डोको बोक्नुस पुरष्कार जित्नुस
गत हप्ता पेरिसमा भएको नेपाली मेलामा एउटा आकर्षण थियो डोको बोक्ने । नेपालको संस्क्रिति झल्काउनलाई त्यहाँ डोको राखेका थिए नेपाल- फ्रान्स सांस्क्रितिक एसोसिसनका फ्रान्सेलीहरुले । डोकामा केहि ढुँगा थिए अनि मान्द्रो सान्द्रो यस्तै राखेर भरी देखाइएको थियो । डोको बोक्ने अनि त्यसमा कति तौल छ भनेर अनुमान लगाएर लेख्ने आफ्नो ठेगाना सहित । ठ्याक्कै मिलाउनेलाई पुरष्कारको ब्यवस्था थियो । कोहि ओहोहो कति गरुंगो भन्थे । कोहि आम्मामा यति गरुंगो बोक्छन् है नेपालीले भन्दै अचम्म मान्थे । डोको बोक्नेले त बोक्यो नै, हेर्ने को झन ठुलो घुइँचो । अरुले बोकेको देखेर हाँस्नेको अझ ठुलो भिड । यि हाँस्दै डोको बोक्नेलाई १० पटकजति सिकाएपछि बल्ल यिनले गज्जबले बोकेर मुर्छा परेर आफैं हाँस्दै थिईन ।
यि हुन् सोलेई भेर् भन्ने संस्थाकि एडविज मार्टिन । उनको संस्थाले नेपालको सौराहा नजिकका केहि अनाथ वालवालिकालाई पढाउने गर्छ । उनीपनि मेलामा भागलिन आएकि ४५० किलोमिटर टाढाबाट । यिनलाई मैले कर गरिगरि “ल हिँड डोको बोक्न जाउँ” भन्दै लगेको थिएँ । आठ दश पटक दुईतिर बाट डोको समाउँदै अड्याइदिएपछि यिनलेपनि जानिन् ।
सानोमा घाँस, दाउरा, मल अनि मकैका घोगा बोकेको ढाड । त्यहि टाउको पर्यो आफ्नोपनि । डोको देखेपछि त वाल्यकालदेखि डोको बोकेको संझना आउने रहेछ । अनि त बोकौं बोकौं लागिहाल्यो । मैले त डोको बोक्नै जानेको छैन झैं गरेर वरिपरिबाट अरु हाँस्दै थिए ।
यो चाहिँ सानो तिनो नाटकै हो है ! ए दाई गाउँ घरमा डोको नम्लो गरेको बिर्सिनुभो भन्दै मैले बोलाएर लगेको यि दुबैलाई । दाहिनेतिरका दाई घनश्याम पौडेल हुन् । पेरिसमा श्री गणेश रेस्टुरेन्ट छ यिनको । बेजोडले नाच्छन् । देब्रेतिरका लोक गायक राजेन्द्र लम्साल । यि दुई जनाले बुढेसकलमा झैं निहुरी पर्दै “जदौ” साटासाट गरेको निकै रोचक मानेका थिए फ्रान्सेलीलेपनि । नजिकै पहेंलो लुगा लगाएर उभिएकि नेपाली बोल्ने फ्रान्सेली महिला “तापाई हारुको कास्तु राम्रु । काति सुआएको” भनेर हाँस्दै थिईन ।
स्याङ्जाका डाँडापाखामा यि राजेन्द्र लम्सालले कति बोके होलान डोका । कति दौडे होलान गाई बाख्रा र भैसीका पछाडी । अहिले डोको बोकेको पारा हेर्नुस् त । टाउको छाताको डन्डी जस्तो बांगो पार्दै । कलाकार न परे, सायद अरुलाई हँसाउन पो हो कि !
दायाँबायाँका यि जनाको काम नै डोको समाउने, अँठ्याउने, नाम्लो मिलाइदिने दिनभरि जस्तो । ए, ए ए ए लौ है खस्ला । त्यसरि हैन, त्यसै हैन । टाउको अलि ठाडो पार्नु पर्यो । ओहो हो कहाँ त्यसरि बोकेर हुन्छ ? होइन होइन नेपालीले त यसरि पो बोक्छन् । यस्तै भन्दै सिकाउँथे । वरिपरिकाको काम मरिमरि हाँस्ने । यि डोको बोक्ने तन्नेरी चाहिँ खुब मिलाउन खोज्दै थिए ।
अरुले सिकाइदिएर, मिलाइदिएर, तालुमा नाम्लो र ढाडमा डोको अड्याइदिएर उठाइदिएपछिपनि डोको बोक्न सकें भनेर हेर्नुस् त यि लक्का जवानको फूर्ती । दुबै हातका औंला क्रस गरेर मैले जितें भन्दै देखाको ल हेर ।
सुट लगाएर डोको ? नवलपरासीका मास्टर साप हरि सापकोटाको पारा । गाउँमा दशौं वट डोको थाङ्ने पारे होलान यिनले दाउरा, घाँस र मल बोकेर । तर हेर्नुस् त यिनलाई अहिले फ्रान्सेलीले यसरि बोक्ने हो डोको भन्दै सिकाएका !!
सबैले बोकेको देखेपछि त यिनलाईपनि जङ चलेछ क्यार ! यिनिपनि हाँस्दै थिईन है डोको बोकेर ।
यि बुढाको कुरा सुन्दा त मुर्छै परिन्छ हाँसोले । बिशौं पटक सिकाउँदा नी सकेनन् यिनले । टाउको त घोसिएको घोसियै । ठाडो पार्नै नसक्ने । अनि लौन मरे, उफ् उफ् उफ्, आ, हु, क्या दुखेको रे । लौ न मेरो त घांटीनै चुंडिने भो कि के हो । हैन यस्तो गह्रुंगो बोकेर कति हिँड्छन् हँ नेपाली । यस्तो गह्रुंगो त बोक्दैनन् होला । मेरो त घाँटी भाँचियो कि हो । कस्तो तल तिर पो थिच्ने रैछ भनेर उफ् उफ् गर्दै थिए यिनी । उनकि पत्नी पख पख, मर्दैनस् एकछिनमा । नेपालीले त्यसको दोब्बर दिनभरि बोक्दा त मर्दैनन् । फोटो खिचुन्जेल त हो नि भन्दै थिईन । वरिपरिका मान्छे त हाँस्न पनि ढल्लान झैं गरेरै हाँसे । यिनको टाउको त बांगाको बांगै ।
वाल उत्सुकता न हो, यि वालवालिका चाहीँ डोको कसरि बोक्ने, कसले बनाउँछ, कति बोक्छन् यस्तै कुरा सोधेर हैरान पार्दै थिए ।
डोको त डोकै हो तर अलि भिन्न प्रसंगमा है ! पुजा गुरुङ र अनिता शाक्य एउटा नेपाली गितमा डोको बोकेर नाच्ने क्रममा।















