एउटी आदर्श नारी (कथा)

-भागवत भण्डारी gazal-size

 सुब्बिनी बज्यैको मन आज निकै हर्षित छ। मनको हर्ष आँखा र अनुहारमा प्रस्टै देखीरहेकोछ। बिहानै मही लिन आउँदा डाँडा घरकी माइलीले नि “आज बज्यैको अनुहार निकै उज्यालो छ नि,

झन तरुनी पो हुन लाग्नु भएछ” भनेर जिस्काएकि थिइन। अँ अब उमेर पनि पुग्न लाग्यो, तरुनी  देखिने नै भए नि” बज्यैले हासेर जवाफ फर्काउँदै पानी नहालेको बाक्लो मही दिएर पठाएकी थिइन।

 

“आमा के टोलाइरहनु भएको ?” छोरीको आबाजले झस्किन्छिन उनी। उनले थालमा मुछ्दै गरेको भात सेलाउन पो लागेछ । खाँदा खाँदै गास हाल्नै बिर्सेंर उनी त कता हो कता हराउन पुगिछन । “दाई आउने भनेर एती धेरै खुशी भएकी यी आमा पनि। दाइको ठाउँमा म भएको भए यस्तै खुशी हुनुहुन्थ्यो होला आमा तपाईं ?”

 

छोरीको प्रश्नको गहिराइ सुब्बिनी बज्यैले अड्कल गर्नै सकिनन् । “के भन्छे यो ? तेरो दाई यत्रो समयपछि पढेर फर्कदैछ तँलाई खुशी लागेको छैन ?” प्रतिप्रश्न गर्छिन उनी छोरीलाई । “ल धेरै कुरा नगर, छिटो छिटो जुठो धन्दा गरेर पिठो कुट्नु पर्छ। तेरो दाइले सेलरोटी साह्रै मन पराउँछ ।” 

 

रमेश सुब्बिनी बज्यै को कान्छो छोरो । भन्नको मात्रा कान्छो हो । जेठो र माइलो सानैमा बिती सकेका हुनाले उ एक्लो छोरो बाँकी छ। रमेश ७ बर्षको मात्र पुगेको थियो २ बर्षकी काखकी छोरीलाई छाडेर सुब्बा साब कहिल्यै धर्तिमा नफर्किने गरी अर्कै लोकमा गएका थिए । त्यति बेलाको समय नि त्यस्तै थियो । अड्डाका सुब्बा हुन रे खेतबारी प्रसस्तै छ रे भनेर उनी १५ बर्षकी हुँदा आफु भन्दा २५ बर्ष जेठो मान्छेसँग उनको विवाह गरिदिएका बाबु आमाले । जेठी श्रीमती बितीसकेकी भएर नि होला सुब्बा साब उनलाई साह्रै माया गर्थे । बिधिको बिधान भनौ कि के भनौं ? एक दिन बेलुका खाना खाइवरी ओछ्यानमा पल्टेका सुब्बा साब फेरी कहिल्यै ब्युझिएनन

 

१८ बर्ष भैसकेछ बुढा बितेको पनि । ३० बर्षको मध्य जवानीमा बिधवा हुन पुगेकी सुब्बिनी बज्यै झन्नै ५० टेक्न लागिन । लोग्ने बितेपछि एक्लो हुन पुगेको उनको जीवनको आधार भनेकै त्यहि एउटा छोरो र छोरी मात्र हुन । छोरी मोरिको त के कुरा भयो र ? बिहे गरेर अर्काको घर गैहाल्छे अनी मनले आफ्नो सम्झने मात्रै हो । हुने खाने घरमा परि र राम्रो पोइ भेटी भने बुढी भएकी आमालाई भेट्न सम्म आउने मन पनि लाग्ला नलाग्ला । त्यसैले बुढीको मनको आशा भरोशा भनेको त्यहि एउटा छोरो बाँकी छ।

 

रमेश पढाईमा असाध्यै तेज छ । सानैमा बाबु बिते पनि उसलाई हुर्क्याउन आमाले केही कुरामा कमी हुन दिइनन। आफ्नो सम्पत्तिको रुपमा रहेको केही जग्गा बेचेरै भएपनि उसका ईच्छाहरु पुरा गरिरहिन पढाईरहिन । छोरीले त खासै पढ्न सकिन । बिचरी एक्ली बुढी आमाको हात बट्याउँदैमा कहाँ फुर्सद छ र उसलाई पनि  । त्यसमापनि दाजुलाई शहर राखेर पढाउन पाएकोमा उसले आफुले पढेको भन्दा नि धेरै सन्तोष गरेकी छ । यसपाली बल्ल बल्ल एस.एल.सी पास गरेर गाउँमै नयाँ खुलेको उच्च माबीमा ११ क्लासमा भर्ना भएकि छ । उता रमेश नेपाल कमर्स क्याम्पसको सबै भन्दा उत्कृष्ट विद्यार्थी । सधैं प्रथम हुन्छ

 

स्नातक दोश्रो बर्ष पढ्दा देखिनै रमेशको नजरमा एकजना नारी पात्रले बिशेष स्थान बनाउँदै गएको थियो । नारी हकहित र समानताका बिषयमा बेला बेलामा पत्रिकाहरुमा प्रकाशित हुने उक्त पात्रका रचनाहरुले रमेशको मनमा एउटा आदर्श नारीको स्थान ओगट्न सफल भएका थिए । एकदिन नारी दिवसको अबसरमा आयोजित कार्यक्रममा संयोगबस सोही पात्रको नाम उसको कानमा पर्‍यो । झन्नै २०-२२ कि लाग्ने गोरो सुन्दर अनुहारकी युबती मन्चबाट उठेर माइकमा पुगिन । अनि नारी अधिकार. समानता र हकहितका बारेमा धेरै मिठा मिठा कुराहरु गरिन । उनको भाषण सुनेर रमेश झन प्रभाबित भयो

 

निर्मला, हो उनको नाम निर्मला थियो । बेलुका कोठामा आइसकेपछि पनि धेरै बेर उसको कानमा निर्मलाको आवाज गुन्जीरह्यो। ति मध्ये उसलाई असाध्यै घत लागेको “हामी नारीहरु माथि पुरुषले गर्ने गरेका भेदभाब र अत्याचारहरु बिस्तारै कम हुँदै गैरहेको अनुभब हुँदैछ । तर यहाँ नारीको सबै भन्दा गम्भिर र चुनौतिपूर्ण पीडा भनेको एउटा नारीले अर्की नारी माथि गर्ने शोशण, अत्याचार र भेदभाब रहेकोछ । घरभित्र एउटी सासु, नन्द, आमाजुहरुले कमजोर बुहारी माथि गर्ने अत्याचार र भेदभाब, अनि एउटी पढेलेखेकी शिक्षित बुहारीले अनपढ निरिह बुढी सासु माथि गर्ने अपमान र भेदभाबहरु अझै पनि डरलाग्दो रुपमा ब्याप्त छ । हामीले यसको बिरुद्दमा कम्मर कसेर लागि पर्नु पर्ने बेला भएको छ।  

 

रमेशले पुराना पत्रिकाहरु पल्ट्यायो र खोज्यो निर्मलालाई त्यसभित्र । किन किन उसलाई नजानिँदो सम्मोहन नै भएको थियो । पत्रीकाहरूबाट कुनै प्रष्ट ठेगाना नभेटेपछि उसले निर्मलालाई खोज्न थाल्यो । बाटोमा हिँड्दा, गाडी चढ्दा, रेस्टुराँमा बसेर खाजा खाँदा जतिखेरपनि उसका आँखाहरु निर्मलालाई खोजीरहेका हुन्थे। खोज्दा खोज्दा झन्नै झन्नै निरास भईसकेको अवस्थामा एकदिन उसका नजर संयोगवस पुतलि सडकमा हिँडिरहेका युबतिहरुको हुलमा पर्‍यो । उसलाई एकछिन त सासै रोकिएला झैं भएको थियो त्यो हुलमा निर्मला लाई देखेर । अनी उसका पाइलाहरु तबसम्म उनिहरुको पछि लागिरह्यो जबसम्म त्यो हुल शंकरदेव क्याम्पसको ढोका भित्र छिरेन । रमेशलाई कता कता आफ्नो गन्तब्य भेटे जस्तो लाग्यो

 

अनी लगातार १ हप्ताको शंकर देवको चक्कर पछि उसले बल्ल बल्ल हिम्मत जुटाएर निर्मलाको सामना गर्न सकेको थियो । देख्नमा आकर्षक ब्यक्तित्वको धनी भएरै पनि सुरुमा त निर्मलाले उसलाई खासै घास हालेकी होइन। तर जब मिनभबन क्याम्पस पढ्ने आफ्ना चिनेका मान्छेहरु बाट रमेशको बारेमा बुझी अनी बल्ल त्यति योग्य केटो भेटेकोमा आफुलाई असाध्यै भाग्यमानी सम्झेकी थि । झन्नै ३ बर्षको आत्मियता पछि एकदिन रमेशले आफ्नो सम्पूर्ण पारिवारिक प्रिष्ठभूमी र बर्तमान समेत प्रस्ट उल्लेख गरी निर्मलासँग बिहेको प्रस्ताब राखेको थियो। निर्मला पनि त त्यसै दिनको प्रतिक्षामा बसेकी थि । उसले सहर्ष स्विकार गरिहाली

 

आज रमेश आफ्नी हृदयकी रानीलाई साथमा लिएर आफ्नो घर फर्कदैछ । आमाले के भन्नु होला ? एउटा छोरोको बिहे हेर्ने कत्रो सपना हुदो हो ? बिचरी बहिनीले के भन्ली ? नाता गोता, ईष्ट मित्रहरुका कस्ता प्रतिकृया हुने हुन ? आदि अनेक कुराहरु मनमा खेलिरहेका भएता पनि आफुले एक आदर्श नारी जीवन साथी भेटेकोमा ऊ मख्ख छ

 

सुब्बिनी बज्यै एकछिन त अलमल्ल परिन छोरोसँग एउटी तरुनी केटीसँगै आइरहेकि देखेर । जब रमेशसँगै आएर उसलेपनि उनको खुट्टामा ढोग गर्दा त उनको झन्नै होस् हवास् घुमेको । रमेशले उनलाई हजुर कि बुहारी भनेर त्यो यूवतीको परिचय दिएपछि उनको हर्षको सिमै रहेन । त्यति राम्री केटीलाई छोरोले हजुरकी बुहारी भनेर चीनाउँदा उनलाई कता कता सपना देखे जस्तै लाग्यो। “हेर निधारमा कति राम्रो कालो कोठी रहेछ मेरी बुहारीलाई कसैको नजर लाग्दैन सौभाग्यबती भए” बुढीले अन्तरहृदयबाट आसिर्बाद दिइन । रमेशकी बहिनी पनि सुन्दर अनी पढेलेखेकी भाउजु पाएर मख्खै परी । छिमेकी, ईष्टमित्रहरु भनेका त जे जस्तो अवस्थामा नि नकारात्मक कुरा खोतल्न बढी सिपालु हुन्छन भन्ने रमेशलाई थाहा छँदै थियो । त्यसैले आमा र बहिनीको प्रतिकृयापछि ऊ झनै खुशी भएको थियो

 

केही दिनहरु त रमाईलै बिते । नयाँ बुहारी । त्यत्रो पढेलेखेकी भनेर सासु नन्दले निर्मलालाई घरको सिन्को भाँच्न दिएका थिएनन । आफुले खाएको भाडा धुने र आफ्ना कपडा धुने बाहेक अरु केही गर्न पाउँदैनथी निर्मला । रमेश कता कता निर्मलाको व्यबहारमा परिवर्तन महसुस गर्दै थियो । उनी पहिले जस्ती हसिली  थिइनन् । बोलीमा पनि बिस्तारै बिस्तारै मिठास हराएको आभास भाईरहेको थियो । नयाँ बुहारी, नयाँ ठाउँ असजिलो मानेर होला भनेर रमेशले खासै महत्व दिएको थिएन ति कुराहरुलाई

 

अब काठमाडौं फर्कन ३ दिन बाँकी थियो । रमेशले कलेजमा करारमा आध्यापन गराउन पाउने भएको थियो भने निर्जलाको स्नातकोत्तर सक्नलाई केही प्रस्तुतीहरु सक्नुपर्ने थियो । रमेश निर्मलालाई आफ्नो परिवार, समाज कस्तो लाग्यो भनेर बुझ्ने प्रयास गर्ने बिचारले “अब फर्कने बेला हुन लाग्यो नि के सोच्दै छेउ मेरी प्राण” भनेर सोध्न मात्रै के भ्याएको थियो । निर्मलाको प्रतिकृयाले छाङाबाट खसे झैं भयो । “ बहिनीको बिहेको भाग र आमाको लागि अलीकती जग्गा छाडेर अरु सबै बेचेर हामी अब कहिल्यै यहाँ नफर्कने गरी जाउँ है ।” रमेशलाई विश्वाश गर्नै मुस्किल पर्‍यो कि यो त्यहि निर्मला बोलीरहेकी छ जसलाई उसले पहिले भेटेको थियो । रमेशको कानमा त्यो नारी दिवसको दिनमा निर्मलाले मन्चमा चर्को चर्को स्वरमा गरेको भाषण गुन्जिरह्यो अनी आँखामा निर्मलाले पत्र पत्रीकामा प्रकाशित गरेका लेखहरु नाचीरहे ।                                    

तपाइँको प्रतिक्रिया