“बा” की प्रेमिका

-महेन्द्र पौडेल
“ठ्याक्कै बाबु जस्तै रैछ” ।
मोटो बाक्लो सिसाको चश्मा लगाएकी  । दुब्ली, गोरी  । सेतै फुलेका, गुजल्टिएको केश । नसैनसा भएका पातला खिरिला र नरम हातले मेरो अनुहारलाई छामिन ।  अनि केशलाई स्पर्श गर्दै उनले भनिन  “ऊ त्यो फोटो जस्तै छ कि अहिले कस्तो भयो होला ? बुढ्यै भयो होला  । उमेरले ८६ पुग्ने बेला भो उसको”।

“ऊ त्यो” भनेपछि मैले आफना्े टाउको भित्तातिर घुमाएँ । सानोमा “जी” माने “जेन्टलमेन” भनेर पढेजस्तो बुबाको तस्बिर रहेछ टाइसुटमा ।
“बा” बितेको एकदशकभइसकेको थियो ।  उहाँ यस धर्तिमा हुनुहुन्न भनेर मैले कसरी भनुँ ? भन्न सकिन  । म एकोहोरो बाको बैंशबेलाको तस्बिर हेरिरहेँ ।
अनि आफूलाई दाँजे  । “हो रैछ”  । उहाँ म जस्तै तर “जेन्टलमेन” होइन । मेरो बुबा जेन्टलमेन हुनुहुन्थ्यो वा हुनुहुन्थेन थाहा छैन । मैले जान्दा उहाँ शक्तिशाली “बा” लाग्थ्यो । हिन्दी फिल्मको धमेन्द्रजस्तो । मैले बालाई धमेन्द्र जस्तो ठान्थे । अल्लि जान्ने भएपछि खेतवारीमा काम गर्ने हामीहरुलाई हुर्काउने, पाल्ने किसानी “बा” हुनुभयो । काम गर्दा फाटेका कछाड, कतै जाँदा ठाँटिएका दौरा सुरुवालमा । मेरो सपनाको धमेन्द्रजस्ता “बा” अर्कोतिर जिम्मेवारीले थिचिएर कच्याककुचुक्क भएको बुढौली अनुहार । त्यस्ता “बा” यस्ता । सपना जस्तो लाग्दथ्यो । 
……………………………………………………………………
तर यतिबेला  “बा”  बिगत देखेर मलाई टिठ लाग्यो । त्यो रवाफको जिन्दगी  । त्यो रसरंगको जिन्दगी  । ती प्यारा साथीभाईहरु  । सबैभन्दा मुख्यकुरा आफ्नो प्रेमीका सबै छाडेर  “बा”   पहाड पस्नु भएछ । हाम्रा लागि ।
कति बिषालु बनिदिन्छन् है कसैकसैको बिगत । यतिबेला  “बा” को प्रेमिकाको बिगत हेरेर मन चिराचिरा भयो ।
“आएन लिन । आउँछु भनेर गएको गएको गयै भयो” । उनले भनिन् ।
उनले मेरो निधारलाई हातले छामिन धेरैबेर  । र औंलाहरुहरुलाई एकएक गरेर खेलाइन ।
“बा”को जस्तै रहेछ निधार र खिरिला औंलाहरु । खालि बाको कुरा गर्दा मेरा आँखामा आँशु आउन थाले । आँखाहरु भरिए । रोक्न खोज्दाखोज्दै मेरा आँशु टप्प खसे उनका हातमा । उनले रोएको चाल पाइन । “किन रोइस तँ ?”
मैले भनेँ ‘हजुरलाई देखेर ।’ ढाँटिदिएँ ।
मेरा आँशुहरु पुछ्दै भनिन “बा” जस्तै कमलो मनको रहेछ ।
मनमनै भने ‘त्यसैले त पटक पटक प्रेममा परेँ र धोका खाइरहेको छु ।’
तर “बा”ले धोका पाए वा दिए थाहा भएन । पहाडमा हाम्री आमा हुँदाहुँदै “बा” प्रेममा परे । काम र प्रेम “बा”का प्रीय थिए ।
फेरि ।
उनले अँगालो मारेर भनिन “तेरो बाले छाडेर गयो यहाँ मलाई” ।
…………………………………………………………………..
बिगत केहीवर्षअघिदेखि बाको प्रेमिका छन् भारतको आसाममा भन्ने सुनेपछि भेट्न निक्लेँ । कावासोतीबाट नारायणगढ । नारायणगढबाट इटहरी ।
इटहरीबाट काँकडभिटृा ।
मन यसै उडिरह्यो । पुलकित पनि भैरह्यो । बाले आफ्नो उर्वर जीवन विताएको ठाउँ हेर्न । झोला, ज्याकेट, चश्मा, ल्यापटप र फोन लिएँ । केही कपडाहरु झोलामा कोँचे । आफ्नो मनमा दविएर रहेका इच्छाहरु थिएँ । बुझ्ने कोही थिएनन् । भन्नु आवश्यक कसैलाई ठानिन ।
हिँडिदिएँ । भिजिलान्ते जस्तै ।
“बा”की प्रेमिका भेट्न ।
नेपाल भारत बोर्डरमा एउटा सेल्फी लिएँ । फेसबुकमा अपलोड गरेँ, करिब बिहानको सातबजे । कतै मरिएछ वा बेपत्ता भइएछ भने यतै मरेछ क्यारे भन्ने ठानुन भनेर ।
काँकडभित्ताबोर्डरबाट सिलगुडीको लागि एउटा पजेरो फेला परयो । त्यसैमा सिलगुडीसम्म जान चढेँ । भाग्यवश गुहाटीसम्मको गाडी तयारी अवस्थामा रहेछ । हतार हतार टिकट लिएँ । चौडा सडक । चियाका बगानहरु । रफ्तारमा बस । झ्यालबाट चियाइरहेँ ।
भारतजानुअघि मोवाइलमा एउटा एप्लीकेशन डाउनलोड गरेको थिएँ, इण्डियन रेलवेजको । मलाई थाहा थियो, दिउँसोको तीनबजे कामाख्या स्टेशनबाट सिधै आसाम पुग्दछ रेल । मैले मेरा कलकत्ताका साथीहरु र गोरखपुरका नेपाली समुदायका साथीहरुसँग फेसबुकमा कुरा गरिसकेको थिएँ रेलका विषयमा ।
मलाई कामख्या मन्दिर कामख्यादेबीको दर्शन गर्न भित्रीदेखिको चाहना थियो ।
“जिन्दगीमा दुविधा भएछ भने कामख्या मन्दिर जानु र दर्शन गर्नु” बाले भन्नुभएको याद आयो। गएँ ।  बिहानैदेखि लाइन बसेँ ।
जीवनमा मन्दिर दर्शन गरेको यो पहिलो पटक हो । साढे ६ घण्टा लाइन बसेर ।
कामाख्यामाथि फेरि अर्को मन्दिर छ त्यो डाँडोमा पुगेर चारैतिर हेरेँ ब्रम्हपुत्र नदी । गुहाटी भ्याली । एउटा तस्बिर खिँचे ।
मन्दिर दर्शन सकेपछि बाटा हिड्दा “बा”ले माग्नेहरुलाई पैसा दिएको याद आइरह्यो ।
कामाख्या स्टेशनबाट सिधै आसामको टिकट लिएर नेपाली बस्तीहरु खोज्न थालेँ ।
नेपालीहरु दुधको कारोबार गर्दछन् थाहा थियो । मलाई दुधको कारोवार गर्नेहरुलाई सोध्नु थियो । एउटा चिया पसलमा बसिँरहेँ । दुध कसले ल्याइदेला । संयोगबश भेटिए एकजना दुधवाला । लामो गलफतहीपछि म उनको पछिलागेँ । बाकी प्रेमिका खोज्न ।
क्रमश …….

तपाइँको प्रतिक्रिया