बाहिर एमाले देखिएपनि सरकार चलाउने कांग्रेस ?

बाहिरबाट हामीले हेर्दा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री छन् । टाइँफाइँ, डौडादौड र भागभाग एमालेमा चर्को छ । रक्षा मन्त्रालय एमालेसितै छ । अझ ग्रिह पनि एमाले आफैंले राख्ने भन्दै कांग्रेससँग पौठेजोरी खेलिरहेको छ । एमालेका नेताहरु आआफ्ना समर्थकलाई मन्त्री बनाउन कोटका खल्ती पिच्छे सूची बोकेर बैठकमा प्रस्तुत हुने गरेका छन् । बाहिरबाट हेर्दा एमालेकै नेत्रित्वको सरकार जस्तो देखिन्छ । तर हात्तीका देखाउने र चपाउने दाँत भिन्न भिन्न हुन्छन् भने जस्तै रहेछ यो सरकार त । बाहिरबाट हेर्दा हात्तीको देखिने दाह्रा जस्तो रहेछ एमालेको सरकार । अनि हात्तीको चपाउने भित्रको दाह्रा जस्तो रहेछ कांग्रेस सरकार चलाउने । यो मलाई आरोप लगाउनु होला । आफुले अनुभव गर्ने, देख्ने र जनताले भोग्ने त छँदै छ, सरकार सञ्चालनको पारा मात्रै होइन कि कांग्रेसकै नेताले हाकाहाकी भित्रबाट सरकार चलाउने हामी हौं भनेर दाबी गर्न थालेपछि स्पष्ठ हुँदै गएको तथ्य हो।

 

रात रहे औराख पलाउँछन् भने जस्तै छ एमाले सरकारको पारा । सरकारले अहिलेसम्म किन आकार पाउन सकेन भन्ने वास्तबिकतापनि खुल्दै छ । देशी र बिदेशी धेरै चलखेलपश्चात एमाले नेत्रित्वको सरकार बन्यो नै । माधव नपाल प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपनि सरकारमा कसले कति र कुन मन्त्रालय पाउने हो । कसको भाग कति हो । सरकार बन्नु पूर्व सहमती के थियो भन्ने छलफल प्रधानमन्त्री सित हुनुपर्ने होइन त ? सरकारको टाउकोनै प्रधानमन्त्री भएपछि त्यस्ता निर्णय कि त सरकारको नेत्रित्वकर्ता पार्टी कि त प्रधानमन्त्रीसित हुनुपर्ने । तर एमाले नेत्रित्वको सरकार शुरु देखिनै छायाँ सरकार जस्तो थियो । मधेशी जनअधिकार फोरमका संसदिय दलका नेता बिजय गच्छदारले शुरुमै प्रधानमन्त्री माधव नेपाललाई टेरेनन् । फोरमले सरकारमा सहभागि हुने निर्णय गर्नासाथ उनी प्रधानमन्त्रीकहाँ नगई सिधा नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला कहाँ गएर सरकारमा आफ्नो भागबण्डाको मोलमोलाई गरे ।

 

त्यतिखेरै गच्छदारको पाराले धेरैलाई अचम्म परेको थियो । अनि आफैं प्रधानमन्त्री भए झैं गच्छदारलाई यति सिट पाउनुहुन्छ र उति पद पाउनुहुन्छ भनेर आश्वासन दिने कोइरालाको पाराले पनि सरकार चलाउने कोइराला पो रहेछन् कि भन्ने परेको हो । नभन्दै हो रहेछ । आफ्नै नेत्रित्वको सरकार झैं यो पद मलाई र त्यो पद उसलाई भनेर दाबी गर्दै त आएकै हुन् एमाले नेता भन्दापनि बढि कांग्रेसका नेताले । त्यसका वास्तबिकता त अहिले पो खुल्दैछन् । जब नेपाली कांग्रीसकै नेताहरुले सरकारमा एमाले भएपनि कांग्रेसकै बैचारिक योजना अनुसार सरकार चलेको भनेर सार्वजनिकरुपमै हाकाहाकी बताउँदै हिँड्न थालेपछि ।

 

आजै नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सरकारको नेत्रित्व एमालेका माधव कुमार नेपालले गरेको देखिएपनि नेपाली कांग्रेसको बैचारिक नेत्रित्वले गरेको भनेर एमालेलाई दनक दिए । त्यति मात्रै हो र ? पोखरामा भएको एउटा साक्षात्कार कार्यक्रममा उनले सरकारको नेत्रित्वनै नेपाली कांग्रेसले गरेको दाबी गरेर एमालेलाई मूकदर्शक बनाइदिए । माओवादीले सबैतिर कब्जा गर्ने रणनिति अपनाएकाले त्यसलाई असफल पार्नपनि अहिले सरकारको नेत्रित्व बैचारिक रुपमा कांग्रेसले गरेको उनले दोहोर्‍याएका थिए । कांग्रेसका नेता बडुले त्यसरि हाकाहाकी एमालेलाई कांग्रेसको पिछ्लग्गुका रुपमा ब्याख्या गर्दापनि एमालेका कार्यकर्ताले भने कुनै प्रतिक्रिया जनाउन सकेनछन् ।

तपाइँको प्रतिक्रिया