एन आर एन फ्रान्सलाई कब्जा गर्न मध्यराती अवैधानिक निर्णय

 

एन आर एन फ्रान्सको आगामी निर्वाचनका लागि मिति तय भैसकेको छ । निर्वाचन आयोग समेत बनिसकेको छ । तर बिधानको ठाडो उल्लंघन गर्दै एन आरएन फ्रान्सलाई आफ्नो कब्जामा पार्न बैठक बसेका छन् । शुक्रबार साँझ बसेको बैठक शनीबार विहान एक बजेसम्म चलेको थियो । बैठकले फ्रान्सका नेपाली फूटबल खेलाडीहरुलाई सम्मान र बार्बाक्यु गराउने भन्दै तिनको भोट र भावना आफूतर्फ तान्न यस्तो निर्णय गरेको हो । सामाजिक सन्जालमा ब्यक्त टिप्पणीहरुका अनुसार आगामी निर्वाचन गराउन बनेको निर्वाचन कमिटीका सदस्य घनश्याम पौडेलसमेत संलग्न रहेको आरोप लागेको छ । तर नेपालप्लस प्रतिनिधीसितको कुराकानीमा घनश्याम पौडेलले यसलाई अस्विकार गरेका छन् । आफू निर्वाचन कमिटीको सदस्य बनिसकेकाले यो बैठकमा उपस्थित नभएको तर बाहिरी ब्यक्तिले यस्तो हल्ला फैलाएको उनले स्पष्ठिकरण दिए ।

एन सिसि फ्रान्सकै सामाजिक सन्जालमा समितिकै तर्फबाट राखिएको जानकारि अनुसार एन आर एन फ्रान्सले यो कार्यक्रम गर्ने निर्णय गरेको छ । यसमा कार्य समितिका सात सदस्यले सहमति जनाएको उल्लेख छ । यो निर्णयमा एन आर एन फ्रान्सका पूर्व अध्यक्षहरु भक्त वाग्ले र घनश्याम पौडेलको पनि नाम छ ।

एन आर एन फ्रान्सले भोली जुलाई २८ तारिखका लागि समुद्र भ्रमण गराउने कार्यक्रम निकै पहिलेनै निर्णय गरेको थियो । उक्त निर्णयलाई एकाएक रद्द गर्दै खेलाडीहरुलाई बार्बाक्यु गराउने निहुँमा एन आर एन फ्रान्सको खाताबाट रकम खर्च गरि निर्वाचनलाई प्रभावित गराउन यस्तो निर्णय गरेको हो ।

यस्तो अबैधानिक निर्णय किन गराउनु भयो भन्ने नेपालप्लसको प्रश्नमा एन आर एन फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले ‘समूहमा छलफल भएको तर निर्णय भैनसकेको’ जवाफ दिए । उनले यस्तो जवाफ दिएपनि एन आर एन फ्रान्सको कार्य समितिकै पदाधिकारीहरुले सामाजिक सन्जालमा राखेका भनाईले भने एकेन्द्र मल्लको भनाइलाई सत्य सावित गर्दैन । किनभने एन आर एन फ्रान्सका महासचिव नरेन्द्र शाहीले यो कार्यक्रम गर्ने पक्षमा रहेको खुलाईसकेका छन् ।

एन आर एन ए फ्रान्सको कार्य समिति १५ जनाको छ । यो निर्णयमा सात जनाको मात्रै सहमती रहेको भन्ने उल्लेख छ । आइसिस्सी सदस्य सुवर्ण बिक्रम हमालले फरक मत राखेका छन् । पूर्व अध्यक्ष भक्त वाग्लेको मान्यता हुने तर निर्णयमा फरक मत रहेको भन्दै बहालवाला आइसिसी सदस्यको भने अधिकार नहुने भन्ने  तर्कसमेत एन आर एन फ्रान्सले सार्वजनिक गरेको छ । बाँकी सदस्यहरुले कुनै जवाफ नदिएकोपनि उल्लेख छ । एन आर एन ए फ्रान्सका केहि सदस्यहरुले यो निर्णयमा बहुमतको सहमती नरहेको सार्वजनिक गरिरहेका छन् ।

त्यसो त, एन आर एन फ्रान्सको आगामी निर्वाचनकालागि निर्वाचन कमिटीका संयोजक किरण चन्द्र प्रधानसमक्ष उजुरीसमेत परेको छ । एन आर एन फ्रान्सको  खाताबाट रकम खर्च गरेर निर्वाचनको मुखमा निर्वाचन र मतदानलाई प्रभावित पार्ने कार्यक्रम गर्ने अधिकार एन आर एन फ्रान्सलाई नभएकाले यसलाई बदर गराउन माग गरिएको छ । माग गर्नेहरुमा मैया कटुवाल र अनुराधा पौडेल छन् । (निबेदन पुछारमा हेर्नुस्)

एन आर एन फ्रान्सका अध्यक्ष एकेन्द्र मल्लले निर्णय भैनसकेको नेपालप्लसलाई बताएपनि उनले फेरि प्रमुख निर्वाचन आयुक्त किरण प्रधानले यो कार्यक्रम रद्द गर्न सुझाव दिएको उल्लेख गरे । ‘निर्वाचन आयुक्त किरण दाईले फोन गरेर मलाई निर्वाचनको मुखमा यस्तो बिवादित कार्यक्रम नगर्न र अबिलम्ब रद्द गर्न सुझाव दिनुभएको छ । म कार्यसमितिको फेरि बैठक राखेर निर्णय गर्छु । सबैको सुझावमा गर्नुहुन्न भन्ने लाग्छ भने मलाईपनि गर्नैपर्छ भन्ने छैन ।’

एन आर एन ए को अन्तर्राष्ट्रिय बिधानमा निवर्तमान अध्यक्ष एन सि सिका हरेक बैठकमा पर्यबेक्षकका रुपमा उपस्थित हुन पाउने प्रावधन छ । मात्र पर्यवेक्षकका रुपमा । तर एन आर एन फ्रान्सको बिधानमा भने अहिलेसम्म यो अधिकारलाई सुरक्षित गरिएको छैन । एन आर एन आइसिसिका हरेक देशका आफ्नै देश अनुकूल बिधान छन् । मुख्यरुपमा आइसिसिको बिधाननै पालना गर्नुपर्ने हुन्छ । आइसिसिको बिधानले नपुग्दा वा कुनै समस्या पर्दामात्रै एन आर एन एको अन्तर्राष्ट्रिय बिधानलाई टेकिन्छ । यो प्रावधान हेर्दा भक्त वाग्ले एन आर एन फ्रान्सको हरेक बैठकमा उपस्थित हुन पाउँदैनन्, बिधान संशोधन गरेर त्यो प्रवाधान पारिद नगरेसम्म । तर आइ सिसिको बिधानलाई उल्लंघन गर्दै उनी हरेक बैठकमा उपस्थित हुन्छन् । बैठकमा आफ्नै निर्णय पारिद गराउँछन् । अध्यक्ष एकेन्द्र मल्लले कुनै बिमती राख्दैनन् । पर्यवेक्षकका रुपमा आइ सिसि सदस्य सुवर्ण बिक्रमपनि उपस्थित हुन पाउँछन् । भैरहेका छन् । बिधानत हमालको अधिकार सुरक्षित छ । बैठकमा हमालका कुरा नसुनिने तर अबैधानिकरुपमा उपस्थित हुने वाग्लेका निर्णय भने पारिद गरिने गरिएको छ । यसले गर्दापनि एन आर एन फ्रान्सभित्र बिबाद चुलिएको छ ।

त्यसो त, सोझा र सकेसम्म बिवाद झेल्न नखोज्ने एकेन्द्र मल्ललाई कतिसम्म प्रयोग गरिएको छ भन्ने अर्को उदाहरणपनि छ । नेपालप्लस प्रतिनिधीसितको कुराकानीमा निवर्तमान अध्यक्ष भक्त वाग्लेले फूटबल खेलाडीहरुलाई साथ लिएर कार्यक्रम यहि समितिले गरेकाले बिदाई, हौसला र सम्मानको कार्यक्रमपनि यहि समितिले गर्ने तर्क दिए । जबकि नेपालप्लससितको कुराकानीमा अध्यक्ष एकेन्द्र मल्लले भने अन्तिम निर्णय नभएको र समितिमा पुन छलफल गरेर निर्णय गरिने बताए । यहिँबाट बुझिन्छ कि एन आर एन फ्रान्सले गर्ने निर्णयमा अध्यक्ष मल्लको हात बढि रहने गरेको छ कि निवर्तमान अध्यक्ष वाग्लेको ।

वाग्लेले आगामी अध्यक्षका उमेदवार हरि सापकोटापनि आइतवारको कार्यक्रममा उपस्थित हुनाले खासै फरक नपर्नेखालको तर्क दिए । तर एन आर एन फ्रान्सको निर्वाचन भनेको खालि अध्यक्षकोलागि मात्रै होइन । बार्बाक्यु गर्ने पक्षले त्यस कार्यक्रममा उपस्थित मतदाताबिच (कार्यक्रममा सहभागिहरुबिच) आफ्नो पक्षमा मत राख्ने र प्रभावित बनाउने हुन्छ । अकस्मात यस्तो निर्णय ल्याएर कार्यक्रम गर्दा आगामी निर्वाचनका अन्य उपस्थित हुन नसक्ने उमेदवारकालागि घात हुन्छ कि हुन्न ? यस्तो विषयमा निर्वाचन आयोगलेपनि हेर्नुपर्छ कि पर्दैन ?

निर्वाचन समितीलाई निवेदन :

सँयोजक ज्यू एनआरएनए फ्रान्सको नया कार्यकालको चुनाबका लागि निर्वाचन समिति गठन भैसकेको अबस्था छ । चुनाब सम्पन्न हुन अब दुइ हप्ता र केहि दिन बाँकी छ । यो समय भनेको निर्वाचन तयारीको समय हो । निर्वाचन समिति बनिसकेपछि बर्तमान कार्य समितिको हैसियत काम चलाउमा सिमित हुन्छ । यसले निर्वाचन प्रयोजनकालागि बाहेक कोषमा रहेको पैसा चलाउने र कुनै पनि कार्यक्रम समितिका नाममा गर्ने हैसियत राख्दैन । तर गएराती एक बजे भोली एनआरएनए फ्रान्सका नाउँमा खेलाडीलाई स्वागत गर्ने र त्यहाँ बार्बक्यू पार्टी राख्ने निर्णय गरिएको छ ।

नितेशको राजीनामा पछि १४ जनाको कार्समिति रहेको एनआरएनए फ्रान्समा जम्मा ७ जनाले यो निर्णयलाई भाइबर मार्फत सदर गर्नुभएको छ र यसको लिखित माइन्युट कतै पनि छैन । कतिपय सदस्यहरुलाई फलानाले पनि समर्थन गरेकोले सात जना पुगेको भनिएको छ तर उहाँहरुको भनाइ कतै पनि आएको देखिन्न । हामीले छानविन गर्न सजिलो होस भनि प्रमाणका रुपमा तस्विरहरु पठाएका छौँ । बार्बक्यु पार्टीमा एनआरएनको सल्लाहाकार समितिका सबै सदस्यहरु, खेलाडीहरु, आमन्त्रित पाहुनाहरु, भविष्यका सँभावित उम्मेद्वारहरु र एनआरएनए फ्रान्सको कार्यसमितिका साथिहरु सहभागि हुँदैछन् । बार्वक्यू पार्टीमा लाग्ने सम्पूर्ण खर्च एनरआरएनए फ्रान्सको कोषबाट जाँदैछ । यो एक गलत अभ्यासको शुरुवात हो । यसले आगामी निर्वाचनलाई प्रभावमा पार्नेमा कुनै दुइमत छैन ।

त्यसैले यो काम अबिलम्ब रोकीयोस र सम्मानिय खेलाडीहरुलाई स्वागत तथा बधाइ ज्ञापन गर्ने काम काम आगामी नया कार्यसमितिलाई सुम्पियोस भनि एनआरएनए फ्रान्सको पन्जिकृत सदस्यका हैसियतले यो निवेदन पेश गरेका छौँ ।

निवेदिकाहरु

अनुराधा पौडेल

मैया कटुवाल

तपाइँको प्रतिक्रिया