फ्रान्समा आमहडतालले जनजिवन प्रभावित, पर्यटकलाई सास्ति (फोटोहरु हेर्नुस्)
फ्रान्स सरकारले घोषणा गरेको वृद्ध भत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणका विरुद्ध मजदूर युनियन र सर्वसाधारण मिलेर आव्हान गरेको आमहडतालमा आज लाखौंले सहभागिता जनाए । हडतालले गर्दा आज फ्रान्सको जनजीवन अस्तव्यस्त बन्यो ।
सरकारी वायुसेवा कम्पनीका कर्मचारीहरुसमेत आन्दोलनमा उत्रिएकाले फ्रान्सको सबैभन्दा ठूलो चार्ल्स द गोल विमानस्थलमा सयौं विमानहरु रद्द गरिएको छ । जसका कारण हजारौं पर्यटक र सर्व साधारणले सास्ति भोग्नुपर्यो ।
हजारौं यात्रु अलपत्र परे
प्रदर्शनकारीहरुले राष्ट्रपती एमानुयल माख्रो र उनको सरकारबिरुद्द चर्को नाराबाजी गरे । माख्रोलाई राजिनामा दिन मागसमेत गरे । यदि सरकारले जनताको आवाज सुनेर पेन्सन र सेवा निब्रित्तिभरणको सरकारी प्रस्ताव रद्द नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
लामो र छोटो दूरीका, अन्तरदेशिय र अन्तर रास्ष्ट्रिय सेवा दिने रेलहरुमासमेत ९० प्रतिशत सेवा कटौती गरिदिएका लाखौं यात्रुहरु अलपत्र परे ।
रेलवे सेवाकै कर्मचारीहरुलेसमेत हडतालमा समर्थन जनाउँदै प्रदर्शनमा उत्रिएकाले यातायात सेवा देशैभरि दयनिय बन्यो ।
प्रदर्शनकारीहरुले हातहातमा राँको बालेर माख्रों सरकारबिरुद्द चर्को नाराबाजी गरेका थिए । आन्दोलनमा आपतकालिन सेवाका कर्मचारीहरुसमेत संलग्न थिए ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरुकोसमेत यो आन्दोलनमा सहभागिता रह्यो । सर्वसाधारणको उपचारमा संलग्न हुनेपर्ने कर्मचारीहरु सडकमा उत्रिए ।
आन्दोलकारीहरुले धुवाँ बालेर, साना पटका पड्काउँदै देशका ठूला शहरहरुमा प्रदर्शन गर्दा निकै ठाउँ कुइरिमण्डल बन्यो ।
‘हाम्रो पेन्सन नछोउ, हाम्रो रेलसेवा नचलाउ, माख्रो सरकार राजिनामा दे, फ्रान्सलाई नभत्काउ, सामाजिक संरचना ध्वस्त नपार, फ्रान्स तिम्रो बिर्ता होइन’ लगायतका नारा बोकेका लाखौं प्रदर्शनकारीहरु सडकमा उत्रिए ।

उत्तरी फ्रान्सको बुलोन्य क्षेत्रमा प्रदर्शनकारीहरुले बाटो बन्द गरि ईन्धन बोकेका ट्रकहरुलाई अबरुद्द पारिदिए । ठाउँ ठाउँमै यसरि अबरुद्द गरिदिँदा सयौं पेट्रोलपम्प ईन्धनबिहिन भएका छन् भने सयौंमा भण्डार रित्तिएको छ ।
पुराना टायर ल्याएर सडकमा बाल्ने र सडक छेक्ने कामपनि ठाउँ ठाउँमै गरियो ।
उत्तेजित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले ठाउँठाउँमा अस्रु ग्याँस प्रहार गरे ।
(फोटो स्रोत – एपी, एफपी, आर एफ आई, बिबिसी र द लोकल फ्रान्स)