सिंगै देश बसाई सारेर अन्तै लगिने
अलि ठुला पूल र उद्दोग कलकारखाना त परै जाओस, अस्पत्तालमा एउटा मेशिन किन्नु पर्यो भनेपनि हाम्रा नेता बिदेशीको मुख ताक्छन् । नयाँ नयाँ कल कारखाना बन्ने कहाँ को कहाँ झन भएका पनि कि त बिदेशीलाइ सुम्पिने कि घुँडा टेकाएर बन्द गराउने काम भैरहेको छ । तर ब्यक्तिगत सुखसुबिधा र सम्पत्ती कमाउन पर्यो भने हाम्रा नेता बाह्र हात माथि उफ्रेर निर्णय गर्छन् । यस्त गतिबिधी देखिरहेका हामीलाई हाम्रै एशियाली मुलुकको कुनै राष्ट्रपतीले सिंगै देश किन्ने योजना बनाईरहेको सुन्दा कस्तो लाग्ला ? त्योपनि आफु र आफ्ना परिवारकालागि हो र ? आफ्नो देशका लागि । आफ्नो देशका नागरिक बचाउनकालागि । हो, सुन्दै अचम्म लाग्ला, तर मालदिप्सका राष्ट्रपती मोहम्मद नसिद सिंगै राष्ट्र किन्ने योजनामा छन् । र उनले यो सार्वजनिकरुपमै घोषणा गरिसकेका छन् ।
विश्वभरि बढिरहेको तापक्रमको असरले गर्दा समुद्रको सतह बढ्न गइ समुद्री देशहरु डुब्ने खतरा रहेकाले उनले आफ्ना देशका नागरिकहरुलाई बचाउन सिंगै देश खरिद गरेर पुनर्वास गराउने योजना बनाएका हुन् । यो तथ्य उनले गत नोभेम्बर महिनामै विश्व तापमान ब्रिद्दीको असर बारीको फिल्म सार्वजनिक गर्ने क्रममा घोषणा गरेका रहेछन् । उनको त्यो मह्त्वाकांक्षी योजना अहिले विश्वभर चर्चाको विषय बनिरहेको छ । यो खबर गत मे महिनाको ९ र १० तारिखका दिन विश्व प्रसिद्द अखबार इन्टरनेशनल हेराल्ड ट्रिब्युनले प्राथमिकताकासाथ प्रकाशित गरेको छ ।
फिल्म सार्वजनिक गर्ने क्रममा नसिदले विश्व तापक्रम व्रिद्दीको भयबाट आफ्ना जनतालाई जोगाउन विश्वको अन्य कुनै ठाउँमा आफ्नो देश खडा गर्न जमिनको खोजि भैरहेको बताए । उनले समुद्री सतहबाट प्रभावित नहुने अग्लो ठाउँमा जमिन खोजि भैरहेको स्पष्ठ पारेका छन् ।
मालदिप्स ११९० वटा साना मसिना टापूहरु भएको देश हो । समुद्री सतहबाट यसको उचाई जम्मा एक दशमलव दुई मिटर मात्रै छ । बैज्ञानिकहरुले यो शताब्दीको आखिरिसम्ममा समुद्री सतह केहि मिटर माथि उठ्ने बताएका छन् । शताब्दीको अन्त्यसम्म उठ्ने भनिएको त्यहि समुद्री तहले मालदिप्सलाई चुर्लुम्मै डुबाउने विश्वास गरिएकाले मालदिप्सका राष्ट्रपतीले आफ्नो देशलाई अन्यत्रै सार्न खोजेका हुन् । गत नोभेम्बरमा राष्ट्रपती मोहम्मद नासिदले मालदिप्सका ३ लाख जनतालाई अन्यत्र सर्ने प्रस्ताब गरेका थिए । उनले संभावित मुलुक मध्ये श्रीलंका, भारत वा अष्ट्रेलिया भनेर नामै किटान गरे । उनी भर्खर ४१ वर्ष मात्रै पुगेका युवा छन् ।
सिंगै देश खरिद गर्न चान चुने खर्चले पुग्छ ? कहाँबाट ल्याउने त्यत्रो पैसा ? उनले अहिलेबाटै पर्यटन व्यवसायबाट हुने मुनाफालाई बचत गरेर किन्न सकिने स्पष्ठ पारे । “विश्व तापक्रम ब्रिद्दीको असरलाई हामीले मात्रै एक्लै केहि गर्न सक्दैनौं । त्यसैले हामीले अन्यत्रै जमिन किनेर आफ्नो देशलाई स्थानान्तरण गर्नुपर्छ” उनले भने । र उनले साझा समस्यालाई सामूहिक प्रयासबाटै पराजित गरिछाड्ने प्रतिबद्दतापनि जनाएका छन् । इन्टरनेशन हेराल्ड ट्रिब्युनको पूर्ण रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ।





