कविता- ‘यौटा बौलाहा क्रान्तिकारी !’
- प्रदीप अधिकारी (आक्रोश)
द्रव्यसँग बिकाउ जमातमा नैतिकता खोज्दै,
मानव नै बेच्नेहरूको भीडमा मानवता खोज्दै,
यसै-यसै भुतभुताउँदै
मुर्दामा आत्मा खोज्दै थियो खोतली-खोतली-
यौटा बौलाहा क्रान्तिकारी !
अँधेरी रातमा आशको किरण देखाउने
थचक्क थेचिएका मनलाई उठ्न घच्घच्याउने,
ती स्वनामधन्य क्रान्तिनायकले,
आज रातारात बाटो मोडे, हुँदा-खाँदाको नाता तोडे,
फगत् आफूलाई बाट्ठो प्रमाणित गर्न तिन्ले
ब्वाँसोसँग हाँसो गाँसे अनि
सर्पसँग चर्म साँटे
जिन्दगी नै डुंगाजस्तो बनाइसकेका तिन्ले,
चटक्कै बिर्सिए-
उनको सिंढीमा,
ज्यान बलिदानी दिई कुप्रुक्क परेर
फगत् खुड्किला बन्न बाध्य सपुतहरू
देशका खोला र कन्दरामा आलै रहेका-
ढलेका शरीर अनि बगेका रगतहरू
अझै,
मरेका आफन्तको परत्र सुधार्ने ढोंगमा
मृत शरीर पछि बुर्की छर्दै हिंड्ने सन्तान सरह
वादको रट र पदको मातमा धुत्त हुँदै
उनी बुट्टेदार शब्द बुर्क्याउँछन्
कैले घुच्चुकमा चढेर टाउकोमा बजार्ने भन्दै मन भड्काउँछन्
कैले निरन्तरतामा क्रमभंगता भन्दै आफ्ना बिच्काउँछन्
कैले मित्र शत्रु र वर्ग शत्रुको परिभाषामा पुराण भट्ट्याउँछन्
अनि निमेषभरमै मित्र र शत्रुकै भेउ नपाए झैँ जगत लर्बऱ्याउँछन्
यता भित्र लेनिन झैँ गर्जिन्छन् अनि
उता बाहिर ख्रुसचेव झैं लत्रिन्छन्
तरैपनि
त्यहि चिस्सिएको चितामा बलिदानी राप खोज्दैछ-
यौटा बौलाहा क्रान्तिकारी !
++++++++++++++++
तिनै,
खग्रास भै डढेका अनि बुङ्ग खरानी उडाइरहेका बस्तीले,
ढलेका प्रत्येक ओत अनि उनेका प्रत्येक चोटहरूले
बुर्कुसी मार्दैछन् मन र मथिङ्गलमा
लाग्छ-
उक्साएर थचारिएकाअँधेरा बस्तीमा,
तिनिक्क तानेर झ्वाट्ट छोडिएको आश-
मनले बिस्तारै तुहाउँदैछ ।
तबैपनि
परे बरू दुस्साहासी उग्रवादीको बिल्ला भिर्न तयार भै
निभेको दियो जलाउने रहरमा,
पिल्पिलिएको घाऊमा मल्हम लगाउने ध्येय लिई,
जुर्मुराउने मेलो खोज्दैछ !
यौटा बौलाहा क्रान्तिकारी !
+++++++++++++
तिमी त बाटो फेरेर समाजवाद हाँकेको मान्छे,
ढलभन्दा बढि ढल्किएर ,
चुलो पसी डाडु चाट्न पल्किई
जनवाद देखाउँदै धनवाद ताकेको मान्छे
सायद
तिम्रा मानसपटलबाट लगभग हराइसके-
ती जलजलामा जेलिएका माया अनि
सिस्नेमा सुस्ताएका छायाँहरू,
तर अझै सपना नदेख्न नसकी
मरेको मन ब्युँझाउने रहरमा,
आज फेरि बस्ती छिरेको छ-
यौटा बौलाहा क्रान्तिकारी !
+++++++++++++++
गुरू तिमी नै थियौ- हौ पनि,
जगाउँदाको आश अनि
भगाउँदाको घात ताजै रहेको मन बोकी
तिम्रै शिक्षणको भरपुर उपयोग गर्दै
तिम्रा रकमी समाजवादको महल पड्काउन
सुतली बम उन्दैछ-
यौटा बौलाहा क्रान्तिकारी !
++++++++++++
लाग्छ कुनैदिन
तिम्रा पहरेदार र नोकरका घेरा अनि
आवश्यक पर्ने सम्पूर्ण तार-बार तोडी
तिम्रो नाकै अगाडि तिम्रो भूत देखाउँदै
हातमा बमको रिमोट लिएर ठिङ्ग उभिनेछ-
यौटा बौलाहा क्रान्तिकारी !