आगामी निर्वाचन र एन आर एन फ्रान्सले रोज्नुपर्ने दिशा

  • सुधीर राना / पेरिस

फ़्रान्सको गर्मी बढ्दै जाँदा यहाँको नेपाली डायोस्पोरापनि तात्दै गएको छ । खासमा नजिकिँदै गरेको गैह्र् आवाशिय नेपाली संघ फ्रान्स (एन आर एन ए फ्रान्स) को निर्वाचनको सरगर्मी पनि चूलीँदै गइरहेको देखिन्छ । यसका सन्दर्भमा सामान्य पंजीकृत सदस्यहरुदेखि नागरिक समाजका अगूवाहरुको जमातमा एक किसिमको बहस छेडिनु सकारात्मक पक्षनै मान्नु पर्छ । समस्या नै नभएर असंतुष्टीहरु यसै पोखिएको पक्कै होईन । एन आर एन ए हामी सबैको साझा संगठन भएकोले यसका काम कारवाहीप्रति सबैको चासो रहनु स्वाभाविकै हो । सामूहिक छलफल, बहस र अन्तरकृयाबाट नै निकास निस्कने हो ।

वास्तबमा हामीले एन आर एन ए फ्रान्सलाई शुरु देखिनै सीमित परिधि भित्र राख्यौं । जसरी यो नेपाली समुदाय भित्र फराकिलो र बृहतरूपमा परिभाषित हुनुपर्थ्यो त्यो भएन । अभिभावकीय रूपमा बस्नुपर्ने संस्था त झन संकुचित हुँदै आफ्नै समुदायका ससाना संघ संस्थासंँग प्रतिस्पर्धामा उत्रियो । यसो हुँदा यसले आफ्नो साख ग़ूमाउँदै गयो । कार्यसमिती भित्रपनि केही उत्साहित यूवाहरु हुनुहुँन्थ्यो । तर अफ़सोच नै भन्नुपर्छ कि फरक मत राखेकै भरमा तिनलाई एक्ल्याउने प्रवृतिले गर्दा उहाँहरु समितिनै छोडन बाध्य हुनुभयो ।

सीमित ब्यक्तिहरुको दम्भ र अभिमानमा चलेको एन आर एन ए फ्रान्स आफैंमा अपाँग जस्तै बन्यो । न आफैंले कहिले रचनात्मक काम गर्नसक़्यो न अरुको सुझावनै सून्यो । बाहिरबाट सामाजिक हितका लागि राम्रो सल्लाह दिँदा तिमाथि की दलिय ट्याग भिराइयो या व्यक्तित्व टकरावले गर्दा कहिल्यै राम्रो बिषयले प्रवेश नै पायो । संस्थामा ब्यक्तिहरुका स्वार्थ गौण हून्छन यद्धपी संस्थाको गरिमा आबद्द ब्यक्तिका काम कारवाही, बिचारले उच्च हुने हो । तर यहाँ हामीले व्यक्तिलाई प्रधान बनायौं । संस्था गौण बन्न गयो ।

हामीले हाम्रो उपस्थिति र हाम्रो मुखारवृन्दबाट निस्केका प्रत्येक शब्दहरु मात्रै स्वासत सत्य हुन्न र बाँक़ी सबै भ्रम हून, मिथ्या हून, समाज बिखंडनकारी भन्ने जून मानसिकता बोक्यौं । के यी सोच नै बिखंडनकारी होईनन र ? एन आर एन ए फ्रान्समा किन राम्रो ब्यक्तिहरु अट्न सकेनन् ? त्यस्ता ब्यक्तिलाई किन यो संस्थाभित्र स्वागत गर्न सकेनौं ? किन एन आर एन ए फ्रान्सलाई सधैं खोपीको देउता जस्तो अरुले पस्नै नहुने, छुनै नहुने बनाइयो ? ‘तिमी त्यतिनै जान, त्यतिनै सुन जती हामी देखाउँछौं या भन्छौं’ भन्ने जस्तो किन बनाइयो ?

एन आर एन ए फ्रान्सका विषयमा सामाजिक संजालमा यतीबिघ्न आरोप प्रत्यारोप भईरहदा किन हामी यहाँ बस्ने नेपाली समुदायप्रति जवाफदेहि बन्न सकेनौं ? किन फरक मत राख्ने बितिकै या भित्री बेतिथिका बिरुद्द आवाज उठाउने बित्तिकै कार्यसमिती मात्रै होईन बाहिरी तथा कथित बिद्वानहरु भिराइयो ? यसको कारण के हो ? एन आर एन एलाई माया गर्ने र नेपाली समूदायमा चासो राख्ने सबैकालागि गहन अध्यनको बिषय बनेकोछ ।

समस्या नभएर यी सारा प्रश्नहरु यसै तेर्सिएका पक्कैपनि होईनन् । समस्या समाधानका लागि संस्थापन पक्षबाट के कस्तो पहल कदमी भयो ? कस्ता प्रयासहरु गरिएका थिए ? यसमा ध्यान जानु पर्छ कि पर्दैन ? पद र जिमेवारीलिनेले यसमा मनन गर्नुपर्छ कि पर्दैन ? ब्यापक सहभागिता गराएर खुल्लारुपमा छलफल गराउने प्रयास गरिनुपर्छ कि पर्दैन ?

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, समाज हाम्रो हो । यसमा फोहोर भयो भने सफ़ापनि हामीले नै गर्नुपर्छ । आज हामी सानो एन आर एन ए जस्तो संस्थाको निर्वाचनमा जाँदैगर्दा जीतकै लागि जुन बेतिथि बसाल्दै छौं त्यो तत्कालकालागि केही ब्यक्तिलाई त फ़ाईदा होला । तर दिर्घकालीन रूपमा समाजलाई संक्रमित गर्ने छ । हाम्रो समाजलाई सहि दिशातिर डोर्‍याउने छैन ।

एन आर एन ए फ्रान्सको आगामी निर्वाचन आउँदै गर्दा सबैभन्दा पहिला हामी सामाजिक सद्भाब क़ायम राखौं । व्यक्तिगत आक्षेप नलगाउँ । फरक बिचार राख्नेहरु कुनै अर्कों ग्रहका मानिस होईनन् । उनीहरुपनि यही समुदायका हाम्रै दाजुभाई तथा दिदीबहिनीहरु हुन् भन्ने नबिर्सीकन उनीहरुका बिचारलाईपनि सम्मानका साथ ग्रहण गर्ने अभ्यास गरौं ।

अन्तमा, मलाई के लाग्छ भने जहाँ आपसी सद्भाव राम्रो हुन्न्छ त्यहाँ आस्थाहरु फरक भएपनि सम्बन्धहरु सुदृढ़ हुन्छन् । जहाँ पारस्परिक सम्बंधहरु राम्रो हुन्छ त्यहाँ समाज सकारात्मक रूपमा गतिशील हुन्छ । मित्रवत तरिकाले बहस र छलफल गर्ने, बिचारको आदान प्रदान गर्ने संस्क्रिति र संस्कारको विकास हुँदै जान्छ । एक आपसका कमजोरीहरु पहिचान गर्ने र सुधार्दै लैजाने परिपाटीको विकास हुन्छ ।

तपाइँको प्रतिक्रिया