपालबाटै मिलाईएको थियो । ‘उतैका साथीभाईलाई गुहारेर यता आउने प्लेन टिकट मिलाएको थिएँ’ रेग्मीले नेपालप्लससित भने । उनका अनुसार बेल्जियम बसाईको होटेल खर्च रेग्मीले ब्यहोरेका हुन् । यताबाट नेपाल फर्किने विमान खर्चको ब्यवस्थापनि उनैले गरेका हुन् ।

एन भिए पार्टीले दिएको पत्रमा भने बेल्जियमबाट आफ्नो पार्टीले खर्च भरिदिएको भनेर स्पष्ठ उल्लेख छैन । सम्पूर्ण खर्च ब्यहोरिने भन्ने मात्रै उल्लेख छ । यसरि दुई पत्रहहरु हेर्दा खर्च क्रिष्ण रेग्मीले ब्यहोरे जस्तो देखिन्छ । र बेल्जियमको पार्टीलाई भने रेग्मीलेनै ‘खर्च म मिलाउँछु’ भनेर आस्वस्त पारेजस्तो देखिन्छ । त्यसैले रेणु दहाल टोलीको खर्च बेल्जियम सरकार वा पार्टीका तर्फबाट ब्यहोरेको देखिन्न । बेल्जियम स्रोतका अनुसार रेणु दहाल लगायतका ब्यक्तिको खर्च बेल्जियमकै नेकपाका केहि स्थानिय कार्यकर्तालेपनि ब्यहोरेका छन् ।

तपाइँको प्रतिक्रिया