फ्रान्समा एक हजारसित प्रतिस्पर्धा गर्दा नेपाली रेस्टुरेन्ट प्रथम

‘नेपाली खाना भनेको दाल भात मात्रै त हो नी’ भन्नेहरुलाई चितवन भण्डाराका रवीन शर्मा ओलीले गलत साबित गरिदिएका छन् । उनले नेपाली खाना राम्रोसित तयार गर्ने हो भने विश्वका अन्य चर्चित खाना भन्दा अझ अब्बल बन्न सक्छ भन्ने उदाहरण दिएका हुन् । रवीनले फ्रान्सको एसोन क्षेत्रमा पर्ने ईभ्रीमा खोलेको रेस्टुरेन्टले दोस्रो पटक पुरस्कार जितेको छ । त्यो क्षेत्रका करिब एक हजार अन्तर्राष्ट्रिय स्तरका खाना बनाउने रेस्टुरेन्टहरुसित खानामा प्रतिस्पर्धा गर्दा उनको समा द हिमालय रेस्टुरेन्टले पापिए दोर भन्ने पुरस्कार जितेको हो ।

एसोन क्षेत्रको उध्योग तथा वाणिज्य बिभागले आफ्नो क्षेत्रमा रहेका ईटालियन, कोरियन, चिनिया, जापानी, भियतनामी, ईन्डियन, पाकिस्तानी लगायत विश्वका अन्य खानाहरुको ब्यापार गर्ने रेस्टुरेन्टहरुबिच खानाको स्तर, खानाको स्वाद, ग्राहकलाई दिने आतिथ्य, स्वागत, सरसफाई आदि सारा पक्षको निगरानी गरेर तिनका बिचमा प्रतिस्पर्धा गराउँछ । यहि प्रतिस्पर्धामा रवीन शर्मा ओलीको रेस्टुरेन्ट प्रथम भएको हो ।

यो पुरस्कारको प्रतिपर्धामा भाग लिन विभिन्न चार चरण पार गर्नुपर्छ । पहिले त एसोन क्षेत्रका रेस्टुरेन्टले  प्रतिस्पर्धामा उत्रिन आफ्नो रेस्टुरेन्टको नाम लेखाउनु पर्छ । आयोजकका तर्फबाट गोप्य तरिकाले निगरानी गर्न आउँछन् । तिन पटकसम्म गोप्य तरिकाले भित्री वातावरण हेर्ने, ग्राहकसित गर्ने ब्यवहार बुझ्ने, खाना दिने तौरतरिका, प्रस्तुति कला, खानाको स्तर र सरसफाइ सबै बुझेर फर्कन्छन् । यस्ता तिन चरणमा उत्तिर्ण भएपछि बल्ल चौथो वा अन्तिम चरणको निगरानी हुन्छ । अन्तिममा एक सर्वसाधारण,  मेयर कार्यालयका एक कर्मचारी, एक जना खानाका विशेषज्ञ र पाक शिक्षाका अब्बल पत्रकार ग्राहकका रुपमा आएर खाना चाख्छन् । यि सबै चरणको निगरानीबाट अब्बल भएमा मात्रै रेस्टुरेन्ट छनौटमा पर्छ । यि सबै चरण पार गर्दै समा द हिमालय करिब एक हजार अन्य रेस्टुरेन्टसितको प्रतिस्पर्धामा उत्क्रिष्ठ भएको हो ।

यो पुरस्कार कसले जित्यो घोषणा हुने दिनमा मात्रै जानकारि दिने गरिन्छ । त्यसैले सयौं रेस्टुरेन्टका सञ्चालकहरु घोषणा सुन्न जाने गर्छन् । यो घोषणाको मुख्य भूमिका फ्रान्समा परिकार पत्रकारितामा प्रसिद्द लोरँ मारिओतले गरेका थिए । घोषणा कार्यक्रममा करिब दुई हजार पाँच सयको उपस्थिति रहेको रवीन शर्मा ओलीले बताए ।

यो रेस्टुरेन्टलाई यसरि उत्क्रिष्ठ बनाउनुमा उनको एक्लो प्रयासले मात्रै संभव भएको होइन । समा द हिमालयका प्रमुख कुक लोकेन्द्र प्रकाश, युवराजपनि हुन् जसले निरन्तर खटेर खानाको स्तर राखे, अब्बल स्वादको खाना बनाए । ग्राहकहरुलाई नेपाली आतिथ्य दिने र अतिथि सत्कार तथा अन्य सेवा दिएर इस्लाम, भरत र जेफ्रले सर्बोत्क्रिष्ठ बनाउन भूमिका खेले ।

यसरि पुरस्कार जित्ने रेस्टुरेन्टको फ्रान्सका पत्रपत्रीकामा प्रचार प्रसार हुन्छ । मेयर कार्यालयले सिफारिस गर्छ । ग्राहकहरुले बढि विश्वास गर्छन् । यस्तो रेस्टुरेन्टमा खाना खान ग्राहकहरु सिफारिसमा पर्छन् ।  उत्क्रिष्ठ ठहरिएको रेस्टुरेन्टमा खाना खाँदा स्तरिय, सफा र उच्च गुणाको खान्की पाइन्छ भन्ने विश्वाश हुन्छ ।

पुरस्कार जितेकोमा प्रफुल्ल बनेक उनले भने “यो पुरस्कार मैले मात्रै जितेको होइन । यो सारा नेपालीको लागि गौरवको कुरो हो । नेपाली खानापनि विश्वमा कम छैन भन्ने प्रमाण हो यो ।’

तपाइँको प्रतिक्रिया