एनआरएनए यूकेका पूर्व अध्यक्ष क्षेत्रीको लाञ्छनाविरुद्ध उत्रिए बेलायतका पत्रकारहरु

लन्डन । एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य योगेन्द्रबहादुर क्षेत्रीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुमाथि सामाजिक सञ्जालमा असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको छ ।

शाखा अध्यक्ष नरेश खपांगीमगरले बुधबार सांझ एक विज्ञप्ति प्रकाशित गरि कुनै पनि समाचारमा चित्त नबुझे सम्वन्धित प्रकाशन गृहसित आफ्ना कुरा राख्ने तरिका र प्रक्रिया हुने र त्यस्तो प्रयासबाट चित्त नबुझे अपनाउने अरु उपाय हुंदा हुंदै समाजका जिम्मेवार व्यक्तिले सिंगो पत्रकारिता पेशा र समस्त पत्रकारहरुप्रति नै निकृष्ट शब्दमा टिकाटिप्पणी गर्नु र परिवारसमेतलाई धम्क्याउनु निन्दनीय कार्य भनेका छन् । विज्ञप्तिमा क्षेत्रीको उक्त कार्यको भत्र्सना समेत गरिएको छ ।

(पत्रकारलाई गाली गर्न योगेन क्षेत्रीले प्रयोग गरेको भाषा)

‘पत्रकारिता पेशालाई व्यवसायिक र मर्यादित बनाउन महासंघ दृढ छ र यूकेस्थित नेपाली समाजका सबै तप्काबाट यस उद्देश्यलाई सघाउ पुग्ने व्यवहारको अपेक्षा राख्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै एनआरएनए यूकेको निर्वाचन सन्निकटमा आइरहेको सन्दर्भमा सबै सहकर्मी पत्रकारहरुलाई पेशागत धर्म नबिर्सी कार्यसम्पादन गर्न पनि महासंघ आग्रह गर्दछ ।’

क्षेत्रीले हालै वीनेपालीडटकममा प्रकाशित एनआरएनए यूकेको समाचारलाई लिएर उक्त वेवसाइटमा आवद्ध र अन्य समस्त पत्रकारहरुको मानमर्दन हुने आक्षेप लगाएका थिए ।

क्षेत्रीले सामाजिक सञ्जालमा रक्सी बियर र घुसमा बिक्ने भाते पत्रकारहरु भन्दै उनीहरुलाई भाते अवार्ड दिइनुपर्ने जस्ता निकृष्ट, अमर्यादित, अशोभनीय र असभ्य भाषा प्रयोग गरेका थिए । क्षेत्रीको उक्त रवैयाप्रति बेलायतको नेपाली समुदाय आश्चर्यचकित छ ।

९ सेप्टेम्बरमा हुने एनआरएनए यूके निर्वाचनका क्रममा अध्यक्षका प्रत्यासी योगकुमार फगामीलाई बोकेर हिंडेका क्षेत्रीले यसअघि पनि पत्रकारहरुमाथि आधारहीन लाञ्चना र टिकाटिप्पणी गर्दै आएका थिए । क्षेत्रीकै कारण फगामीले निर्वाचन हार्ने धेरैको अनुमान छ ।

तपाइँको प्रतिक्रिया