पशुपंक्षी जोगाउन दर्जनौं मानिस सडकमा नांगै

-भोला लामिछाने / स्पेन

विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइयो । स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै शहरमा सुते ।

नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् । डेली मेलका अनुसार ब्ल्याक फ्राइडेको रुपमा स्पेनको क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए । उक्त भिडियो फूटेज अहिले सामाजिक सञ्जालमा पनि व्यापक बनाइएको छ ।

हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ । यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था अनिमा नेचुरलीसुको आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले ‘पीडा आनन्ददायक हुँदैन’ भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उध्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीटरमा समेत उल्लेख गरेको छ ।

अनिमा नेचुरलीसुका अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदै आएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु मार्ने गरिन्छ ।

तपाइँको प्रतिक्रिया