म्युजिक नेपालले ल्यायो मोबाइल एप ‘नेपाल अन डिमाण्ड’

 

नेपालप्लस संवाददाता / लण्डन 

बेलायत एवम् युरोपमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी काठमाडौंस्थित म्युजिक नेपाल प्रालिले नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप सार्वजनिक गरेको छ।

यी सेवाहरु प्राप्त गर्न ग्राहकहरुले www.nepalondemand.com गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एप डाउनलोड गर्नुपर्नेछ। त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु मोबाइल फोन, ट्याबलेट, ल्यापटप वा घरको टेलिभिजन सेटमा पनि हेर्न सकिने सो कंपनीले जनाएको छ ।

आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सो एप सार्वजनिक गरे। सभालाई संबोधन गर्दै राजदूत सुवेदीले इतिहास बनाउन सजीलो नहुने र म्युजिक नेपालले नेपालको कला तथा संगीत क्षेत्रको विकासमा एउटा इतिहास बनाएको बताए। वरिष्ठ गायिका मीरा राणाले नेपाली गीतसंगीतलाई संसार भरि चिनाउन र नेपाली कलाकारहरुलाई आर्थिक र व्यावसायिकरुपले सबल बनाउन म्युजिक नेपालले उल्लेख्य योगदान पुराएको बताइन्। त्यस्तै जीनर्जीका प्रमुख कार्यकारी सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले आफ्नो कंपनी म्युजिक नेपालसंग सहकार्य गर्न इच्छुक रहेको र यसबारेछिट्टै घोषणा गरिने जनाए।

मोबाइल एप मार्फत प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा नेपाल टेलिभिजनका तीनवटा च्यानलहरु, कान्तिपुर टिभी, हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन्। कान्तिपुर र एपिवान एचडी फर्म्याटमा हेर्न सकिनेछ। त्यसैगरी कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध हुने र हरेक साता एउटा चलचित्र थप गर्दै लगिने म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले बताए।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ। त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्ने पनि कंपनीले जनाएको छ।

नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ। हाल बेलायत र युरोपमा उपलब्ध यो सेवा छिट्टै संसारभरि उपलब्ध गराउने योजना रहेको म्युजिक नेपालले जनाएको छ।

म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने घोषणा पनि गरेको छ।

सन् १९८२ मा स्थापित म्युजिक नेपाल प्रालि नेपालकै पहिलो निजी संगीत कंपनी हो। नेपाली कलाकारहरुलाई उहाँहरुको सांगीतिक एल्बम बिक्रीवापत निश्चित प्रतिशत रकम रोयल्टीको रुपमा प्रदान गर्ने प्रचलन म्युजिक नेपालले नै शुरु गरेको हो। त्यस्तै प्रतिलिपि अधिकारसंबन्ध‌ि नेपालको पहिलो कानुन निर्माणमा पनि म्युजिक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

म्युजिक क्यासेट र सिडीहरु बिक्री हुन छाडेपछि म्युजिक नेपालले पनि डिजिटल यात्रा शुरु गर्यो। उसले आफुसंग रहेको सांगीतिक सामग्रीलाई मोबाइल तथा डिजिटल प्ल्याटफर्महरुमा रिङ व्याक टोनको रुपमा उपलब्ध गराउनुकासाथै म्युजिक भिडिओ, टेलिभिजन श्रृंखला र चलचित्रहरु पनि निर्माण गरेको छ। म्युजिक नेपालले नेपाल सरकारको मान्यताप्राप्त एकमात्र सांगीतिक विद्यालय नेपाल संगीत केन्द्र पनि स्थापना गरेको छ। नेपाली संगीत तथा कलाको प्रबर्द्धनकालागि गर्दे आएका कामहरुको सम्मान स्वरुप म्युजिक नेपाललाई गोल्डस्टार इन्टरन्याशनल अवार्ड लगायत कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेको छ।

(सबै फोटोहरु साभार: मिलन तमु/ गोर्खा मिडिया युके)

तपाइँको प्रतिक्रिया