यात्रापछिपनि गिजोलिरहने ति समुद्री क्षण (दोस्रो भाग)

-सुधिर राणा / फ्रान्स

ब्रतान्य को कुइम्पेर् स्टेशनमा ओर्लेपछि अझै ३० मिनेटको बाटो रहेछ बेनोदेसम्म पुग्नलाई । पेरिसबाट उत्तर पश्चिम पर्ने एटलांटिक महासागरको किनारमा अबस्थित सुन्दर र शान्त पर्यटकिय स्थल हो, बेनोदे । शान्त तट मन पराउनेहरुको लागि यो ठाऊँ आकर्षक गन्तव्य रहेछ । अधिकांश बेलायती र केही जर्मन तथा फ्रान्सेली पर्यटकहरु पुग्ने रहेछन् त्यहाँ ।

पहिलो दिन खाना खाएर हामी सामुन्द्रिक तटमा गयौं ।  करिब १३ बजे झन्डै २६ डिग्रीको गर्मि । गजबको मौसम । चारैतिर अर्धनग्न मानिसहरु । कोहि खेल्दै । कोहि नुहाउँदै । कोहि घाम ताप्दै थिए । केटाकेटीहरु बालुवाका घर र अनेक आक्रिति बनाउँदै थिए । म एउटा किताब समातेर यसो यता उता हेर्दै बसेको थिएँ । अचानक बेस्सरी हाँसो उठ्यो । अचानक हाँसेको देख़ेर भनिन ‘पागल हुनु भयो क्या हो ?’ कारण नखुलाई हाँस्दा कसले पो बुझ्छ र ? खासमा प्रसंग अर्कै थियो ।

नेपालमा रहेको मेरो एक साथीले एक पटक भनेको कुरा सम्झेर बेला बेलामा निकै हाँसो उठछ “ यार कहिलेक़ाहीँ मेरी श्रीमतीसंगै हुँदा राम्री केटीको नजीकै परियो या छेउतिर आइ भने मेरी श्रीमती एकोहोरो मलाई हेरिरन्छिन । यसले के गर्छ ? कसरी हेर्छ ? कसरी बोल्छ भनेर । अझ केही सोधिहाले भने त झन उनलाई शनी ग्रह लाग्यो भनेर जाने भो । साँझ घर पुगेपछी प्रश्नका छहरा फुट्न थाल्छन्, किन बोलेको ? अझै हाँसी हाँसी, मस्की मस्की बोल्नु पर्छ ? होईन ! थाहा छैन भने हुन्न थियो ?“

अब तैँ भन यार कसैले केही सोध्यो भने कसरी बोल्नु ? आजकालसंगै कहिँ बाहिर निस्कन पर्यो भने म प्रार्थना गर्छु यार, ‘हे भगवान आज कुनै राम्री केटी छेउछाउ नपरून । परिहालेपनि बोल्न नपरोस भनेर ।“ त्यो साथी यहाँ भएको भए के गर्थ्यो होला ? कस्सो आफ्नो चाहीँ उनको जस्ती छैनन र पो ।

दिनभरी तातो बालूवामा पल्टिदै सागरको नूनिलो पानीमा नुहाएर दिन बित्यो । चारैतिर मान्छेहरु छन् । तर कसैलाई कसैको वास्ता छैन । यत्रो भिडमा पनि सबै एक्लै एक्लै आफ्नै धुनमा ।

साँझ पख होटेलको कौसीमा बसेर क्षितिजमा लाली चढेका बादलहरुमा टोलाऊदै थिएँ ।  सिंदूर जस्तै किरण छर्दै सूर्य बिस्तारै सागरको अर्कों कुनाबाट डुब्दै थियो । टाढा कहाँ हो कहाँबाट फर्किदै गरेको ड़ुंगा पानीको विशाल थुम्को र सतहलाई गिजोल्दै देखापर्‍यो । रातो सूर्यलाई छुम्ला झैं गरेर घर फर्किन लागेका चराहरुको ताँती उस्तै देखिए । मनमोहक दृष्य लाग्छ मलाई यो । त्यो क्षण कहिले नजाओस जस्तो लाग्ने । त्यही टक्क रोकियोस जस्तो भैरहने ।

आज केटाकेटीसंग खेल्दा अलि बढी नै थकिएछ क्यारे । उमेरको एउटा अवस्थामा आइपुग्दा कहिलेकाहिँ थकान महसुस भएपछि केहि किराको तलतल लाग्ने रैछ । थकाई कम गर्ने यहाँको रेड वाइनको एक दुइ प्याग पिउँदा आनन्द नै दिन्छ । सायद उमेर अनुसारको रुचिले पनि होला । फेरि यो फ्रान्सेली वाईनको चर्चा यति हुन्छ कि त्यसलेपनि चाखौं चाखौं बनाउँछ ।

दुइ जना छोराहरु पहिलो १८ बर्षको जवान हुँदै गरेको । उसको आफ्नै रुचि, स्वभाव छ । दोस्रो बल्ल साँढे दुइ बर्षको भयो । धेरै चंचल छ । हुन त उसको आमाले ज्ञानी हुन्छ, गम्भीर हुन्छ भनेर गर्भमा ५, ६ महिनाको हुँदा देखिनै प्रत्येक दिन बिहान प्रार्थना गरेकि रे । ‘हे राम, हे राम जग मे साँचों तेरो नाम, हे राम’ भन्ने भजन नित्य नै सुनिन । मैले मेरो पुरै जिन्दगीमा त्यति भजन सुनिन होला जति तिन चार महिनामा सुनेँ । कति भजन त मलाई कन्ठै भएको थियो । तर छोरो भने गम्भीर को ग पनि छैन । दिनभरि चलेको चल्यै हुन्छ । म कहिलेकाहिँ जिस्काउँछु ‘होइन भजन उल्टो परेछ कि क्याहो ?’

तर बास्तवमा साँढे दुइ बर्ष पहिला र अहिलेको घरको वातावरणमा धेरै फरक छ । पहिला सबै आफैमा ब्यस्त हुन्थ्यौं । कोहि सिरियल हेर्न, कोहि आफ्नो पढाई या कम्प्युटरमा गेम खेल्नमा । मपनि आँफै समाचार हेर्न या किताब पढ़्न । तर सानो छोरा आएपछि घरमा एक किसिमको रौनक़ छ । उसको हसाइ, रुवाई, चिच्याहट, उसको कोलाहलले सबैको ध्यान केन्द्रित गर्छ । बल्ल जीवन जिबन्त भएको महसुस भएको छ ।

पारिवारिक घुमाईकोपनि एक किसिमको बेग्लै बिशेषता छ । तपाई चाहेरपनि झिमिक्क यता उता गर्न सक्नुहुन्न । यद्धपि तपाई सबैभन्दा मुख्य अभिभावक हो त्यहाँको । प्राय सबै कूराको तय बच्चाहरुको चाहनामा हुन्छ । घुमाईकै क्रममा बाटोभरी देखिने सुन्दर जोड़ीहरु । र उन्मादले भरिएको  तिनको उन्मुक्त हाँसो । दाँया बायाँ हेर्यो आफ्ना लालाबालाहरु । कता कता उमेरको ख़्याल आउँछ । तर महसूस नहुने रैछ । आफुपनि भर्ख़रै जस्तो लाग़्ने ।

सानो ठाऊँ । दुई चार दिनको बसाईमापनि अपनत्व महसुस हुँदो रैछ । प्रत्येक दिन त्यो सागरको सङ्लो पानीसंग जिस्कँदै खेल्दै गर्दा सायद दिल बसेछ क्यारे ।

म फर्किने बेला एक पटक फेरी आंखा भरी त्यो सागर अनी त्यो किनार घुमेका छन् । आऊने लहरहरु हेर्न मन लाग्यो । हामी सबै जना अन्तिम पटक त्यता तिर गयौ।  तटमा बस्यौं । कुन्नी किन हो मलाइ ती लहरहरु हेरीरहन मन लाग्यो । मन्द मन्द हावा चलीरहेको थियो । एकनासले किनारसम्म सुस्साउँदै आइरहने छालहरुले मलाई विचित्रले आफुतिर सम्मोहित गर्दै थियो । म डुबिरहें । ती छालहरुमा । धेरै बेरपछि ‘बाबा’ भनेर सानो छोराले आफुसंग खेल्नलाई झकझकायो । त्यसपछि पो झसंग भएछु ।

अरुपनि धेरै यात्रामा निस्केको छु म । तर खोई किन हो यस पटकको यात्राले भिन्नै अनुभूति दियो । केही दिनको बसाईमापनि भावनात्मक लगाव बसेछ त्यो ठाऊँसँग । फर्किने बेला मन नमिठो हुँदैथियो । हृदयभरि यादहरु,  झलझली आऊने तस्वीरहरु लिएर फर्कीदै थिएँ म । सायद यात्राहरु यस्तै हुन्छन !

ट्रेन पेरिस तीर हुँकिदै थियो । आफ्नै गतीमा । छोराहरु आमासंग फ़ोटोहरु हेर्दै हाँस्दै रमाऊँदै थिए । म भने एक्लै तिनै जिस्कँदै किनार छून आऊने सागरको लहरहरुसँगै रूमल्लीईरहेको थिएँ । धेरै पहिला रेडीयोमा बज्ने पुरानो हिन्दी गीत सुन्दै !

यह जीवन है, इसी जीवनका,

यही है रंग रूप, यह जीवन है

यह नसोचो इसमें अपनी हार है की जीत है

उसे अपनालो जो भी जीवनकी रीत है

यह ज़िद छोड़ो यूँ ना तोड़ो

हरपल एक दर्पण है

यह जीवन है ……….

यात्रामा कहिलेक़ाहिँ बिचित्रको अनुभूति हुन्छ । जीवनपनि एक यात्रा नै हो । केही सीमित पलहरु मात्रै यादगार अनी अविस्मरणीय हुन्छन जीवनमा । हरेक ती मीठा यादहरुलाई सुन्दर स्मृतिको फ़्रेम भित्र सज़ाएर राखी रहुँ झैं लाग्छ । उमेरसँगै मधुरो हुँदै बिलायर नजाओस भनेर !

यात्राको अघिल्लो भाग हेर्न तलको लिंकमा क्लिक गर्नुस्

तपाइँको प्रतिक्रिया