विश्व शान्ति नगर लुम्बिनी कार्यक्रमको पारदर्शिता गुपचुप, अख्तियारमासमेत उजुरी

  • सन्तोष न्यौपाने / बेल्जियम 

बुद्दको नाममा लुम्बिनी कपिलवस्तु विश्व शान्ति अभियान भन्दै युरोपमा गरिएको कार्यक्रमकै हिसाबकिताब गुपचुप जस्तै छ । बेल्जियममा गरिएको यो कार्यक्रम तिन वर्ष हुँदापनि हिसाबकिताब सार्वजनिक नगरेपछि सहभागिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारको बिभिन्न निकायमा उजुरी हालेका छन् । 

विगत तिन वर्ष अगाडि लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमको ब्रसेल्समा “विश्व शान्ति नगर लुम्बिनी, नेपाल नामक अन्तर्राष्ट्रिय सम्मेलन “ सम्पन्न गरेको थियो । २७ नोभेम्बरमा आयोजना गरिएको उक्त सम्मेलनमा अपेक्षित सहभागिता हुन नसके पनि कार्यक्रम उपलब्धिमुलक भएको आयोजकले दाबी गरेको थियो ।

सम्मेलन ब्रुसेल्सस्थित बेलफोर्ड होटेल एण्ड कनग्रेस सेन्टर नामक तारे होटेलमा आयोजना गरिएको थियो । तर अभियानले त्यतिखेर कार्यक्रम गर्दा लागेको हिसाबकिताब अहिलेसम्म सार्वजनिक गरेको छैन । जसले गर्दा ठूलो रकम खर्च सहभागी भएकाहरूले असन्तुष्टि जनाएका छन् ।

अभियानले त्यतिखेर करिव ५० हजार युरो अर्थात् त्यतिखेरको विनियम दर अनुसार ५७ लाख रुपिया लाग्ने बताएको थियो । सो मध्य केहि रकम नेपाल सरकार अर्थ मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र केहि प्रायोजक तथा सहभागीहरुबाट जम्मा गरिएको आयोजकले जानकारी दिएका थिए | कार्यक्रममा सहभागी हुनेले १५० युरो देखि २५० युरो सम्म बुझाएका थिए । तर आयोजक बेल्जियम च्यापटरले अहिलेसम्म त्यसको पारदर्शिता सार्वजनिक गरेको छैन । जसले गर्दा कार्यक्रम माथि थप शंका पैदा गरेको छ ।

” म आफै २५० युरो तिरेर कार्यक्रममा सहभागी भएँ, तर अहिलेसम्म कुनै पारदर्शिता पाइएको छैन ।” कार्यक्रममा सहभागी एकले बताए “तिन वर्षसम्म हिसाबकिताब बाहिर नआउँदा अनियमितता भयो की भन्नेमा हामीलाइ शंका छ ।”

यस विषयमा बेल्जियम अध्यक्ष तथा युरोप संयोजक पदमा रहेका दामोदर आचार्यले लुम्बिनी विकास कोषको कारण ढिलाइ भएको आरोप लगायका छन् । ‘ लुम्बिनी विकासबाट आउनुपर्ने सहयोग रकम अहिलेसम्म नआएकोले ढिला भएको छ । सबै पारदर्शिताका साथ उपलव्ध गराउने कार्यका लागि म तैयार नै छु । म कोषसंग यस बारेमा परामर्श गरेर जबाफ दिनेछु ।”

आचार्यको यही कुरालाई लिएर लुम्बिनी विकास कोष लाई बुझ्दा कोषले त्यतिखेर ५ लाख उपलब्ध गराउने भनेर वचन दिएको रहेछ । तर नेपालबाट उक्त रकम बेल्जियम पठाउन नमिलेको कारण रोकिएको जनाएको छ । साथै कोषले अभियानको नेपालमा बैंक खाता भए उतै जम्मा गरिदिन सकिने तर कोषले गर्ने सहयोगलाई निहुँ बनाएर पारदर्शिता सार्वजनिक गर्न कन्जुसाई गर्न नहुने जनाएको छ ।

यसबाटपनि अभियानको सम्मेलन र तिन वर्षसम्मपनि हिसाबकिताब पारदर्शी ढंगले सहभागीहरुलाई नदिँदा पनि शंका गर्ने ठाउँ देखिएको छ । कतै चरम भ्रष्टाचार पो भयो कि ? त्यति ठूलो रकम खर्चेर गरिएको कार्यक्रमले के उपलब्धि दियो ? कतै व्यक्तिगत उपलब्धि पो गरायो की ? प्रश्न गर्ने थुप्रै ठाउँ देखिन्छन् ।

यसै विषयलाई लिएर सम्मेलनमा सहभागी मध्य केहीले छानविनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग,संस्कृति तथा पर्यटन मन्त्रालय, हेल्लो सरकार मार्फत् सतर्कता केन्द्र समक्ष निवेदन पेश गरेको बताएका छन् ।

स्मरण रहोस् त्यतिखेर कार्यक्रम सफल बनाउन अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा रहेको नौ सदस्यीय मूल आयोजक समितिलाई विस्तार गरी २३ सदस्यीय बनाइएको थियो ।

विस्तारित मूल आयोजक समितिमा सहप्राध्यापक डा बालगोपाल श्रेष्ठ नेदरल्यान्ड, हरिप्रसाद पौडेल नेदरल्यान्ड, हरिहर अर्याल फ्रान्स, हेमन्त उपाध्याय फ्रान्स, डा यज्ञ अधिकारी जर्मनी, डा महेश्वर रुपाखेती जर्मनी, ढकराम भण्डारी जर्मनी, विमलबाबु उपाध्याय लक्जेम्वर्ग, युवराज गुरुङ बेल्जियम, गङ्गाधर गौतम बेल्जियम, चित्र सुवेदी बेल्जियम, अर्जुन गुरुङ बेल्जियम, सन्तोष जोशी बेल्जियम र डा रवि पन्त बेलायत रहेका थिए ।

तपाइँको प्रतिक्रिया