मानव तस्कारलाई एनआरएन युकेको संरक्षण

बेलायतमा रहेका एक विवादित व्यक्तिलाई गैह्र आवासीय नेपाली संघ (एनआरएनए) युकेले संरक्षण गर्दै आएको आरोप लागेको छ।  एनआरएन युकेले ती नेपालीलाई गर्दै आएको रहस्यमय संरक्षणको बेलायतबासी नेपालीबीच चर्चाको विषय बनेको छ ।

ती व्यक्ति हुन्, विनय अधिकारी । वेलायतमा एक कन्सन्टेन्सीको नाममा विवादित काम गर्दै आएका उनी  एनआरएन युकेका उपमहासचिव समेत हुन् । हाल मिडिया समेत सञ्चालनमा ल्याएका उनको क्रियाकलापप्रति बन्देज लगाइनुपर्नेमा उल्दै एनआरएन युकेले संरक्षण गरेपछि चर्चाको विषय बनेको हो ।

एनआरएन यूकेलाई नजिकबाट निकालिरहेका एक पूर्व पदाधिकारीले अधिकारीलाई गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामी र महासचिव राजकुमार त्रिपाठीको टोलीले संरक्षण गरिरहेको बताए ।

सन् २००९ मा विद्यार्थी भिषामा वेलायत छिरेका अधिकारीले आफू पत्रकार भएको समेत दाबी गर्दै आएका छन् । केही अघि वेलायतबाट एक अनलाइन समाचार पोर्टल संचालन गरेर पैसा असुली गरेको आरोपसमेत लागेको छ ।
उनले नेपालस्थित एपी वान टेलिभिजनको अन्तर्राष्ट्रिय संयोजक भएको दाबी गर्दै बेलायस्थित नेपाली समुदायमा चन्दा आतंकपनि मच्चाएका थिए । सोबारेको गुनासोपछि स्वयम् अध्यक्ष फगामीको अध्यक्षतामा बसेको बैठकले चन्दा आतंक रोक्न र उनलाई आर्थिक सहयोग नगर्न वेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेपनि कुनै कारबाही गरेन ।
यसो त फागामी र त्रिपाठीको संरक्षणमा अधिकारीले एनआरएन युकेको लेटर प्याडको दुरुपयोग गर्दै नेपालबाट एक दर्जन पत्रकारलाई वेलायत झिकाएका थिए । संस्थाको लेटरप्याटको दुरुपयोग गरि भिषा लिने पत्रकारहरुमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, रमेश बिष्ट, टिकाराम यात्री लगायत थिए । उनीहरुको बेलायतको खानपान तथा खटन पटनकोे व्यवस्था समेत अधिकारीले मिलाएका थिए ।

गत अप्रिल २९ तारिख बिष्ट र सिग्देल सहित नेपाल यात्रामा जानेक्रममा अधिकारीलाई दुबई स्थित प्रहरीले पक्राउ गरेको थियो । यसअघि दुबईको आबुधाबीमा रहेका बेला अधिकारीले बैंक घोटाला गरेर भागेको बताइन्छ । सोही अभियोगमा पक्राउ परी करिब दुई हप्ता दुवईको जेल विताएका अधिकारीले वेलायत फर्के पछि गैरआवासीय नेपाली संघको केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए  ।

एक छोरी र श्रीमति सहित उनी वेलायतमा पूर्ण रुपमा काम गर्ने अधिकार नभएको भिषामा बस्दै आएका छन् । यो भिषा भएका ब्यक्तिले आर्थिक कारोबार हुने धन्दा कानुनत पनि पाउँदैन ।

कन्सल्टेन्सिको धन्दामा सकृय अधिकारीले नेपाल पत्रकार महासंघ युकेको गत वर्ष सम्पन्न चौथो अधिवेशनको लागि आफूलाई सदस्यता हुन पाउँ भन्दै निवेदन दिएका थिए । अधिकारीको धन्दासँग राम्रै जानकार रहेको नेपाल पत्रकार महासंघ युके शाखाले उनले सदस्यताको निवेदनलाई खारेज गरिदिएको थियो ।

यसैबीच उनले पत्रकार बन्ने अर्को उपाय झिके । पहिलो पटक गठन हुन लागेको नेपाल प्रेस युनियन वेलायत शाखाको अधिवेशनमा भाग लिन सदस्यताको लागि आवेदन दिए ।

सो अधिवेशनमा समेत सदस्यता खारेज हुने डरले उनले नेपाल प्रेस युनियनका महासचिव अजय बाबु सिवाकोटी र नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई वेलायत झिकाए । एनआरएन युकेको लेटरप्याडको दुरुपयोग गर्दै बेलायतको भिसा मिलाएर बेलायत आएका बिष्टले पत्रकार महासंघको साधारण सदस्य समेत नरहेका अधिकारीलाई अन्तर्राष्ट्यिय पत्रकार महासंघ(आइएफजे)को परिचयपत्र  थमाइदिए । त्यसपछि शुरु भयो अधिकारीको वेलायतमा पत्रकारको नाममा ठगी धन्दा ।

अधिकारीले गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्वर महिनामा हुने निर्वाचनको लागि उम्मेदवार बनेकाहरुसँग समेत रकम असुलेको बताइन्छ ।

कांग्रेसको समेत संरक्षण
गोर्खा जिल्लामा जन्मिएका अधिकारीले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य समेतको नाम भजाएर आफ्नो धन्दा व्याप्त गरेका छन् । उनले संघको आगामी निर्वाचनमा भट्ट, पन्त र आचार्य संयुक्त प्रस्तावमा सचिवमा उम्मेदवार हुन लागेको बताउँदै आएका छन् । यस्तै उनले वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति वेलायतको सकृय कार्यकर्ता भएको बताउँदै पार्टीको संरक्षणमा आफ्ना गतिविधी चलाउँदै आएका छन् । यस विषयमा उनको प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

यस अघिको रिपोर्टपनि हेर्नुस्

तपाइँको प्रतिक्रिया