कार्यक्रमको खर्च र आम्दानी छ, बिलनै उपलब्ध गराउन संभव होला र ?

एन आर एन ए फ्रान्सको आगामी अधिवेशन नजिकिँदै गर्दा सतहा धेरै तर्कबितर्क, आपत्ती, चाख, गुनासा र विषयहरु उत्रिएका छन् । गुनासा, आरोप प्रत्यारोपले सामाजिक सन्जाल छरपस्ट भएको छ । बिद्दमान कार्य समितिको कार्यशैलीप्रति ठूलो असन्तुस्टि छ । आर्थिक अस्पष्ठताको शंका उत्तिकै उठेको छ । यस्ता समसामयिक विषयमा रहेर एन आर एन ए फ्रान्सका वर्तमान कार्य समितिका कोषाध्यक्ष मिन कुमार श्रेष्ठसित अडियो अन्तर्वार्ता लिएको थियो, नेपालप्लसले । अडियो अन्तर्वार्ताका मुख्य विषयलाई संपादन गरेर यहाँ राखिएको छ ।

तपाई एन आर एन ए फ्रान्सको कोषाध्यक्ष । संस्थाको अहिलेसम्मको हिसाबकिताब, बिल भर्पाई दुरुस्त राख्नुभएको छ ?

सबै छ । हरेक कार्यक्रममा कति खर्च भयो । कति जम्मा भयो भन्ने मैले सबै राखेको छु ।

अहिलेसम्म खातामा कति पैसा बाँकी छ त ?

अहिलेसम्म कति छ भनेर हेर्नुपर्छ । सदस्यताको रकमपनि आउने क्रम छ । त्यसैले हेर्नु नै पर्छ ।

मोटामोटीपनि थाह छैन ?

समुद्र भ्रमण नजाउन्जेलसम्म लगभग सात हजार जति बाँकि थियो । तर समुद्र जाने खर्च, महाधिवेशनको  लागि हल बुक भएको छ । हामीले चेक पठाईसकेकाले रकम त्यसमा घट्न सक्छ । यताउति गरेर कति चेक गयो र अब बाँकि कति छ भन्ने मैले हेरेको छैन ।

यो कार्यसमिति बिजयी भएपछि हामी हाम्रो कार्यकालमा आय ब्ययको हिसाब सबैले हेर्न सक्नेगरि तिन महिना अगाडिनै इन्टरनेटमा राखिदिन्छौं भन्नुभएको थियो । त्यसरि हिसाबकिताब त राख्नुभएन नी ?

खै मैले त त्यसो भनेको थिईन ।

समग्रमा यो कार्यसमितिले सपथ खाँदा भनेकै हो । सभा हलमै घोषणा गरेको कुरो हो नी ! कार्य समितीलेनै भनेपछि मैले र तैंले भन्ने कुरो हुन्छ र ?

खै मैले त तिन महिना पहिले नै भनेको सुनिनँ । तपाईले कहाँबाट सुन्नुभयो । मैले चाहिँ भनेको छैन । तिन महिना अगाडिनै प्रकाशित गरेर त महाधिवेशनमा त्यो देखाउने कुरो भएन । किनकि त्यो तिन महिनाभित्रपनि कारोवार त हुन्छ । एक हप्ता अगाडिपनि कारोवार त हुन्छ ।

एक हप्ता अगाडिपनि कारोवार हुन्छ भन्दैमा हिसाब नदेखाउने ? त्यहि दिन हलमा यति यति भो भनेर सुनाएर छोड्दिने ?

त्यस्तो भन्न खोजेको होइन । मैले तिन चार महिना अगाडिपनि भनेको हो । अब कार्यसमितिको बैठक बस्छ । सल्लाह गरेर कार्य समितिले टुंग्याउँछ ।

भूकम्प पिडितको नाममा कति उठेको थियो ?

नरेन्द्रजी कोषाध्यक्ष हुँदा अघिल्लो कार्यकालमा उठेको हो भूकम्प पिडितको रकम । त्यो बेला म सहकोषाध्यक्ष थिएँ । त्यसैले मैले ठ्याक्कै भन्न त सक्दिन नहेरिकन । तर मलाई ३२, ३३ हजार जस्तो लाग्छ ।

त्यो रकम के गर्नु भयो ?

सबै नेपाल पठायौं । अस्ति हाम्रो वार्षिक कार्यक्रम हुने बेलासम्म १२ हजार बाँकि थियो । धेरै साथीहरुले प्रश्न उठाउनुभयो । त्यसमा मध्यनजर गर्दै कार्य समितिले निर्णय गरेर १२ हजार युरो फेरि नेपाल पठायौं, एन आर एन ए केन्द्रलाई ।

एन आर एन ए फ्रान्सको बैंकको चेकमा कार्य समिति बाहिरको मान्छेले सहि गर्ने गरेको गुनासो बाहिर आएको छ । चेकमा साँच्चै बाहिरी मानिसले सहि गर्ने गरेको हो ?

बैंकमा तिन जनाको सहि चल्छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष । तिनजना मध्ये कोषाध्यक्षलाई जानकारि गराएर जसलेपनि सहि गर्न सक्छ । अहिलेसम्म मैले नै सहि गरिरहेको छु । चेक मैसित छ, अरु कसैलाई दिएको छैन ।

आर्थिक हिसाबकिताबको बिवरण तपाईहरुले कहिलेसम्म देखाउन सक्नुहुन्छ ?  त्यत्तिकै रकम आएको र गएको मात्रै लेखिएको पो छ की ? कसरि हेर्ने ? एन आर एन ए फ्रान्सको कानुन अनुसार दर्ता भएको छ । यहाँ दर्ता भएपछि अडिटिङको प्रश्नपनि उठ्छ । त्यसैले खर्च गरेको पैसाको बिल भर्पाई त हुनुपर्छ । निर्वाचन हुने दिन हलमा हेर्न त सम्भव हुन्न । कसरि देखाउनुहुन्छ हेर्न चाहनेकालागि ?

हाम्रो कार्य समितिको छिट्टै मिटिङ बस्दै छ । हामीले महाधिवेशनमा प्रतिबेदन बुझाएपछि तपाईहरुले कुन कार्यक्रममा केकति खर्च र आम्दानी भयो भनेर हेर्न सक्नुहुन्छ ।

प्रतिबेदन त प्रस्तुत गर्नुहुन्छ नै, बिलपनि हेर्न पाइन्छ कि प्रतिबेदन मात्रै भनेर पो सोधेको !

हलमा कुन कार्यक्रमको कति खर्च भनेर एक एक बिल हेर्न त कति समय लाग्ला । तपाईलाई छुट्टै हेर्न मन लाग्छ भने हेर्न सक्नुहुन्छ । हामीले बुझाएको प्रतिबेदनपनि तपाईहरुलाई उपलब्ध गराउँछौं ।

त्यो दिन निर्वाचन गर्नलाई केन्द्रित हुने हो । सबै त चाहनेलेपनि हेर्न सक्दैन । तपाईहरुले हस्तान्तरण गर्ने हो । तपाईहरुको कार्यकालमा भएका खर्च बिवरण त आफैंलेनै अनलाईन मार्फत हेर्न पाउने ब्यवस्था हुनुपर्ने होइन र ?

एक एक यो त्यो भनेर बिलसहित नेटमा राखिदिन त सकिन्न । यो यो कार्यक्रममा यति भयो भन्ने रेकर्ड म सित छ । चाहियो भने म दिन सक्छु ।

प्रसंग अलि बदलौं । तपाई अब कुन पदमा हो उठ्न लाग्नुभएको ?

यत्रा वर्ष काम गरियो । सबैको साथ सहयोग पाए महासचिवमा उठौं कि भन्ने लागेको छ । बिरु खड्कालेपनि त्यहि पदमा उमेदवारी दिनुभएको छ । प्रजातान्त्रिक बिधी अनुसार निर्वाचनमा जानु त राम्रै हो । तरपनि एन आर एनलाई राम्रोसित लैजान मिलेर जान पाए हुन्थ्यो । कतै मिलेर जाने अवस्था बन्छ कि भनेरपनि मैले उमेदवारी घोषणा नगरेको हो ।

मिलेर जाने भन्ने राम्रो हो । तर मिलेर जानको लागि छलफल, बहस, अन्तर्क्रिया गराउने काम त पदमा बस्ने, कार्यसमितिको मान्छेले होइन र ? त्यसकोलागि कति  प्रयास गर्नु भयो ?

हामीकहाँ कुरो नआएको । उहाँहरुलेपनि ल्याउनुभएन । नगर्ने, नमिलाउने भन्ने त हाम्रो कुरै हुन्न नी !

सबैलाई सहमतीमा लिने, मिलेर काम गर्ने र संस्थालाई सामूहिकरुपमा अगाडि बढाउने भन्ने जिम्मेवारी लिएरै पदमा बस्नुभएको हो यो कार्य समितिका सबै । बाहिर जतिपनि असन्तुस्टि, गुनासा, आरोप आए तिनलाई सुल्झाउन कुनै बहस, छलफल गर्नु भो ? सामूहिकरुपमा बसेर कुरा गरौं र सहमतिमा जाउँ भनेर सल्लाह गर्नु भो ?

हरि सापकोटा कति पटक आउनुभयो । कति पटक कुरा गरियो । उहाँसित कयौं पटक छलफल गरियो, मिलाउनलाई भनेर । हामीले छैन भनेकै छैन । कतै मिल्छ कि भनेर आजको दिन (मंगलबार) सम्म उमेदवारीपनि घोषणा गरेको छैन । मैलेपनि घोषणा गर्दा छबी नराम्रो होला भनेर नगरेको ।

हरि सापकोटासित कुरो गर्नुभएछ । हरि सापकोटा मात्रै एन आर एन त होइन होला । फ्रान्समा बस्ने सबै नेपालीको साझा बनाउन त अरु नेपालीसित छलफल गर्ने, बहस गर्ने, अरुका चाख र काम गर्ने रहर ब्यक्त गर्ने मौका दिने, सबैलाई समेट्नेगरि छलफल त कहिल्यै गर्नुभएन । उमेदवारको मात्रै हो र एन आर एन ए फ्रान्स ?

कति जना आउनुभयो त प्रस्ताब लिएर तपाईनै भन्नु न त । उहाँनै प्रतिनिधी भएर आएपछि हामीले के भन्ने त ?

प्रस्ताब लैजाने, छलफल गराउने भनेको पदमा बस्नेले हो । कहिल्यै गराउनुन् भो त्यो ?

हामी खुला छौं प्रस्ताब लिएर आएमा ।

आफू सक्रिय हुनु, आफूले पहलकदमी लिनु र खुला हुनु फरक कुरा हो । तपाईहरु जो एन आर एन ए फ्रान्सको कार्यसमितिमा हुनुहुन्छ आफैंले लाने हो नी त यस्ता प्रस्ताबहरु । यस्तो विषयमा छलफल गरौं भनेर । त्यो त गर्नुभएन नी ?

कतिपय साथीहरुले सल्लाह नगरिकनै घोषणा गर्नुभयो । हामीले कुरा गर्दाखेरीपनि हुन्न हुन्न भन्नुहुन्छ । समस्या त्यसैले भएको हो । अन्तिम अवस्थामा आइसक्यो अब के गर्न सकिन्छ र ?

अन्तिम अवस्था त तपाईहरुलेनै कुरेर बस्या हो नी त होइन र ? किनभने दुई वर्षपछि अर्को चुनाब आउँछ भन्ने त थाह थियो । तर अन्तिम अवस्थासम्म कुनै पहल कदमी लिनुभएन ।

त्यो एकदमै सहि हो । तर यस अघि प्रस्ताबपनि नआएको, कुरोपनि नआएको हो । कोहि साथीहरुलाई काम गर्न इच्क्षा छ भने ल आउनुस भनेर हामीले बारम्बार भनिराखेका छौं । तर अहिले अन्तिम अवस्था भयो के गर्न सकिन्छ र ?

तपाईले ब्यक्तिगतरुपमा गर्नुभएन होला । तर आमरुपमा छलफल, बहस, क्रियाप्रतिक्रिया केहिपनि नगराएर एक किसिमले आम मान्छेकालागि एन आर एन ए फ्रान्सको त ढोका बन्द गराएकै हो नी ?

त्यस्तो त भन्न मिल्दैन । हामीले चाख राख्ने, सामाजिक काम गर्न खोज्ने, कुरा गर्न आउनेहरुसित कुरो गरिराखेकै छौं ।

मलाई तपाईको अध्यक्षले अघिल्लो दिनसम्म फूटबल कार्यक्रम हुने भनेर निर्णय भाको छैन भन्नु भो । तर भोलीपल्ट बिहानै कुनै भूपू अध्यक्षले यो कार्यक्रम जसरिपनि हुन्छ भनेर आफैंले खुलेर लेख्नुभो । यो समिति कसले चलाउने रहेछ भन्ने यसैबाटपनि बुझिएन र ?

त्यो भाईबर ग्रुपमा लेखेको कुरा हो । भूपू अध्यक्षपनि कार्यसमितिकै सदस्य हुने भएकोले भाइबरमा छलफल भएको हो । त्यसलाई कुनै साथीले संस्थाको गोपनियताको कदर नगरेर, आफैंले खाएको सपथलाई लत्याएर बाहिर लगिदिनुभएको हो । यसमा गम्भिर आपत्ती छ ।

कार्य समितिको एक सदस्य भए रे ल पूर्व अध्यक्ष । तर निर्णय बर्तमान कार्य समितिको अध्यक्षले गर्ने कि पूर्व अध्यक्षले ?

उहाँले पाउनुभएको ब्यक्तिगत अधिकारलाई कार्य समितिमा राख्नुभयो । तर हस्तक्षेप गरेको होइन । उहाँले गर्नुस् भन्दा गर्ने र नगर्नुस् भन्दा नगर्ने भन्ने हुँदै होइन । संस्थाको हितको लागि आन्तरिक रुपमा भएको कुरोलाई बाहिर लैजानु संस्थाबिरुद्द, आफ्नै संस्थाको गोपनियता बिरुद्द हो ।

संस्थाको हित बिरुद्द, संस्थामा भएका ब्यक्तिको पद र जिमेवारीबिरुद्द अहित र हस्तक्षेप हुने काम गरेकाले संस्थालाई हित गर्नपनि त्यो बाहिर ल्याइदिएको हुन सक्दैन र ?

तपाइले भनेको कुरो एकदमै सहि हो । तर त्यसरि संस्थाको अहित हुने काम भएको होइन । त्यहि कुरा संस्थाभित्र राख्न पाइहालिन्थ्यो नी । बाहिर हल्ला चलाउँछन्, आरोप लगाउँछन् संस्थाको पैसा खर्च गरायो भनेर । फूटबलमा त्यस्तै भयो ।

के भयो फूटबलमा ?

ब्यक्तिब्यक्तिले उठाएर सहयोग जुटाएर खेलाडी सम्मानको कार्यक्रम ल्याइयो । तर एन आर एन ए फ्रान्सको पैसा प्रयोग गरे भनियो । हामीले त्यो कार्यक्रमकोलागि एक सुकापनि संस्थाको प्रयोग गरेनौं ।

अरु केहि छ की ?

अरु ठिक छ । चुनावी माहोल छ । त्यसमा मैले तपाईलाई सम्झेको छु । मलाई तपाईको साथ र सहयोग चाहिन्छ ।

त्यो त भैहाल्छ नी, दुई वर्षसम्म कार्य समितिमा हुँदा तपाईले मलाई धेरै पटक सम्झिनुभयो । तैपनि साथ सहयोग माग्नुभो भने नसम्झिनेपनि हुन्छ र ?

नसम्झेको त कहाँ हो र ? सम्झेको हो । यस्तै काम पर्दा दाजुभाईले एक एर्कालाई सम्झिने त हो नी !

तपाइँको प्रतिक्रिया