बेलायतमा बसेर नेपाली ठग्नेलाई जेल

ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।

ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ) घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो । अदालतले उनलाई दस वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने फैसला पनि गरेको छ । गुरुङले बयान दिँदा आफू दोषी भएको स्वीकारेका थिए ।

ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस् भन्ने निकायको छानबिनपछि प्राप्त प्रमाणका आधारमा ह्यारो क्राउन कोर्टले गुरुङलाई जेल सजाय सुनाएको हो । स्थानीय हयारो टाइम्स समाचारपत्रका अनुसार गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न बाध्य बनाउने गरेको ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस् निकायले पत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसँग त्यसरी नै धोखाधडी गरेको हुनसक्ने पनि सो निकायले बताएको छ । गुरुङको कम्पनीसँग एटोल लाइसेन्स पनि थिएन ।
ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डसले गुरुङको कम्पनीविरुद्ध झण्डै ८० वटा उजुरी पाएको थियो । ह्यारो काउन्सिल लिडर काउन्सिलर ग्राहम हेन्सनले एक जना ठगलाई न्यायिक कठघरामा ल्याइएकामा खुसी व्यक्त गरेका छन् । काउन्सिलर हेन्सनले गुरुङजस्ता अपराधीले धेरैको आशा र सपनामाथि खेलवाड गरे पनि काउन्सिलले तिनको पहिचान गरी सजाय दिलाउन पाउँदा गर्व लागेको बताए ।

ब्रेन्ट एण्ड हयारो ट्रेडिङ स्टान्डर्डसका सिनियर रेगुलेटरी सर्भिस म्यानेजर साइमन लेगले सबै होलिडे मेकर्सहरुलाई टिकेट बुकिङ पूर्व ट्राभल एजेन्ट कस्तो हो राम्रोसँग बुझ्न आग्रह गरेका छन् ।

बेलायतमा नेपालीबाट नेपाली नै ठगिने घटना नौलो होइन । नेपाली ठगको पहिलो शिकार नेपाली नै हुने गर्छन् । जबसम्म यहाँका स्थानीय अंग्रेजहरू शिकार हुँदैनन् तबसम्म ती वरिष्ठ समाजसेवी बनेर खादा भिरिरहन्छन् । तर तिनको महत्त्वाकाङ्क्षाले जब सोझा नेपालीभन्दा बाहिर पुऱ्याउँछ, अनि ती पखेटा पलाएको कमिला बन्छन् ।

बेलायत निवासी पत्रकार नारायण गाउँले यो फेसबूक स्टाटसपनि हेर्नुस्

साउथ ह्यारो बस्ने र ट्राभल एजेन्सी चलाउने तेज बहादुर गुरुङ्गलाई बेलायतको एक स्थानीय अदालतले २५ महिनाको जेल सजाय सुनाएको छ । उनले मर्खोर् ट्रदेर्स् लिमितेद् (म्ट्ल्) नामको कम्पनी खोलेर ठगीको धन्दा चलाउँदै आएका रहेछन् । पैसा लिएर टिकट काट्ने अनि गुपचुप क्यान्सल गरेर पैसा आफैले राख्ने र ग्राहकलाई फेरि टिकट काट्न बाध्य पार्ने उनको मुख्य धन्दा रहेछ । सयौं ग्राहकबाट करोडौँ रुपियाँ ठगेका उनलाई ठगिएका नेपालीले खादा लगाउँदै आएको भए पनि गैरनेपालीले उजुरी दिएपछि बल्ल छानबिन भएको रहेछ ।

तपाईं पनि उसबाट या अन्य कसैबाट ठगिनुभएको छ भने कानुनी उपचार खोजिहाल्नुहोस् र अरूलाई ठगिनबाट बचाउनुहोस् ! धेरै ठग्न नपाउँदै ऊ पुलिसकहाँ पुग्यो भने बिचरा उसकै जेल सजाय पनि कम हुन्छ । दुबैलाई भलो हुन्छ । खादा त जेलबाट आएपछि लगाउँदै गरौँला ।

(मुख्य रिपोर्ट नेपाली जनताबाट)

तपाइँको प्रतिक्रिया