गजल
–प्रकाश सापकोटा
मेरो सामू आई नजर नझुकाउनु अबदेखि
अन्कनाई ओठ–मुख नसुकाउनु अबदेखि
पिरतीको पोल्टोभित्र साँचेको त्यो उपहार
दिउँ कि नदिउँ गरी–गरी नलुकाउनु अबदेखि
गहभरि छचल्किन्छ भावनाको प्रतिबिम्ब
एकान्तमा मात्रै बह नफुकाउनु अबदेखि
आफ्नो मनोकामनालाई आफैंभित्र गुम्स्याएर
झयाप्पै आँटे कदमलाई नरुकाउनु अबदेखि
तिम्ले गर्दा मलाई पनि कस्तो–कस्तो हुन्छ अचेल
खुली आउनु कि त टाउकै नदुखाउनु अबदेखि
समयले कतिखेर कोल्टो फेर्छ पत्तो हुन्न
मौका आए हत्तपत्त नचुकाउनु अबदेखि
मेरो सामू आई नजर नझुकाउनु अबदेखि
अन्कनाई ओठ–मुख नसुकाउनु अबदेखि
काभ्रे
हालः (दोहा) ।





